६ वैशाख २०८१ बिहीबार
राजनीति

सबै कम्युनिस्टलाई एकताबद्ध बनाउँछु : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी क्रान्तिकारीसहित सबै कम्युनिस्टलाई एकताबद्ध बनाउने दृढता व्यक्त गरेका छन् । 

निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेका तत्वका विरुद्ध परिवर्तनकारीलाई एकताबद्ध हुन आग्रह

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्र र वाम नेता टङ्क राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सबै क्रान्तिकारी कम्युनिस्टहरुलाई एकतामा ल्याउन आफ्नो सकारात्म्क पहल जारी रहेको बताए । 

मानव मुक्ति र स्वतन्त्रता प्राप्तिका लागि कम्युनिस्ट दर्शन विश्वमै सबैभन्दा वैज्ञानिक र पछिल्लो विकसित दर्शन भएको चर्चा गर्दै उनले सबै कम्युनिस्ट क्रान्तिकारी मिलेर क्रान्तिलाई पूर्णता दिनुपर्ने आवश्यकतामाथि जोड दिए । 

प्रधानमन्त्रीले संविधानको घोषणापछि मुलुकमा पहिलो पटक स्थानीय तहको निर्वाचन हुन लागेको र यो निर्वाचनले परिवर्तनपछि ऐतिहासिकरुपमै सिंहदरबारको अधिकार गाउँमै पुर्याउने बताए । निर्वाचन हुन नदिने, बिथोल्ने वा असफल पार्न षडयन्त्र गरिरहेका तत्वका विरुद्ध परिवर्तनकारीलाई एकताबद्ध हुन आग्रह गर्दै उनले आगामी वैशाख ३१ गतेको निर्वाचनलाई उत्साहका रुपमा सफल पार्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिए । 

उनले माओवादी क्रान्तिकारी खासगरी कम्युनिस्ट क्रान्तिकारीलाई विभिन्न ठाउँमा भौँतारिन छाडेर एकीकृत पार्टी निर्माणमा सहभागी बन्न आग्रह गर्दै पार्टी एकता प्रक्रिया जारी रहने बताए । 

राईको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीका नेता अम्बेर राई, रामहरि कार्की, परशु कार्की, वाङ्छु लामा, राजकुमार खत्री, पवित्रा जेम्जोङ, यमु गैरे, रामकुमार चौधरी, धनकाजी राईसहितका केन्द्रीय नेताहरु तथा विभिन्न जन वर्गीय सङ्गठन तथा जिल्ला समिति माओवादी केन्द्रसँग एकीकृत भएका छन् ।

एकतापछि नेता राईले अवसरवादलाई परास्त गर्दै क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन आफू एकता प्रक्रियामा समाहित भएको बताए । राईलाई नेकपा माओवादी केन्द्रमा समाहित गर्न नेता अमिक शेरचनको नेतृत्वमा गोपाल किराती, अग्नि सापकोटा, पूर्णाकुमारी सुवेदीलगायत वार्ता समिति गठन गरिएको थियो । 

राईलाई पार्टी हेडक्वार्टर सदस्यको जिम्मेवारी दिइनेछ भने नेताहरु रामहरि कार्की र अम्बेर राईले पोलिटब्यूरो सदस्यको जिम्मेवारी पाउनेछन् । विगत चार दशकभन्दा बढी समयदेखि नेपाल कम्युनिस्ट आन्दोलनमा सक्रिय राई खोटाङबाट ०४८ र ०५१ सालमा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएका थिए । 

राईसँगको एकताले पूर्वी नेपालका खोटाङ, ओखलढुङ्गा र भोजपुरमा माओवादी केन्द्रको स्थिति मजबुद बनेको नेता शेरचनले जानकारी दिए । रासस 

प्रकाशित: ३१ चैत्र २०७३ ०९:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App