खोटाङ– ओखलढुंगामा जारी सर्वाधिक राशीको व्याकुल माइला गोल्ड कपको पहिलो उपाधिका लागि आयोजक नयाँ नेपाल सरोकार समाज थाक्ले–८ हिलेपानी ‘ए’ र मानेभञ्ज्याङ युवा क्लव ओखलढुंगा फाइनलमा पुगेको छ ।
बुधबार र बिहीबार भएको सेमीफाइनल खेलमा वेस्ट अफ काठमाडौंलाई हराउँदै मानेभञ्ज्याङ युवा क्लव तथा नयाँ नेपाल सरोकार समाज थाक्ले–८ हिलेपानी ‘बी’लाई हराउँदै नयाँ नेपाल सरोकार समाज थाक्ले–८ हिलेपानी ‘ए’ले फाइनल यात्रा तय गरेको हो । व्याकुल माइला गोल्ड कपको पहिलो र दोश्रो उपाधिकालागि शुक्रबार नयाँ नेपाल सरोकार समाज थाक्ले–८ हिलेपानी ‘ए’ र मानेभञ्ज्याङ युवा क्लवबीच प्रतिष्पर्धा हुने छ ।
राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको सम्मानमा सञ्चालन हुँदै आएको गोल्ड कपको छैठौं संस्करण अन्तरगत बिहीबार बिहान भएको सेमीफाइनल खेलमा वेस्ट अफलाई पेनाल्टी सुटआउटमा ६ का विरुद्ध ७ गोल गर्दै मानेभञ्ज्याङ युवा क्लवले पहिलो उपाधिकालागि दाबेदारी प्रस्तुत गरेको हो । निर्धारित समयमा बराबरी २–२ गोल भएपछि उनीहरुको खेल पेनाल्टी सुटआउटमा पुगेको आयोजक नयाँ नेपाल सरोकार समाजका अध्यक्ष रक्षमान राईले बताए ।
यस्तै, बुधबार भएको सेमीफाईनल खेलमा आयोजक नयाँ नेपाल सरोकार समाज थाक्ले ‘बी’लाई ० का विरुद्ध २ गोल गर्दै नयाँ नेपाल सरोकार समाज थाक्ले ‘ए’ले फाइनल यात्रा तय गरेको हो । प्रतियोगीताको तेश्रो स्थानका लागि वेस्ट आफ काठमाडौं र नयाँ नेपाल सरोकार समाज हिलेपानी ‘बी’बीच प्रतिष्पर्धा हुने भए पनि वेस्ट अफ काठमाडौं प्रतिस्पर्धाबाट बाहिरिसकेको आयोजकले जनाएको छ ।
व्याकुल माईलाको जन्मथलो ओखलढुंगाको थाक्ले–८ सोक्माटारस्थित दुधकोसी किनारमा गत शुक्रबारदेखि जारी व्याकुल माइला गोल्ड कपमा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद १ लाख, दोश्रो हुने टिमले ५० हजार र तेश्रो हुने टिमले नगद २५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताका बिजेता टिमलाई चाँदीका १०३ तोला, ८० तोला र ७० तोलाको शिल्ड प्रदान गरिने छ । यस्तै, बेस्ट प्लेयर, हाइ स्कोरर र बेस्ट किपरलाई पनि जनही ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
व्याकुल माइला जन्मिएको ठाउँलाई चिनाउँदै विकास गर्नका लागि नयाँ नेपाल सरोकार समाज हिलेपानीले हिलेपानी फुटबल क्लव र दुधकौशिका प्रावि सोक्माटारको सहयोगमा प्रतियोगिता आयोजना गरेको हो । ‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगीतामा ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, कटारी, सिन्धुली, रामेछाप, कामाडौं लगायतका १८ टिमले प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको सम्मानमा उनकै जन्मथलोमा २०६८ सालदेखि हरेक वर्ष व्याकुल माईला गोल्ड कप सञ्चालन हुँदै आएको छ।
यसअघिका वर्ष आयोजकले नै प्रथम, दोश्रो र तेश्रो हुने टिमलाई नगद पुस्कार स्वरुप क्रमशः ५०, ३०, २० प्रदान गर्दैआएकामा यस वर्ष राष्ट्रपति विद्या भण्डारीसँगको समन्वयमा मदन भण्डारी फाउण्डेसनमार्फत नगद पुरस्कार प्रायोजन भएको अध्यक्ष राईले बताए । मदन भण्डारी फाउण्डेसनको सहयोग प्राप्त भएपछि यसपल्ट व्याकुल माइला गोल्ड कपको पुरस्कारको राशी बढाइएको हो ।
प्रकाशित: ३१ चैत्र २०७३ ०९:२५ बिहीबार