७ वैशाख २०८१ शुक्रबार
राजनीति

निर्वाचनको पर्खाइमा धादिङवासी

धादिङ – गाउँ, टोल, बस्ती र बजारमा अहिले स्थानीयवासीको दिन स्थानीय तहको निर्वाचनको चर्चा परिचर्चामा नै बित्ने गरेको छ । 

निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले पनि आफ्नो कार्यक्रमलाई गाउँ बस्तीमा लैजान थालेकाले स्थानीय बासिन्दामा उम्मेदवारबारे चर्चा चलेको हो । धादिङ जिल्लामा रहेको दुई नगरपालिकासहित १३ गाउँपालिकामा हुने निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रकाबीच चुनावी प्रतिस्पर्धा हुने धेरैको अनुमान छ । 

राप्रपा, नयाँ शक्तिलगायतका दलको भूमिका कतिपय गाउँ तथा वडामा निर्णायक हुनसक्ने बताइएको छ । लामो समयपछि हुनलागेको स्थानीय तहको निर्वाचनमा आफ्नो पकड राख्नका लागि राजनीतिक दलहरुले नयाँ÷नयाँ योजना र कार्यक्रम लिएर घरदैलो कार्य अगाडि बढाएका छन् । 

राजनीतिक दल यतिखेर चुनावी प्रचार र उम्मेदवार छनोट कार्यलाई सँगसँगै लैजाने योजनामा छन् । नेपाली काँग्रेसका जिल्ला सभापति रमेश धमला वैशाख ७ गतेभित्र उम्मेदवार छनोट गरिसक्ने बताउँँछन्। नेकपा एमाले र एकीकृत माओवादी केन्द्रले पनि उम्मेदवारको आकांक्षीको नाम माग गरिएको र छिट्टै छनोट गर्ने गरी कार्य तालिका बनाएको जनाएको छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनका लागि सबै मतदानस्थलको पुनरावलोकन गरी उपयुक्त स्थानमा मतदान केन्द्र निर्धारण गरेर निर्वाचन आयोगमा पठाइसकिएको छ । कार्यालयले जिल्लामा निर्वाचनका लागि गर्नुपर्ने अन्य कामसँगै मतदाता शिक्षा कार्यक्रमलाई पनि अगाडि बढाएको छ । यसका लागि स्वयम्सेवकलाई मतदाता शिक्षाको प्रशिक्षण समेत सुरु गरेको छ । 

नयाँ स्थानीय संरचनाअनुसार स्थानीय तहमा कति जनप्रतिनिधि हुन्छन्, मतदान गर्दा बदर नहुने गरी कसरी मतदान गर्नेजस्ता सिकाइ प्रशिक्षण पश्चात उनीलाई मतदाताको घर–घरमा पठाइने कार्यालय प्रमुख ईश्वर सिङ्खडाले जानकारी दिएका छन् । 

जिल्लाभर एक सय ९ मतदानस्थलका साथै दुई सय ६५ मतदान केन्द्र रहने पनि कार्यालयले जनाएको छ । रासस 

प्रकाशित: ३१ चैत्र २०७३ ०७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App