coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

अड्कल र अनुमानका भरमा लगानी नगर :  बोर्ड

काठमाडौं- नेपाल धितोपत्र बोर्डले अड्कल र अनुमानका भरमा लगानी नगर्न अनुरोध गरेको छ। बोर्डले बुधबार विज्ञप्ति जारी गर्दै सत्यतथ्य बुझेर मात्रै धितोपत्रमा लगानी गर्न लगानीकर्तालाई अनुरोध गरेको छ।

'हालै विभिन्न सञ्चार माध्यम, अनलाइन पोर्टल तथा फेसबुक र टि्वटरजस्ता सामाजिक सञ्जालमा धितोपत्र बजारको परिसूचक तथा सूचिकृत कम्पनीको सेयर मूल्यका सम्बन्धमा अनधिकृत रुपमा विभिन्न खालका अड्कल तथा अनुमान गरी समाचार तथा विचार प्रकाशित हुने गरेको देखिन्छ,' धितोपत्र बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, 'कतिपय लगानीकर्ताहरुले यस्ता समाचार तथा विचारका आधारमा लगानी गर्ने गरेको सुनिएको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ।'

धितोपत्रको मूल्य सम्बन्धित कम्पनीको कार्य सम्पादन स्थिति, संवेदनशील सूचनाहरु जस्तै लाभांश घोषणा, हकप्रद सेयरको घोषणा, व्यवस्थापनमा परिवर्तन र भावी योजनाका साथै देशको समग्र आर्थिक अवस्था तथा लगानीकर्ताको बजारप्रतिको विश्वास आदिले समेत प्रभाव पार्ने हुँदा विचार पुर्‍याएर लगानी गर्न बोर्डले अनुरोध गरेको छ। 'हाल देशको आर्थिक परिसूचकहरु तथा अधिकांश सूचिकृत कम्पनीको अवस्था सन्तोषजनक देखिन्छ,' बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'तथापी विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा गरिएका अड्कल तथा अनुमान अनुरुप सेयर मूल्य तथा नेप्से परिसूचकको अवस्था नरहन सक्दछ।'

विज्ञप्तिमा भनिएको छ, 'बजारमा चलेको–चलाइएको हल्ला र आधारहीन अनुमानको पछाडि नलागेर धितोपत्र बजारमा लगानी गर्दा देशका विद्यमान आर्थिक परिदृष्य, सूचिकृत संगठित संस्थाहरुको आधारभूत विश्लेषण लगायत लगानीकर्ता स्वयंको जोखिम बहन गर्न सक्ने क्षमता आदिलाई दृष्टिगत गरी सत्यतथ्य बुझी धितोपत्रमा लगानी गर्न लगानीकर्ताहरुलाई बोर्ड अनुरोध गर्दछ।'

प्रकाशित: ३१ चैत्र २०७३ ०३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App