७ वैशाख २०८१ शुक्रबार
खेल

पहिलो सतक सामसनको नाममा

पुने- इन्डियन प्रियिमर लिग (आइपिएल)को जारी संस्करणमा पहिलो शतक पूरा गरेका दिल्ली डेयरडेभिल्सका सन्जु सामसनले टोलीको जितमा योगदान गर्न पाउँदा खुशी लागेको बताएका छन्।

महाराष्ट्र क्रिकेट संघको रंगशालामा दिल्लीले राइजिङ पुने सुपरजायन्टलाई ९७ रनको नतिजामा हराउँदै प्रतियोगितामा पहिलो जित हात पारेको थियो।

'यसरी खेल्न सक्दा धेरै खुशी लागेको छ। टोलीले जितले थप खुशी बनाएको छ,' ६३ बलमा १ सय ३ रन बनाएका सामसनले भने, 'यस्तो टोलीको सदस्य बन्न पाएकोमा धन्य छु। राम्रो इनिङ खेल्दै टोलीको जितमा योगदान गर्न सकेँ। यसबाट मैले धेरै सिकेको छु, आशा गरौं आगामी खेलमा अझ राम्रो गर्नेछु। क्रिस मोरिस र रिशभ पन्तले राम्रो ब्याटिङ गरे। हामीले आज राम्रो क्रिकेट खेल्यौं।'

सामसनले ६३ बलमा ८ चौका र ५ छक्का हानेपछि टस हारेर ब्याटिङलाई निम्त्याइएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ५ रनको योगफल खडा गरेको थियो। तिब्र गतिका भेट्रान बलर जाहिर खान र अमित मिश्राले समान ३/३ विकेट लिएपछि २ सय ६ रनको लक्ष्य पछ्याएको पुनेले १६.१ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रनमात्र जोड्न सक्यो।

जाहिर खानले पहिलो दुई खेलमा रोयल च्यालेन्जर्स बेङलोरसँग पराजित भए पनि यस जितले टोलीको मनोबल बढेको बताए। 'जितले वातावरण फेरिएको छ। यसले आत्मविश्वास बढाएको छ, यस अर्थमा यो जित निकै महŒवपूर्ण रह्यो। हामीलाई यस्तै जितको खाँचो थियो,' २० रन दिएर ३ विकेट लिएका जाहिरले भने।

ओपनर आदित्य तारेलाई शुन्य रनमा गुमाएको दिल्लीको इनिङ साम विलिङ्स र सामसनले उकासेका थिए। २४ रन बनाएका विलिङ्स इमरान ताहिरको बलमा बोल्ड भएका थिए। दिल्लीका रिशभले ३१ रन बनाउँदा मोरिसले आक्रामक ब्याटिङसाथ ९ बलमा ४ चौका र ३ छक्कासहित ३८ रनको योगदान गरे।

पुनेका दीपक चहर, एडम जाम्पा र ताहिरले १/१ विकेट लिए।

पुनेका लागि मायंक अग्रवालले सबैभन्दा धेरै २० रन बनाए। नियमित कप्तान स्टिभ स्मिथको अनुपस्थितीमा टोलीको नेतृत्व गरेका अजिन्क्या राहने १० रनमा पवेलियन फर्किए। रजत भाटियाले १६ रन जोड्दा चहरले १४ र महेन्द्रसिंह धोनीले ११ रन जोडे।

दिल्लीका जाहिर र अमितबाहेक पाट कमिन्सले २ तथा शहबाज नदिमले १ विकेट लिए। पुनेको तेस्रो खेलमा यो दोस्रो हार हो। पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएको पुने दोस्रो खेलमा पञ्जाबसँग पराजित भएको थियो।

प्रकाशित: ३१ चैत्र २०७३ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App