७ वैशाख २०८१ शुक्रबार
समाज

झाडापखालाका बिरामी बढे

काठमाडौं- राजधानीमा झाडापखालका बिरामी बढेका छन्। अस्पतालमा उपचार गर्न पुगेका बिरामीमध्ये अधिकांश झाडापखालाका रहेको चिकित्सकहरूले बताएका छन्। 

'कोही त बेहोस भएर आएका हुन्छन्', शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले भने। पुनका अनुसार राजधानी र नजिकका जिल्लाबाट उपचारका लागि झाडापखालाका बिरामी आइरहेका छन्। 'सामान्य अवस्थाका बिरामी बहिरंग विभागमा आउँछन्, सिकिस्त आकस्मिक कक्षमै आएका छन्', सिभिल अस्पतालका आकस्मिक कक्ष प्रमुख तथा परिवार स्वास्थ्य विभागका प्रमुख डा. दिनेशकुमार लम्सालले भने।  उनका अनुसार अस्पतालमा भक्तपुर, ललितपुर र काठमाडौं तीनै जिल्लाबाट झाडापखालाका बिरामी आएका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक उपचारका लागि आउने बिरामीमध्ये पाँच जनामा झाडापखालाको समस्या पाइएको छ।  अस्पतालमा उपचारका लागि दैनिक औसत दुई सय बिरामी आउँछन्। सिभिल अस्पतालमा दैनिक १५ जना झाडापखालका बिरामी आउने गरेको अस्पतालले जनाएको छ। अस्पतालमा दैनिक एक हजारदेखि १२ सय जना बिरामी उपचारका लागि आउँछन्।

चैत दोस्रो सातादेखि देखा परेको  झाडापखालाको कारण भने परीक्षणबाट पत्ता लाग्न नसकेको पुनले बताए। ' बिरामीमा तीनै थरीको परीक्षण गर्‍यौं, जीवाणु देखिएका छैनन्', पुनले भने, 'अहिले लागेको झाडापखाला नयाँ प्रकारको देखिन्छ।' पुनका अनुसार अस्पतालले हैजाको आशंकामा कलेरा, साल्मोनेला र सिगेला जीवाणुको परीक्षण गरेको थियो।

जीवाणु नदेखिएपछि लक्षणका आधारमा उपचार गरिएको पुनले बताए। 'यकिन गर्न सकिएको छैन, सचेत नभए यो खतरापूर्ण पनि हुन सक्छ', उनले भने।

चिकित्सकका अनुसार बिरामीले पानी नउमाली पिउने गरेको र कतिपयले घरबाहिर खानेकुरा खाएको बताएका छन्।

राजधानीमा पानीको अभाव र दूषित तरकारी खाँदा पनि यस्ता बिरामी बढेको हुन सक्ने सिभिल अस्पतालका डा.लम्सालले बताए। 'पानी अभावमा व्यक्तिगत सरसफाइ स्वतः घटेर जान्छ नै, जहाँ फोहोर त्यहीं झाडापखालाका जीवाणु वृद्धि हुन्छन्', उनले भने। एक अध्ययन अनुसार राजधानीमा शुद्ध पानी अभाव रहेको पाइएको लम्सालले बताए। 'पानीमा सुधार अहिले पनि आएको छैन, झाडापखाला लाग्नुको कारण दूषित पानी नै हो', डा.लम्सालले भने।

झाडापखालाबाट बच्न दैनिक खानपानमा ध्यान दिन चिकित्सकले सुझाव दिएका छन्।

 

लक्षण

– ज्वरो आउने

–पेट फुल्ने

–बारम्बार पातलो दिसा हुने

–बेहोस हुने

 

कसरी बच्ने

–सफा खाना खाने

–उमालेको पानी पिउने

–ताजा र सन्तुलित खाना खाने

प्रकाशित: ३१ चैत्र २०७३ ०२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App