तातोपानी- मार्मिङ, चाकुका अर्जुन प्रधानको बायाँ हात सुन्निन थाल्यो। बिना कारण सुन्निएको हात निको होला भनेर उनी त्यत्तिकै बसे। बीसको उन्नाइस भएन। स्थानीय स्वास्थ्य चौकीमा देखाए पनि तर, रोग पत्ता लागेन। भोटेकोसी बाढीले सडकै बगाएपछि उनलाई उपचारका लागि टाढा जान मुस्किल पर्यो। सडक तत्काल खुल्ने छाँटकाँट नदेखेपछि पैदल हिँडेर उपचारमा निस्कने निर्णयमा पुगे उनी।
'रोग पालिरहनुभएन। फेरि हातको कुरा छ,' श्रीमतीका साथ उपचारमा बाह्रबिसेतर्फ हिँडिरहेका बेला एकाबिहानै जम्बुमा भेटिएका उनले भने। उनीहरु दुई घन्टा पैदल हिँडेर यहाँ आइपुगेका थिए। 'सडक छैन। बाटैभरि पहिरो छ। आउजाउ गरिरहन सकिँदैन,' बाह्रबिसे नभए काठमाडौंसम्म पुगेर भए पनि उपचार नगरी नफर्कने उनले बताए।
सडक छैन, यातायात ठप्प छ। बिजुली बत्ती छैन, गाउँ अन्धकारमा छन्। सञ्चार सेवा अवरुद्ध छ। बाह्रबिसेमाथि तिब्बत सीमा नाका तातोपानीसम्मका ६ गाविस यतिबेला नाकाबन्दीमा छन्। विनाशकारी भोटेकोसी बाढीपछि गाती, मार्मिङ, घुम्थाङ, लिस्ती, फुल्पिङकट्टी र तातोपानी गाविस सम्पूर्ण रुपले एक्लिएका छन्। प्रशासनिक मुकाम चौतारा र केन्द्रीय राजधानी काडमाडौंसँग मात्र होइन किनमेलको बजार बाह्रबिसेसँग समेत ती गाविसको सम्बन्ध बिच्छेद छ।
अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी २६ किलोमिटर सडकखण्ड अवरुद्ध छ। भोटेकोसी कटानले दर्जन ठाउँमा राजमार्ग बगाउँदा सडक सम्पर्क टुटेको हो। त्यति नै ठाउँमा पहिरो खसेको छ। भोटेकोसी कटान र चट्टाने पहिरोको चेपुवामा छ बाह्रविसे–तातोपानी सडकखण्ड। ठाउँ–ठाउँमा त पैदल हिँड्नेधरी बाटो छैन। 'गाउँमै थुनिएका छौं,' गाती मान्द्राका मिनबहादुर तामाङले दुखेसो पोखे, 'हिँडडुलमै समस्या भो। दुःख थपियो।' उनले आफूहरू नदी कटान र पहिरोको चेपुवामा परेको बताए।
भोटेकोसीको कटानले दर्जनौँ बिजुली पोल (खम्बा) ढलेका छन्। सडक किनारमा यत्रतत्र पोल र तार लत्रिएको अवस्था छ। माथिबाट पहिरो खसेर विद्युत आयोजनाका केही ट्रान्समिसन लाइन ढलेका छन्। ६ दशमलव ५ मेगावाट क्षमताको तल्लो चाकुखोला जलविद्युत् आयोजना अवरुद्ध छ। भूकम्पले क्षति पुर्याएको यो आयोजना मर्मतपछि केही समयअघि मात्र सञ्चालनमा आएको थियो। भूकम्पपछि तातोपानी करिडोरका अन्य दुई आयोजना माथिल्लो भोटेकोसी र भैरवकुण्ड मर्मत भइरहेका थिए। बाढीले भोटेकोसी आयोजनाको बाँध क्षेत्र र उत्पादनगृहमा नराम्ररी क्षति पुर्याएको छ। दुबै आयोजनाका केही ट्रान्समिसन लाइनमा नोक्सानी पुगेको छ।
'कुनै पनि सञ्चार उपकरणले काम गरेका छैनन्,' कोदारीस्थित सशस्त्र प्रहरी बेसका डिएसपी मनोज थापाले भने। उनले लिपिङ बजारमा रहेका एनसेललगायत टेलिफोन सेवा प्रदायक कम्पनीका टावर घरसँगै ढलेको बताए। नाकालाई अप्टिकल फाइबरजडित द्रुत्ततर एडिएसएल टेलिफोन सेवाले जोडेको थियो। भूकम्पपछि क्षतिग्रस्त अप्टिकल फाइबर मर्मत हुनै पाएको थिएन।
रसदपानी किन्न र ओखतीमूलो गर्न बाह्रबिसे बजार झर्नुको विकल्प छैन। आकस्मिक काम पर्दा अक्करभिरबाट खसिरहेका चट्टान छल्दै हिँड्नुपर्ने बाध्यता छ। सामग्री ढुवानी गर्न नसक्दा राजमार्गमा रहेका बसेरी, नयाँ पुल, चाकु, हिन्दी, लार्चा, १० किलो र तातोपानी बजारका पसलमा खाद्यान्न रित्तिँदै छ। रित्तो मान्छे नै हिँड्न मुस्किल पर्ने बाटोमा भारी बोकेर हिँडन् सम्भव छैन। हलुका पोका पन्तुरामा तेल, मसला, नुन, चिनी किनेर स्थानीय पहिरो क्षेत्रबाट ओहोरदोहोर भने गरिरहेकै छन्।
लार्चादेखि बाह्रबिसेसम्म कटानबाट जोगिएका चार खण्डमा जिप चल्छन्। बाह्रबिसेसम्म पुग्दा चारवटा गाडी फेर्नुपर्छ।
सीमा क्षेत्र तातोपानीका बासिन्दा सबैभन्दा बढी प्रभावित छन्। सडक कटान र पहिरोको बढी समस्या रहेकाले उनीहरू जोखिममा छन्। तातोपानी छोडेर अघि बढ्ने बाटोघाटो नै छैन। केही स्थानीय जोखिम मोलेर हिँडिरहेका छन्। असुरक्षासँगै खान समस्या भएपछि पोका पन्तुरा र केटाकेटी च्पापेर गाउँ छाड्नेको लर्को राजमार्गैभरि देखिन्छ।
'तल उर्लिरहेको भोटेकोसी, माथिबाट खसिरहेको चट्टान। ज्यान जोगाउन भाग्नेधरी बाटो पाइएन,' तातोपानी नौ किलोको चट्टाने पहिरोमा रोकिएकी पाशाङबुटी शेर्पाले भनिन्। तातोपानीका दुई घर भूकम्पले ढालेपछि उनको परिवार १० किलोस्थित घरमा भाडामा बस्दै आएको थियो। त्यो पनि भोटेकोसी कटानको जोखिममा परेपछि उनी श्रीमान्सहित फुल्पिङकट्टीस्थित माइतीमा आश्रय लिन हिँडेकी थिइन्।
बाढीको नौ दिन बितेको छ। तातोपानीवासी अहिलेसम्म मौज्दात खाद्यान्नले धानिएका छन्। त्यो पनि सकिएपछि के खाने भन्ने चिन्ताले पिरोल्न थालेको छ। 'खाद्यान्न सकिन लाग्यो। ल्याउने बाटोघाटो छैन,' स्थानीय पदम लामा भन्छन्, 'भोकमारीमा पर्न लागिसक्यौं।' उनका अनुसार १० किलोस्थित झोलुंगे पुल बगाउँदा भोटेकोसी पारिको पाङसेगो गाउँवासीको खबर अज्ञात छ। नदी किनारका बस्ती जोखिममा परेपछि स्थानीय ज्यान जोगाउन माथि जंगलतिर लागेका छन्।
बाढीको तेस्रो दिन घरवारविहीन भई आपत्मा फसेका ५८ स्थानीयको दुई खेपमा उद्धार गर्दा सेनाको एमआई–१७ हेलिकप्टरले केही खाद्यान्न १० किलोमा झारिदिएको थियो। त्यो त्यहाँबाट अन्यत्र लैजान नसकेको स्थानीयको गुनासो छ। बस्ने विकल्प भएकाले धेरै विस्थापित काठमाडौं पुगेका छन्। अन्यत्र जाने विकल्प नहुने मात्र स्थानीय चौकीडाँडामा आश्रित छन्। 'धन हुने हेलिकप्टर चढेर काठमाडौं गए। धन नहुनेजति भगवान् पुकार्दै यहीँ बसेका छौंँ,' कोदारीका शमशेरबहादुर विकले भने।
प्रकाशित: ३० असार २०७३ ०१:५४ बिहीबार