वासिङ्टन डिसी— वेलायती दैनिक पत्रिका डेली मेल एउटा अप्ठ्यारो स्थितिमा पुगेको छ। १२१ वर्षको ट्याब्लोइड पत्रकारिताको इतिहास बोकेको पत्रिकाले अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई 'यौनकर्मी' भनेको मूल्य ३० लाख अमेरिकी डलर चुकाउनु पर्ने भएको हो।
अमेरिकी राष्ट्रपतिको निर्वाचन ताका पत्रिकाले मेलानियाको मोडलिङ उतारचढाब बारे रिपोर्ट प्रकाशित गरेको थियो। पछि अनलाइनबाट हटाइएको सो रिपोर्टमा अखाबरले उनलाई 'एक समय यौनकर्मी'को रुपमा काम गरेको जनाएको थियो।
पत्रिकाको सामग्रीविरुद्ध मेलानियाले १५ करोड डलर क्षतिपूर्ति माग गर्दै वेलायती अदालतमा मुद्दा दायर गरेकी थिइन्। लण्डनको न्यायालयमा भएको सुनुवाईमा मेलानियाले अखबारका तर्फबाट मागिएको माफी र क्षतिपूर्तिलाई स्वीकार गरेकी थिइन्। त्यसअघि पत्रिका र प्रथम महिलाबीच ३० लाख डलरमा विवाद अन्त्य गर्ने सहमति भएको बीबीसीले उल्लेख गरेको छ।
सन् १९७० मा स्लोभानियामा जन्मिएकी मेलानिया सन् २००५ मा डोनाल्ड ट्रम्पसँग विवाह हुनुअघि व्यवसायिक मोडलिङमा संलग्न थिइन्।
प्रकाशित: ३० चैत्र २०७३ १५:०२ बुधबार