८ वैशाख २०८१ शनिबार
समाज

रौतहटमा ठेउलाको प्रकोप

रौतहट– रौतहटको गढीमाई गाउँपालिकामा ठेउला(चिकेन पौक्स) को प्रकोप देखिएको छ । गढीमाई गाउँपालिकाको वरियारपुर, बिगरनगरा, पर्सा, गम्हरिया, र संग्रामपुरमा ठेउलाको प्रकोप देखिएको हो। एक हप्तादेखि फैलिएको ठेउला रोगले दर्जनौँलाई प्रभावित पारेको छ।

गढीमाई गाउँपालिकाको संग्रामपुर ४ का दीपु झाको घरमा पाँचजना छोरी शालु, ज्योति, अर्पणा, सोनी झा लगायतलाई एकसाथ ठेउलाले सताएर घर नै बिरामी परेजस्तो भएको छ । यसै गरी वरियारपुर ३ हिरमतपुरका सिफल राय यादवका १० वर्षका छोरा रविशंकर यादव, निरश राय यादवकी श्रीमती चन्दा देवी, छोरा किशन राय, केश्वर राय यादवकी पन्ध्र वर्षीया छोरी अँजनी कुमारीलगायत दर्जनौँ घरपरिवारमा ठेउलाले सताएको छ । दिन दिनै ठेउलाको प्रकोप फैलिँदै गएको स्थानीयले बताएका छन्।

वरियारपुर गाउँका तीन दर्जनभन्दा बढीमा अहिलेसम्म ठेउला देखिएको स्थानीय सिफल राय यादवले बताएका छन् । यसै गरी संग्रामपुरमा दुई दर्जनभन्दा बढीमा यो रोग देखिएको स्थानीय अजित पाठकले बताएका छन् । यसै गरी सन्तपुर दोस्तियाको तेजीलाल राय यादवको घरमा पनि सात जनालाई ठेउला लागेको र औषधिपश्चात सबैलाई ठिक भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख डा. नवलकिशोर झाले बताएका छन् ।

रोगबाट प्रभावित विरामीहरुलाई ज्वरो आउने, जिऊभरी मसिनो एवं ठूलो आकारको दानाजस्तो विमिराहरु देखिने, टाउको दुख्ने, रिंगटा लाग्ने र कमजोरी हुने जस्ता लक्ष्णहरु देखा पर्छन । चर्किदै गएको गर्मीको कारण चिकेन पौक्स (ठेउला)को प्रकोप जिल्लाको केही गाउँमा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । एक जनाबाट अर्को मानिसमा सर्ने सरुवा रोग भएकोले  ग्रामिण भेगका साना–साना बालबालिकाहरुदेखि लिएर युवायुवती तथा बुढापाकाहरुमा समेत रोगको प्रकोप देखा परेको छ । 

गढीमाई गाउँपालिकामा ठेउलाको प्रकोप बढी देखिएको र फाटफुट जिल्लाको अन्य भागमा पनि देखा परेको जिल्ला जनस्वास्थ्य प्रमुख डा.झाले बताए । जिल्ला अस्पताल गौरमा पनि फाटफुटरुपमा ठेउलाका बिरामी आइरहेको र अलिकति बढी देखिएको गढीमाई गाउँपालिकामा स्वास्थ्यकर्मीको टोली खटाइ सकिएको डा. झाको भनाइ छ ।

गर्मीमा हरेक वर्ष रौतहटमा देखापर्ने ठेउलालाई सामान्य रोगको रुपमा लिनुपर्ने डा. झाको भनाइ छ । रोगले खासै ठूलो असर नपार्ने तर ज्वरोले कमजोर बनाउने हुनाले ठेउला लागेको व्यक्तिको सम्पर्कभन्दा टाढा बस्नुपर्ने सल्लाह डा. झाले दिएका छन् ।

 

प्रकाशित: ३० चैत्र २०७३ १४:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App