८ वैशाख २०८१ शनिबार
राजनीति

दलभित्रै ‘लबिङ’ तीव्र

स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रका आकांक्षीले आन्तरिक ‘लबिङ’ तीव्र पारेका छन् । उनीहरू दलका प्रमुख नेतालाई रिझाउनेदेखि उम्मेदवार सिफारिस कमिटीका  पदाधिकारी तथा सदस्यसँगको भेटघाटमा व्यस्त छन् ।

प्रदेश–५ अन्तर्गत रूपन्देही र पाल्पा जिल्लाका नगरपालिकाको नेतृत्व हात पार्न दलभित्र रस्साकस्सी चुलिएको छ । नगरपालिका आकांक्षीमा महिलाको कम चर्चा भएको पाइएको छ । पार्टीका औपचारिक कार्यक्रममार्फत कतिपयले मेयर–उपमेयरमा दाबेदारी प्रस्तुत गरेका छन् भने केहीले सामाजिक सञ्जालमार्फत नगरपालिका नेतृत्वका लागि इच्छा व्यक्त गरेका छन् ।

रूपन्देहीका पाँच नगरपालिका देवदह, तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकाको नेतृत्व हात पार्न दलभित्र होड चलेको छ ।  तीमध्ये सिद्धार्थनगर नगरपालिकाबाहेक अन्य सबै नयाँ नगरपालिका हुन् ।

सिद्घार्थनगर नगरपालिका

सिद्धार्थनगरमा राप्रपाले जित कायमै राख्ने  रणनीति बनाउँदै अघि बढेको छ । २०५४ सालको निर्वाचनमा राप्रपा र एमालेबीच तालमेल भएको थियो । त्यसबेला राप्रपाका सागरप्रताप राणा मेयर र एमालेका हरि अधिकारी उपमेयरमा निर्वाचित भएका थिए । यसपालि  मेयरमा राप्रपाबाट  राणाकै नाम अगाडि आएको छ । त्यसैगरी, राप्रपाकै मिलन बस्नेतको पनि चर्चा छ। उपमेयरमा रबिता थापा मगरको चर्चा छ ।

 कांग्रेसबाट मेयरका आकांक्षी धेरै देखिएका छन् । कांग्रेस जिल्ला कोषाध्यक्ष दीपक क्षेत्री, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य महेन्द्र श्रेष्ठ, सुरेन्द्रजंग थापा, ओमकुमार श्रेष्ठलगायतले मेयरका लागि ‘लबिङ’ गरेका छन् । त्यसैगरी उपमेयरमा माधवी शर्मा र मञ्जु शर्माको चर्चा छ ।

मधेसी मोर्चामा आबद्ध दलहरूको पनि प्रभाव रहेको सिद्धार्थनगर नगरपालिकामा मोर्चाका तर्फबाट संंयुक्त उम्मेदवार बनाउने तयारी गरिएको छ, जसअनुसार संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य रामु यादव, तराईमधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अजय बर्मा र वरिष्ठ उपाध्यक्ष अजय गुप्तामध्येबाट मेयरको उम्मेदवार बनाउने गरी छलफल भइरहेको छ ।

तिलोत्तमा नगरपालिका

तिलोत्तमा नगरपालिकामा कांग्रेसबाट पुराना नेता रोमणी पाठक, कांग्रेस जिल्ला सचिव रामकृष्ण खाँण, कांग्रेस पूर्वक्षेत्रीय सभापति यमबहादुर खत्री र महासमिति सदस्य कृष्ण गौतमको चर्चा छ । उपमेयरमा गंगा शाही, कविता अर्यालको नाम आएको छ ।

एमालेबाट मेयरमा जिल्ला सदस्य मोहन चापागाईं, वासुदेव घिमिरे र यज्ञ गैरेको चर्चा छ । उपमेयरमा जिल्ला सदस्य देवी वाग्ले, मीना पाण्डेको चर्चा छ । माओवादी–केन्द्रले लक्ष्मण खनाललाई मेयरमा उठाउने तयारी गरेको छ ।

देवदह नगरपालिका

देवदह नगरपालिकाको मेयरका लागि कांगे्रस जिल्ला सचिव हीरा केसी, महासमिति सदस्य गुणाखर भूर्तेल र वासु रिमालले इच्छा व्यक्त गरेका छन् । उपमेयरका लागि भगवती गैरे र पार्वती न्यौपानेको चर्चा छ । त्यसैगरी, एमालेबाट पूर्वजिल्ला कमिटी सदस्य धु्रव खरेल, क्षेत्रीय अध्यक्ष नीलकण्ठ पौडेलको चर्चा छ । उपमेयरमा विद्या गुरुङ, रेवती घले र सरस्वती  पोखरेलले ‘लबिङ’ गरेका छन् ।

माओवादी–केन्द्रले कृष्ण ढकाल र नमराज पुरीमध्येबाट एकलाई मेयरमा उम्मेदवार बनाउने तयारी गर्दैछ ।  उपमेयरमा माओवादी–केन्द्रबाट टीका गौतम अघि सरेकी छन् ।

सैनामैना नगरपालिका

सैनामैना नगरपालिकाको मेयरमा कांग्रेसबाट फणेन्द्र  शर्मा र रामवली चौधरीको चर्चा छ । उपमेयरमा सीता पोखरेललाई अघि सार्ने तयारी कांग्रेसले गरेको छ ।

एमालेबाट मेयरका लागि चित्रबहादुर कार्की, मीनप्रसाद पौडेल र खुसीराम चौधरीले आकांक्षा राखेका छन् । उपमेयरमा उम्मेदवार बन्न बिना राना, शोभा ज्ञवाली र कमला विकले ‘लबिङ’ तीव्र पारेका छन् ।

माओवादी–केन्द्रले नारायण न्यौपानेलाई मेयर र देवकी अर्याललाई उपमेयरको उम्मेदवार बनाउने तयारी गरेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका

लुम्बिनी सांस्कृतिक नगरपालिकामा एमालेबाट रामचन्द्र यादव, इन्साफ मुसलमान, महेन्द्र यादवले मेयरको उम्मेदवारमा आकांक्षा राखेका छन् । त्यसैगरी, उपमेयरमा लक्ष्मी मिश्रा र गोमा गुरुङको चर्चा छ ।

संघीय समाजवादी फोरमले मेयरमा केन्द्रीय सदस्य फकरुद्दिन खाँलाई अघि सार्ने तयारी गरेको छ । कांग्रेसबाट नगर अध्यक्ष मोहम्मद सइद खाँ, अम्बिका कोहार, सूर्यमति उपाध्यायलगायतले मेयरमा आकांक्षा राखेका छन् । २०७० संविधानसभा निर्वाचनमा तराईमधेस लोकतान्त्रिक पार्टीले जितेको क्षेत्र नम्बर ७ अन्तर्गत पर्ने लुम्बिनी सांस्कृतिक नगरपालिकामासमेत जित्नका लागि तमलोपा सक्रिय देखिन्छ । त्यसका लागि अब्दुल रहमान खाँ र नसिम अख्तर खाँमध्येबाट एकजनालाई उम्मेदवार बनाउने आन्तरिक तयारी भएको तमलोपा जिल्ला कमिटीका एक सदस्यले बताए ।

तानसेन नगरपालिका

पाल्पाको तानसेन नगरपालिकामा मेयरका लागि प्रमुख दलबाट महिला उम्मेदवारको चर्चा भएको देखिँदैन। नेपाली कांग्रेसका चकोरमान शाक्य, अजयमान कर्माचार्य, सन्तोषलाल श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, राजेन्द्रगोपाल सिंह, हिमालदत्त श्रेष्ठ, मधुदयाल सैंजु र राजु महर्जन मेयरका सम्भावित उम्मेदवार हुन् ।  एमालेका अशोककुमार शाही, एकप्रसाद भण्डारी, डा. पुरन बज्राचार्य र रामप्रसाद पोखरेलको मेयरमा चर्चा छ ।

माओवादी–केन्द्रका नेत्रप्रसाद पाण्डेय, केशव पौडेल र प्रेमसागर शाहीले मेयरमा उठ्ने चाहना देखाएका छन्। राप्रपाका भीमसेन कार्की, रेवन्तबहादुर बिष्ट र धु्रव खाती, राष्ट्रिय जनमुक्ति पार्टीका खुमबहादुर सिञ्जाली र होमबहादुर थापाको नाम मेयरका लागि चर्चामा छ । उपमेयरमा नेपाली कांग्रेसकी लालु राना, राप्रपाकी चमेलीदेवी श्रेष्ठ र जनमुक्तिकी विष्णुमाया थापाको नाम चर्चामा छ ।

रामपुर नगरपालिका

रामपुर नगरपालिकामा कांग्रेसका रमण थापा, देवराज ढकाल, ज्ञानबहादुर गाहा, नेत्रप्रसाद भट्टराई, कृष्णप्रसाद अधिकारी र कल्प पौडेलको नाम मेयरका लागि चर्चामा छ ।  एमालेका राजुप्रसाद श्रेष्ठ, युवराज खनाल, लेखनाथ पोखरेल, टंक खनाल, बुद्धिराज गौतम, राजेन्द्र लम्साल र वासुदेव देवकोटा मेयरका सम्भावित उम्मेदवार हुन् । माओवादी–केन्द्रका कमल भट्टराई, जितबहादुर थापा (हीरा), तारानाथ ढकाल, गीता सुनार र जनक ढकाल तथा राप्रपाकी शोभा केसी र ज्ञानबहादुर सिञ्जालीको नाम बाहिर आएको छ। रामपुर नगरपालिकामा  कांग्रेस र एमालेका युवा नेताबीच प्रतिस्पर्धा हुनसक्ने नेपाली कांग्रस क्षेत्र नम्बर १ का सभापति सन्तोष थापाले बताए ।

कांग्रेस, एमाले, माओवादी केन्द्रका नेता, कार्यकर्ता, सामाजिक अभियन्ता, सञ्चारकर्मीलगायतले चुनावमा उठ्ने आकांक्षा व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत भोट माग्नुका साथै उनीहरूले घरदैलो अभियानसमेत तीव्र पारेका छन् । गाउँमा भेला, गोष्ठी, छलफल र पार्टीमा कार्यकर्ता प्रवेशका कार्यक्रम भइरहेका छन् ।

कांग्रेसले जिल्ला सभापतिको संयोकत्वमा चुनाव परिचालन समिति गठन गर्दै गाउँपालिका र नगरपालिकाको केन्द्रमा सम्पर्क कार्यालय राख्ने निर्णय गरेको छ । एमालेले अध्यक्ष नारायणप्रसाद आचार्यको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन कमिटी गठन गरी सबै स्थानीय तहमा संयोजक र सहसंयोजक तोेकेको छ । माओवादी केन्द्रका संयोजक गिरबहादुर थापाले केही समयमै उम्मेदवारको नाम सर्वसम्मत रूपमा सार्वजनिक गर्ने तयारी भइरहेको बताए । आठ गाउँपालिका र दुई नगरपालिका रहेको पाल्पामा तानसेन र रामपुर नगरपालिकामा साना दलका नेताकार्यकर्ताले मेयरमा उठ्ने चाहना देखाएका छन् ।

बर्दिया

बर्दियाका ६ नगरपालिका र २ गाउँपालिकामा प्रमुख–उपप्रमुखका

आकांक्षीले टिकट हात पार्न दौडधुप थालेका छन्  । गुलरिया, राजापुर, मधुवन, बाह्रबर्दिया, बाँसगढी र ठाकुरबाबा नगरपालिका तथा गेरुवा र बढैया गाउँपालिकाको नेतृत्व हात पार्न दलहरूले तयारी तीव्र पारेका छन् । ती नगरपालिका र गाउँपालिकामा प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र माओवादी–केन्दबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान छ । 

गुलरिया नगरपालिका

गुलरियामा मेयरका लागि कांग्रेसका विजय देवकोटा, मुक्तिनाथ यादव (किट्टु) र राधेश्याम थारूको चर्चा छ। एमालेका हरि ज्ञवाली, अमरबहादुर खड्का र प्रेम पोखरेलको नाम अगाडि आएको छ । राप्रपाका मनोजकुमार बर्मा, मग्रे गोडिया र मेघनाथ अधिकारी तथा

माओवादी–केन्द्रका गहेन्द्र ढकाल, मिथिला फुयालको नाम चर्चामा छ ।

बाँसगढी नगरपालिका

 बाँसगढीमा कांग्रेसका गंगाधर पौडेल, गोविन्द रेग्मी र बलिराम थारूको नाम अग्रपंक्तिमा छ । एमालेका शालिकराम अधिकारी, खडकबहादुर खड्का, सुन्दर ढकाल, पूर्ण अधिकारी र नैनबहादुर खत्रीको नाम चर्चामा छ । माओवादी–केन्द्रका विनय थारू र नरेन्द्र शर्माको सम्भावना छ ।

ठाकुरबाबा नगरपालिका

ठाकुरबाबामा कांग्रेसका विद्याप्रसाद खनाल, मक्कुराम चौधरी, नवराज न्यौपाने, तिलक लम्साल, वेदप्रसाद भण्डारी र नन्दराम तिमिल्सेनाको नाम मेयरमा चर्चामा छ । एमालेबाट जीवन शाह, लहानु थारु, भिख्खु थारु, खगेन्द्र खनाल र घननारायण श्रेष्ठलाई अगाडि सारिएको छ ।  माओवादी केन्द्रका आस्था चौधरी र नेत्र आचार्यले आकांक्षा देखाएका छन् ।

मधुवन नगरपालिका

मधुवनमा कांग्रेसका बलिराम थारु, प्रेमबहादुर गुरुङ, टेकबहादुर भाट, उदय लम्साल, जग्गाप्रसाद पाण्डे, भरतबहादुर गुरुङ, सुरेश योगी, किरण योगी र गोपाल पौडेलको मेयरमा चर्चा छ ।

एमालेका दुर्गा वली, कुलप्रसाद पोख्रेल, टंक पौडेल र टंक वली आकांक्षीका रूपमा देखिएका छन् । माओवादी केन्द्रका कृष्ण केसी र लक्ष्मी शर्मा सम्भावित नाम हुन् ।

राजापुर नगरपालिका

राजापुरमा कांग्रेसका दीपकजंग शाह र रमण रेग्मीको नाम मेयरका लागि अगाडि आएको छ। एमालेबाट इन्द्र सेन, पहाडी थारू र सरमा थारूको नाम अग्रपंक्तिमा छ । राप्रपाका जीवराज रेग्मी, सन्तराम थारू, राममणि उपाध्याय र केशरबहादुर थापा आकांक्षी छन् । माओवादी केन्द्रका दीपेश थारू र शिव थारूको नाम चर्चामा छ ।

बाह्रबर्दिया नगरपालिका

बाह्रबर्दियामा कांग्रेसका मोहनलाल थारू र पर्शुराम थारूले मेयरमा आकांक्षा व्यक्त गरेका छन्।

एमालेका रामबहादुर थारू, पतिराम थारू, मनिराम ज्ञवाली, पदम ढकाल, भक्तबहादुर र कमला ज्ञवालीको नाम चर्चामा छ ।

माओवादी केन्द्रका अन्जु दहित, दुर्गाबहादुर थारूको नाम अगाडि आएको छ ।

गुल्मी

दुई नगरपालिका र १० गाउँपालिका रहेको गुल्मीमा प्रमुख तथा उपप्रमुखको उम्मेदवार बन्न कांग्रेस, एमाले र माओवादी–केन्द्रबाट दर्जनभन्दा बढीले आकांक्षा व्यक्त गरेका छन्  । राप्रपा, जनमोर्चालगायत साना दलले कसलाई उम्मेदवार तोक्ने भन्ने सम्बन्धमा छलफल सुरु गरेका छन् ।

रेसुंगा नगरपालिका

रेसुंगामा कांग्रेसको तर्फबाट भुवनप्रसाद श्रेष्ठ, शालिकराम पन्थी, राजेन्द्र श्रेष्ठ, खिलध्वज पन्थी र श्रीप्रसाद भलामीको नाम मेयरका लागि चर्चामा रहेको छ । एमालेबाट डिल्लीराज भुसाल, बालसिंह काउछा, जंग नेपाली, गणेश श्रीपाली र प्रितम काउछा सम्भावित नाम हुन् । माओवादी–केन्द्रबाट अशोक थापा र धर्म विश्वकर्माको नाम चर्चामा छ ।

मुसिकोट नगरपालिकामा

मुसिकोटमा कांग्रेसका सुदर्शन शाक्य, ज्ञानहरि सापकोटा, कृष्णहरि सापकोटा, विष्णु सापकोटा र सुरेश भुसालको नाम अग्रपंक्तिमा छ ।

एमालेका सोमनाथ सापकोटा, कमला शर्मा, हरि छन्तेल, खड्ग केसी र जीवन खरेलको नाम चर्चामा छ । माओवादी–केन्द्रबाट खुमबहादुर थापा र भुवन केसी सम्भावित नाम हुन् ।

शेरबहादुर केसी, बुटवल/रेखा भुसाल, भैरहवा/मुक्ति न्यौपाने, पाल्पा

 

प्रकाशित: ३० चैत्र २०७३ ०५:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App