१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

फिल्म फेस्टिभलमा महिला

काठमाडौं – महिलाका समस्यादेखि उनीहरुले गरेका संघर्षलाई प्रमुख विषय बनाएर निर्माण गरिएका फिल्म तथा वृत्तचित्रको गत सोमबार राजधानीमा प्रदर्शन गरिएको छ । भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा भएको कार्यक्रममा नेपालसहित विश्वका विभिन्न मुलुकका फिल्म तथा वृत्तचित्र देखाइएको थियो । 

इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन नेपाल च्याप्टरले आयोजना गरेको ‘एकदिवसीय इवार्ट वुमन्स फिल्म फेस्टिबल’को उद्घाटन गर्दै युएन सिडउ कमिटी सदस्य बन्दना रानाले महिला केन्द्रित फिल्म तथा वृत्तचित्रको प्रदर्शनले उनीहरूको सशक्तीकरणमा सहयोग गर्ने धारणा राखिन् ।

फेस्टिबलमा फिलिपिन्सकी इलाङ इलाङ क्वीजानो, भारतकी दिपिका शर्मा, क्यामरुनकी पोची ताम्बा नोस र सिदोनी पोङमोनी र अमेरिका तथा बंगलादेशकी इभा ब्रोनस्टिनले निर्देशन गरेको फिल्म ‘भेल्भेट रिभोल्युसन’ देखाइएको थियो । यो फिल्मले राज्य र गैर राज्य पक्षबाट पत्रकारले बहोर्ने समस्यालाई प्रस्तुत गरेको थियो । 

त्यस्तै नेपाली निर्देशक कला संग्रौलाले नेपालको पूर्वी तराईमा हजुरआमासँग बस्ने ९ वर्षीया वैशाखीको कथा समेटिएको फिल्म ‘बुट्टे जामा’, छोरी र बाबुको विगतको स्मरणबारे त्रिवेणी राईले तयार पारेको ‘मेमोरी अफ अ हर्ट’, भूकम्पपछि सिन्धुपाल्चोकको रेडियो मेलम्चीले समाजका लागि गरेको राम्रा काम बारेको फिल्म ‘रेडियो मेलम्ची १०७.२’, हंश थपलियाको ‘घर स्टुडियो है’, जापानी निर्देशक माकी साटाकेको ‘स्लाइडर’ र भारतीय निर्देशक अनन्य कसारवालीको ‘हरिकथा प्रसंग’ देखाइएको थियो ।

यसैगरी कलाकार एजेन्ट्स अफ इस्कको ‘हम तुम एक कमरेमे बन्द हो और’, तारा अलिया केशवन, अरनर्भ नन्दुरी र रोहित चौहानको ‘सिनेमा हल मे कुछ कुछ होता है’, रेश्मा प्रितम र तेन्जिङ कुन्चोकको ‘भोइपाइ अन्ताक्षरी’ फिल्म प्रस्तुत गरिएको थियो । भारतीय निर्देशक निना सबनामीको ‘वी मेक इमेजेज’, चिनिया निर्देशक युछिएओ यीको ‘वकिङ’, भारतीय निर्देशक अनिता बालाचन्द्रनको ‘पुडाभाइ’ र मलेसियन निर्देशक सिती हजार अञ्जानको ‘उल्लेक मयाङ’ फिल्म पनि देखाइएको थियो ।

फेस्टिबल निर्देशक मल्लिका भट्टराईले महिला फिल्म निर्देशक तथा निर्मातालाई भेला गराई उनीहरूको आत्मविश्वास बढाउँदै आफ्ना अनुभव साटासाटसँगै नेपालमा पर्यटनको विकास गर्न कार्यक्रम भएको बताइन् । 
फेस्टिबलमा ‘वुमन्स इन मेनस्ट्रिम मिडिया’ विषयमा बहस गरिएको थियो । प्रतिभा तुलाधरले संयोजन गरेको अन्तर िबहसमा यूएन सिडअकी सदस्य बन्दना राणाले नेपालमा महिला पत्रकारहरु मूलधारमा सक्रिय रुपमा पत्रकारिता गरिरहे पनि उनीहरुको समस्या समाधान गर्न मिडियाले चासो नदिएको दाबी गरिन् । पत्रकार कनकमणि दिक्षितले मूलधारको पत्रकारिता र त्यसमा काम गर्ने महिला पत्रकारको अवस्थाका बारे चर्चा गर्दै महिला पत्रकारको काम सन्तोषजनक रहेको बताएका थिए ।

त्यस्तै ‘फिल्म प्रोडक्सन सिनारियो फर वुमन इन नेपाल’ विषयको बहसमा नेपालकी प्रथम महिला निर्देशक सुचित्रा श्रेष्ठले फिल्मको निर्माणदेखि निर्देशन तहसम्म अझै पनि महिला फिल्मकर्मीहरुले संघर्ष गरिरहनु परेको बताइन् । दीपा गौतमले सञ्चालन गरेको यो बहसमा प्राध्यापक आरके रेग्मी र सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले फिल्म र महिलाका विषयमा चर्चा गरेका थिए ।
 

प्रकाशित: ३० चैत्र २०७३ ०५:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App