coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मुसहर बस्तीमा कालाजारको महामारी

सन्तोष सिंह

राइटरखोर (सर्लाही)-ईश्वरपुर नगरपालिका–४ राइटरखोरस्थित मुसहर टोल अचेल सुनसान छ। विपन्न बस्तीका धेरै छाप्रामा शोकमा डुबेका मानिस भेटिन्छन्। परिवारका सदस्य कालाजार लागेर उपचार अभावमा गुमाएपछि बस्तीमा सन्नाटा छाएको हो।

चैत २१ गते कालाजारका कारण ४५ वर्षीया नथुनी माझीको मृत्यु भएको नौ दिन नबित्दै नथुनीकी काकी ५० वर्षीया रामदुलारीदेवी माझीको सोमबार राति मृत्यु भयो ।

दुई जनाको मृत्यु भएपछि स्वास्थ्य कार्यालयको टोलीले परीक्षण गर्दा आठ परिवारका १४ जनामा कालाजार फेला परेको थियो । सबै बिरामीको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ । रामदुलारीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । रामदुलारीकी २५ वर्षीया छोरी उर्मिलाको दुई महिनाअघि कालाजारकै कारण मृत्यु भएको थियो ।

मुसहर बस्तीमा एक वर्षयता कालाजारका कारण सात जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा विक्रम माझी, मखन माझी, उनका छोरा मेघु माझी र बुहारी जहरीदेवी माझी रहेको स्थानीय मनोजकुमार सिंहले बताए ।

खेतबारी, आली, आँगनमा सुत्ने बानीले मुसहर बस्तीमा कालाजारले महामारीको रूप लिएको डा. प्रभासकुमार साहले बताए । जिल्ला अस्पतालमा भर्ना भएका कालाजारका बिरामीको उपचारमा संलग्न डा. साहका अनुसार गरिबी र चेतना अभावमा मुसहर समुदायले समयमा औषधि उपचार गर्न नसक्दा कलाजारले महामारीको रूप लिएको हो । ‘ज्वरो आउँदा झारफुक गर्ने चलन छ’, उनले भने ।

अस्पतालमा जाँच भएन

अस्पतलमा कलाजारको उपचार निःशुल्क हुने प्रावधान छ । तर, राइटरखोर मुसहर बस्तीका मानिस भक्तिपुर अस्पतालमा जाँदा भने उपचार पाउन सकेनन् । ‘डाक्टरले नाडी छामेर औषधि खानु भने र औषधि किन्न बजारमा जानु भने’, ४० वर्षीया गंगा माझिले भनिन् ।

कालाजारको उपचार अभावमा गंगाका ४५ वर्षीया श्रीमान् नथुनि माझि र २० वर्षीया छोरा विक्रम माझिको मत्यु भइसकेको छ ।

अस्पतालमा उपचार नपाएपछि नवलपुरस्थित श्रीराम औषधालयमा उपचारका लागि जाँदा जन्डिस भएको बताएर औषधि दिएको उनले बताइन् । ‘औषधि खाँदा पनि सन्चो भएन, भएको पैसा पनि सबै सकियो, श्रीमान् पनि गुमाएँ’, गंगाले भनिन् । गंगाकी बुहारी पानवती माझि पनि मलंगवा अस्पतालमा कालाजारको उपचारका लागि अस्पताल भर्ना भएकी छिन् ।

स्वास्थ्य चौकी भक्तिपुरमा पटक–पटक गए पनि हालसम्म औषधि नपाएको स्थानीय ५४ वर्षीय कृष्ण ठाकुरले बताए । ‘औषधि लेखेर बजारमा किन्न पठाइ दिन्छन्’, उनले भने ।

यता भक्तिपुर स्वास्थ्य चौकीको लपारबाहीले राइटरखोर मुसहरवस्तीमा कालाजारको महामारी फैलिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए ।

‘उपचार अभावमा नथुनि माझिको मृत्यु भए पछि गाउँबाट स्थानीयले फोन गरेपछि म आफैं पीडितको घर पुग्दा स्वास्थ्य चौकी बेखबर थिए,’ प्रजिअ कँडेलले भने, ‘स्वास्थ्य चौकीका कर्मचारीले गरेको भुलका कारण राइटरखोरमा मानविय क्षति भएको हो ।’

कालाजारको उपचार अभावमा मृत्यु भएको खबर आउनासाथ धरान र काठमाडौंका स्वास्थ्यकर्मीसँगै स्थानीय स्वास्थ्यकर्मी सहित राइटरखोर पुगेर जाँच गर्दा १४ जनामा कालाजार फेला परेको र उनीहरूलाई तत्काल अस्पताल भर्ना गराइएको प्रजिअ कँडेलले बताए। स्वाथ्यकर्मी र स्वास्थ्य कार्यालयको लापरबाही र त्रुटिबारे अनुसन्धान भइरहेको कँडेलले जानकारी दिए ।

कालाजारले परिवार नै रित्तो

मलंगवा अस्पतालमा कालाजारको उपचारका लागि भर्ना भएका १७ वर्षीय दिपेश माझी अब परिवारमा एक्ला भएका छन् । कालाजारको उपचार गराउन नसक्दा ६० वर्षीय हजुरबुबा मखन माझी, ३५ वर्षीय बुबा मेघु माझी र ३० वर्षीया आमा जहरीदेविको मृत्यु भएपछि दिपेश एक्लिएका हुन् । उनी पनि कलाजारबाट ग्रस्त छन् ।

उपचार नगराई घरमै बसेको बेला जिल्लाको स्वास्थ्य टोलीले उनलाई मलंगवा अस्पतालमा भर्ना गराएको हो । परिवारका एकपछि अर्को सदस्य विरामी हुँदै गएको तर उपचार अभावमा डेढ वर्षमा तीनै जनाको मृत्यु भएको दिपेशले बताए । ‘मसँग उपचार गराउने पैसा पनि छैन । छिमेकका सबै गरिब र कालाजारले ग्रस्त छन्, सहयोग गर्ने कोही छैनन् ।’ दिपेशले भने ।

 

प्रकाशित: ३० चैत्र २०७३ ०५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App