८ वैशाख २०८१ शनिबार
अर्थ

पर्यटकको चाप खुम्बुको होटलले धान्न सकेन

सोलुखुम्बु – पर्यटकको अत्यधिक चापले सोलुखुम्बुको गोरसेप तथा लबुचेका होटेलमा बस्न र सुत्न समस्या भएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष अत्यधिक पर्यटक प्रवेश गरेपछि उनीहरुलाई खुवाउन तथा बास बस्न होटल अभाव भएको होटल व्यवसायीहरुको भनाइ छ । 

गोरसेपमा रहेका चारवटा होटलमा करिब तीन सय मानिस अटाउने क्षमता छ । तर, अहिले दैनिक पाँच सयसम्म पर्यटक प्रवेश गर्न थालेपछि ती पर्यटक तथा उनका सहयोगी गाइडलाई सुताउन समस्या भएको हो । अहिले डाइनिङमा सुताउँदा समेत ठाउँ अपुग भएपछि ट्रेकिङ गाइड बढी मार्कामा परेका छन् । 

होटलमा बेडरुमको अभावले पर्यटक र गाइडलाई डाइनिङ हलमा सुताउनु पर्ने बाध्यता

पर्यटकका लागि जसोतसो खान बस्न व्यवस्था गरे पनि ट्रेकिङ गाइडलाई रात कटाउन समस्या भएको गोरसेपका होटल व्यवसायी चित्र राईले जानकारी दिए । राइले भने, ‘यस वर्ष पर्यटकको चाप धेरै नै वृद्धि भएको छ, हाम्रा होटलमा पालो पर्खेर खान पनि हुन्छ तर सुताउन समस्या भयो,’ उनले थपे, ‘केही दिनदेखि बेडरुमको अभावले पर्यटक र गाइडलाई डाइनिङ हलमा सुताउनु परेको छ ।’ 

सगरमाथा आधार शिविर जाँदा भेटिने अन्तिम मानव बस्ती गोरसेपमा सीमित संख्यामा होटल सञ्चालनमा छन् । सगरमाथा आरोहणमा जाने पर्यटक, तीनका सहयोगी र ट्रेकिङ आएका पर्यटकको अत्यधिक चाप रहेको होटल व्यवसायीको भनाइ छ । सबैभन्दा बढी पथप्रदर्शक र पोर्टरको बिचल्ली भएको छ । 

‘पर्यटकलाई यति धेरै सास्ती भएको मैले पहिलो पटक अनुभव गरें,’ राईले भने । खुम्बु पदमार्गमा जाने पर्यटक सगरमाथा आधार शिविरसम्म पुग्ने र नजिकै रहेको कालापत्थर पनि चढ्ने गर्नाले उनीहरुले गोरसेपमा दुई दिन बिताउने गर्छन् । करिब तीन सय ५० जना अटाउने गोरसेपका होटलमा दुई दिनको संख्या जोडिँदा झन्डै एक हजारको संख्या हुने गर्दछ । ‘अन्य घरहरु पनि नभएकाले पर्यटकले बास नपाउने समस्या बढेको हो । अधिकांश बेडरुम त पर्यटकले अनलाइन बुक गरिसकेका हुन्छन्,’ सगरमाथा आधार शिबिर नजिकै होटल सञ्चालन गर्दै आएकी पासाङकामी शेर्पाले भनिन्, ‘होटलमै आएर बुक गर्नेहरु चाहीं बिचल्लीमा पर्ने गरेका छन् ।’ 

गोरसेपभन्दा तल्लो गाउँ लबुचेमा पनि पर्यटकको उस्तै चाप छ । आठवटा होटल रहेकामा यहाँ पनि पर्यटकको चाप थामिनसक्नु भएको होटल सञ्चालक बरुङिमा शेर्पाले बताए । ‘खाना त पु¥याइएकै छ, सबैभन्दा बढी राती सुताउन समस्या भएको छ,’ शेर्पाले भने । 

खाद्यान्न ढुवानीका लागि समस्या नभए पनि खानेपानीको अभावले बढी मार्कामा परेको व्यवसायीको भनाइ छ । पोखरीमा आइस पग्लेर संकलन भएको पानी प्रयोग गर्ने गरिए पनि यस वर्ष अधिकांश त्यस्ता पोखरी बिलाएर झन् गहिरो भएकाले पानी निकाल्न समस्या भएको गोरसेपका होटल सञ्चालक चित्र राइले समस्या सुनाए । ‘हाई अल्टिच्युटमा आएपछि पाहुनाले बढी तातो पानीको माग गर्दछन्,’ उनले भने, ‘खाना पकाउनदेखि पिउने पानीको जोहो गर्न पनि समस्या छ ।’ हाइ अल्टिच्युटमा भएका कारण पनि समस्या भएको व्यवसायीको भनाइ छ । 

तर त्यसमुनिका दिङबुचे, पाङबोचे, नाम्चे, लुक्ला लगायतका होटलमा भने खान–बस्न समस्या नभएको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाले जानकारी दिए । तल्लो गाउँहरुमा पर्याप्त होटल रहेकाले लबुचे, गोरसेपमा जस्तो समस्या नभएको उनको भनाइ छ । 

अहिले दैनिक पाँच सयसम्म पर्यटक सगरमाथा राष्ट्रिय निकुञ्जमा प्रवेश गरिरहेको जोरसल्ले चेक पोस्टले जनाएको छ । अघिल्ला वर्षभन्दा यस वर्ष पर्यटकको चाप अत्यधिक रहेको जोरसल्ले जेकपोस्टका इन्चार्ज राजु तामाङले बताए । ‘बिहानदेखि नै पर्यटकको लस्कर लाग्छ, सबैको प्रवेश जाँच गर्दा भ्याइनभ्याइ छ,’ कर्मचारी निर्माण पोख्रेलले व्यस्तता सुनाउँदै भनिन्, ‘बिहानको खाना खाने पालो दिउसो दुई बजेमात्रै आउछ ।’ यहाँका कर्मचारीले पर्यटक प्रवेश जाँच गर्न नभ्याएपछि चेकपोस्टको सुरक्षार्थ खटिएका नेपाली सेनाले सहयोग गर्दै आएको इन्चार्ज तामाङले जानकारी दिए ।  

 

प्रकाशित: ३० चैत्र २०७३ ०३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App