७ वैशाख २०८१ शुक्रबार
खेल

फेरि मागियो वेंगरको राजीनामा

लन्डन (एएफपी)– क्रिस्टल प्यालेससँग ३–० ले पराजित भएसँगै आर्सनलको दुर्भाग्यपूर्ण सिजन नियन्त्रणबाहिर पुगेपछि समर्थकले प्रशिक्षक आर्सेन वेंगरको राजीनामा माग गर्ने क्रमलाई नवीकरण गरेका छन् ।
दक्षिणी लन्डनमा संघर्षरत प्यालेससँग पराजित हुनु वेंगरको टोलीका लागि लज्जाजनक नतिजा थियो । यो नतिजालाई सांकेतिक रूपमा जारी सिजनको प्रिमियर लिगमा वेंगरको आर्सनलले भोगेको सबभन्दा खराब हारको रूपमा लिइएको छ ।
वेंगरले प्रशिक्षकका रूपमा आर्सनलको नेतृत्व सम्हालेको २१ वर्षमा टोली लगातार चार अवे लिग खेलमा पराजित भएको यो पहिलो पटक हो । एन्ड्रोस टाउनसेन्ड, योहान काबाये र लुका मिलिभोजेभिचको गोलमा प्यालेसले भने १९७९ यता पहिलो पटक घरेलु मैदानमा आर्सनलमाथि जित हासिल गरेको थियो । आर्सनलका लागि यो पछिल्ला आठ लिग खेलमा पाँचौं हार थियो, जसले वेंगरमाथिको दबाब अझै चुलिएको छ ।
प्यालेससँगको हारसँगै आगामी सिजन च्याम्पियन्स लिग खेल्ने लक्ष्यमा गम्भीर धक्का लागेपछि आर्सनलका समर्थकहरूले फेरि वेंगरको राजीनामा माग गर्न थालेका छन् । दोस्रो हाफको खेल चल्दा प्यालेसको रंगशालामा बसेका अवे दर्शकसमामु बल पुग्दा सोमबार आर्सनलका समर्थकले आक्रोश पोख्ने क्रममा टोलीका राइट ब्याकहेक्टर बेलेरिनलाई बल दिन अस्वीकार गरेका थिए । टिमलाई समर्थन गर्नुको साटो समर्थकहरूले बल दिन अस्वीकार गर्दै ‘तिमीहरू क्लबको जर्सी लगाउन लायक छैनौं’ भन्दै बेलेरिन र अन्य खेलाडीविरुद्ध होहल्ला गरेका थिए । अन्तिम सिठी बजिसकेपछि पनि समर्थकले बेलेरिनलाई लक्षित गर्दै थप हल्ला गर्न थालेपछि एलेक्स ओक्सलाडे चेम्बर्लिनले उनलाई सम्झाउनुपरेको थियो ।
स्तब्धतापूर्ण हारपछि चौथो स्थानको म्यानचेस्टर सिटीभन्दा सात अंकले पछि रहँदै छैटौं स्थानमा सीमित भएको रिसमा वेंगर र उनको टोलीविरुद्ध ड्रेसिङ रुमबाट टिम बसतिर जाँदा पनि समर्थकले नाराबाजी गरेका थिए । आर्सनललाई लगातर १९ वर्षसम्म च्याम्पियन्स लिगमा छनोट गराएका वेंगर यसपालि युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता खेल्न नपाउने सम्भावनाका कारण चरम दबाबमा छन् । जसका कारण आर्सनलमा फ्रान्सेली प्रशिक्षकको लागि यो अन्तिम सिजन हुन सक्ने सम्भावना चुलिएको छ ।
‘समर्थकहरूले टिमलाई समर्थन गरिरहून् भन्ने म चाहन्छु । तर उनीहरू पनि हामीजस्तै अत्यन्तै निराश भएका छन् भन्ने म बुझ्न सक्छु,’ वेंगरले भने, ‘हामी खेल जित्ने सोचका साथ आएका थियौं, तर निर्णायक क्षणमा हामीभन्दा प्यालेस प्रभावकारी भयो । हामीजस्तो टोली यसरी हार्नु भनेको अत्यन्तै निराशाजनक विषय हो । तर यस्तो अवस्थामा पनि आत्मविश्वास जगाउनु मेरो काम हो । हामीसँग त्यसका लागि एक हप्ताको समय छ र हामी पूरा प्रयास गर्नेछौं ।’
१९९७ यता पहिलो पटक च्याम्पियन्स लिगमा छनोट नहुने सम्भावनाको नजिक पुगेका वेंगरले जारी सिजनको अन्त्यमा क्लबसँगको सम्झौता सकिएपछि नवीकरण गर्ने विषयमा सोधिएको प्रश्नको उत्तर दिन अस्वीकार गरे । प्रशिक्षकको भविश्य निश्चित नभएका कारण पनि टिमले परिस्थितिसँग जुध्नका लागि आवश्यक जोस हासिल गर्न सकिरहेको छैन ।
शीर्ष चारमा रहेर आर्सनलले च्याम्पियन्स लिग खेल्ने व्यावहारिक सम्भावना कठिन बन्दै गए पनि उनले आफ्नो भविश्यबारे बोल्न अस्वीकार गरे । ‘पक्कै पनि अब हामीलाई शीर्ष चारमा रहेर सिजनको अन्त्य गर्न निकै कठिन हुनेछ । तर म आजको रात आफ्ना बारे कुरा गर्न चाहन्नँ । म त्यस्तो मुडमा छैन,’ उनले भने, ‘तत्कालका लागि म अत्यन्तै निराशाजनक नतिजाको जिम्मेवारी मात्र लिन सक्छु ।’
 

प्रकाशित: ३० चैत्र २०७३ ०२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App