७ वैशाख २०८१ शुक्रबार
खेल

सिवाई अत्तरियाको विजयी सुरुआत

धनगढी- योगेन्द्रसिंह कार्कीको अर्धशतक तथा अविनाश बोहराको ४ विकेटप्रेरित सिवाई अत्तरियाले सोमबार काठमाडौं गोल्डेन्सलाई ४० रनले हराउँदै धनगढी प्रिमियर लिग (डिपिएल) मा विजयी सुरुआत गरेको छ। टस जितेर अत्तरियालाई ब्याटिङका लागि निम्त्याएको काठमाडौंले राम्रो सुरुआत गरेको थियो। मध्यम गतिका बलर सोमपाल कामीले पहिलो ओभरमै अत्तरियाका ओपनर सन्दीप सुनारलाई ४ रनमा पवेलियन फर्काए। दिलीप नाथ र रोशन नेपालीले अत्तरियाको इनिङ सम्हाल्ने प्रयास गरेका थिए। तर मञ्जित श्रेष्ठले रोशनलाई सोमपालबाट क्याच गराए। त्यसपछि अत्तरियाले निरन्तर विकेट गुमायो। दिलीपलाई सन्तोष भट्टले ‘कट एन्ड बोल्ड’ गरे। कप्तान ज्ञानेन्द्र मल्ले पनि लामो इनिङ खेल्न सकेनन्। उनी ७ रनको स्थितिमा रनआउट भए। लगत्तै मेहबुब आलम पनि २ रन बनाएर रोहितकुमार पौडेलको बलमा सन्दीप झोराकोबाट क्याच भए।

बाह्रौं ओभरको पहिलो बलमा मेहबुब आउट हुँदा अत्तरिया ५७ रनको स्थितिमा थियो। ५६–५ को कठिन अवस्थामा रहेको अत्तरियाको इनिङ योगेन्द्रसिंह र ज्ञानेन्द्र कुँवरले उकासेका थिए। दुईले छैटौं विकेटका लगि ६९ रनको साझेदारी गरेपछि अत्तरिया सम्मानजनक स्कोरतर्फ लम्किएको थियो।

४१ बलमा ७ चौका र १ छक्का प्रहार गरेका योगेन्द्रसिंह १९औं ओभरको तेस्रो बलमा आउट भए। उनलाई सोमपाल कामीले रोहितकुमारबाट क्याच गराएका थिए। योगेन्द्रसिंह आउट हुँदा अत्तरिया १२६–६ को स्थितिमा थियो। त्यसपछि ज्ञानेन्द्र कुँवरले प्रदीप ऐरीसँग अविजित २० रनको साझेदारी गरेपछि अत्तरियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४६ रनको योगफल खडा गरेको थियो। ज्ञानेन्द्र कुँवरले २३ बलमा ५ चौकासहित अविजित ३४ रनको योगदान गर्दा प्रदीपले ५ बलमा १ चौका र १ छक्का हान्दै १३ रनमा अविजित रहे।

काठमाडौंका सोमपालले २ विकेट लिँदा मञ्जित, सन्तोष र रोहितकुमारको नाममा १/१ विकेट रह्यो।

१ सय ४७ रनको मध्यम स्कोर पछ्याएको काठमाडौंका सोमपाल र सन्तोष भट्टले बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। नवौं ओभरसम्म काठमाडौंले ३३ रन जोड्दा ७ विकेट गुमाइसकेको थियो। तर, सोमपाल र सन्तोषले आठौं विकेटका लागि ६१ रनको साझेदारी गरेपछि काठमाडौंले १ सय रनको आँकडा नघाएको थियो।

सोमपालले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४० रन जोड्दा सन्तोषले २३ बलमा ३ चौका र १ छक्कासहित ३१ रन बनाए।

अत्तरियाका अविनाशले ३.४ ओभरमा ११ रन दिएर ४ विकेट लिए भने विनोद लामाले ४ ओभरमा ९ रन दिएर ३ विकेट लिए। प्रदीप र शशी केशरीको नाममा १/१ विकेट रह्यो।

सोमबारै दोस्रो खेलमा शक्ति गौचनको रुपन्देही च्यालेन्जर्सले विनोद भन्डारीको कन्चनपुर आइकोनिकलाई १४ रनले हराएको छ। टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो।

ओपनर हरिशंकर शाह र शंकर रानाले पहिलो विकेटका लागि ६० रनको साझेदारी गर्दै रुपन्देहीलाई राम्रो शुरुआत दिलाएका थिए। १८ बलमा ३ चौकासहित १९ रन जोडेका शंकरलाई सुनिल धमलाले सागर पुनबाट क्याच गराए। लगत्तै हरिशंकर पनि रनआउट भएपछि रुपन्देहीले निरन्तर विकेट गुमायो।

अन्तिम थापा ९, राजेश पुलामी ५ र पुष्प थापा ८ रन बनाएर पवेलियन फर्किएपछि प्रकाश केसीले कप्तान शक्ति गौचनसँग २३ तथा विक्रम सोबसँग ३४ रनको साझेदारी गर्दै रुपन्देहीलाई सम्मानजनक स्कोरतर्फ डोर्‍याएका थिए। प्रकाशले २३ बलमा २६ रन बनाउँदा शक्तिले २० बलमा १६ रन जोडे। विक्रम सोब १५ रनमा अविजित रहे।

कन्चनपुरका कुशल भुर्तेलले ४ ओभरमा ३६ रन दिएर ४ विकेट लिए भने अविनाश कर्णको नाममा २ विकेट रह्यो।

ओपनर सागर पुन र सुनिलले राम्रो शुरुआत गरे पनि अन्यले उल्लेख्य प्रदर्शन गर्न नसक्दा कन्चनपुरले १ सय ४६ रनको लक्ष्य पूरा गर्न सकेन। सागर र सुनिलले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए। सागरले ३८ बलमा २ चौका र २ छक्कासहित ३९ रन बनाउँदा सुनिलले ३५ बलमा २ चौका र १ छक्कासहित २८ रन बनाए।

त्यसपछि कुशल भुर्तेलले १३ बलमा ३ चौका र २ छक्का हान्दै २७ रन बनाएर टोलीलाई जिततर्फ डोहर्‍याउने प्रयास गरेका थिए। उनले कमलसिंह ऐरीसँग आठौं विकेटका लागि २० तथा अविनाशसँग १५ रनको अविजित साझेदारी गरेका थिए। अविनाशले ९ बलमा २ चौका र १ छक्कासहित अविजित १५ रन जोडे।

रुपन्देहीका कृष्ण कार्की र शाहब अलामले समान २/२ विकेट लिँदा शक्तिको नाममा २ विकेट रह्यो। दीपेश श्रेष्ठले १ विकेट लिए।

प्रकाशित: २९ चैत्र २०७३ ०४:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App