coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आइजिपी अर्यालको २९ नम्बरकोे संयोग

गृहसचिव लोकदर्शन रेग्मीबाट दर्ज्यानी हिह्न लगाएर सोमबार राति साढे ११ बजे गृहमन्त्रालयबाट बाहिरिँदै नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल। तस्बिर : विजय राई

काठमाडौं- दाङका प्रकाश अर्याल २०४४ चैत २९ मा नेपाल प्रहरीको प्रहरी निरीक्षकमा पास भए। संयोग, प्रहरी संगठनमा प्रवेश गरेको ठ्याक्कै २९ वर्षमा उनी संगठनको २५औं प्रहरी महानिरीक्षक बनेका छन्। २९ को संयोगले नियुक्तिमा मात्रै उनलाई पच्छ्याएको छैन, प्रहरी नियमावलीमा कुनै संशोधन नभए २०७४ चैत २९ मा ३० वर्षे अवधिका कारण उनी सेवानिवृत्त हुनेछन्।

सरकारले कार्य सम्पादन मूल्यांकनमा अर्याल पहिलो नम्बरमा रहेको भन्दै नियुक्तिको निर्णय गरेको हो।

दाङ घोराहीका अर्याल सानै हुँदा बाबु हराएका थिए। आमाको लालनपालनमा हुर्काएका उनले साथीभाइको लहलहैमा प्रहरी निरीक्षकमा आवेदन दिएका थिए। शारीरिक अभ्यास, लिखित र मौखिम परीक्षा दिए, चैत २९ मा नतिजा आउँदा उनको नाम पहिलो नम्बरमै थियो।

२०४५ जेठ २ मा प्रहरीको आधारभूत तालिम लिन महाराजगन्जको तालिम केन्द्रमा प्रवेश गरेका उनी २०४६ जेठ २ मा प्रहरी निरीक्षकको दर्ज्यानी चिह्न लगाएर तालिम केन्द्रबाट बाहिरिएका थिए।

आइजिपी नियुक्तिको प्रक्रिया र आधारबारे सरकार र सर्वोच्च अदालतबीचको रस्साकस्सीमाझ 'कार्यसम्पादन मूल्यांकनलाई आधार बनाउँदै आइजिपी नियुक्त गर्न' अदालतबाट आदेश आयो। सरकारले कार्यसम्पादनमा अर्याल अगाडि रहेको भन्दै सोमबार बेलुका ९ बजे उनलाई आइजिपी नियुक्तिको निर्णय गर्‍यो।

साढे १० बजे गृहसचिव लोकदर्शन रेग्मीले उनलाई आइजिपीको दर्ज्यानी चिह्न लगाइदिए। गृहबाट सीधै प्रहरी प्रधान कार्यालय प्ुगेर पदभार ग्रहण गरी आफ्नै निवास डल्लु पुग्दा घडीको सुईले १२ टेकिसकेको थियो।

अदालतले खोलिदियो बाटो

२०४४ सालमा प्रहरीमा भर्ना भई २०६९ पुस ४ मा एसएसपीबाट डिआइजीमा बढुवा भएका चारजनाबाट प्रहरी संगठनको नेतृत्व चयन हुने भएपछि अर्यालसमेत प्रतिस्पर्धामा थिए। चारजनामध्ये वरियतामा अर्याल दोस्रो नम्बरमा थिए। पहिलोमा नवराज सिलवाल, तेस्रोमा जयबहादुर चन्द र चौथोमा बमहादुर भण्डारी थिए।

सरकारले फागुन १ मा चन्दलाई आइजिपी नियुक्त गरेपछि संगठनको नेतृत्व सम्हाल्ने उनको बाटो बन्द भएको थियो। चन्दलाई आइजिपी नियुक्त गर्ने सरकारको निर्णय चैत ८ मा सर्वोच्च अदालतले खारेज गरेको थियो।

सरकारले फागुन १ मा चन्दलाई नियुक्ति निर्णय गरे पनि उनले दर्ज्यानी चिह्न लगाउनुअगाडि नै अदालतबाट अन्तरकालीन आदेश आयो र उनले पदभार ग्रहण गर्नै पाएनन्। दुई महिना लामो रस्साकस्सीबीच सोमबार सरकारले कार्यसम्पादन मूल्यांकनमा अर्याल पहिलो नम्बरमा रहेको भन्दै नियुक्तिको निर्णय गर्‍यो।

व्यापार प्रशासनमा स्नातकोत्तर गरेका अर्याल अमेरिकाको एफबिआई ग्र्याजुएटसमेत हुन्। २०५२ मा डिएसपी, २०६१ मा एसपी भएका उनी २०६६ मा एसएसपी भएका थिए।

जिल्ला प्रहरी कार्यालय कास्की र अञ्चल प्रहरी कार्यालय लुम्बिनीमा काम गरेका उनी डिआइजी भएपछि केन्द्रीय अनुसन्धान ब्युरो, क्षेत्रीय प्रहरी कार्यालय हेटौंडा हुँदै महानगरीय ट्राफिक प्रहरी कार्यालयको प्रमुख भएका थिए। सरकारले हालै गरेको सरुवामा उनी अपराध अनुसन्धान विभागको निमित्त प्रमुख बन्न पुगेका थिए।

संगठनमा उनी योजना निर्माणमा दक्ष अधिकारीका रुपमा परिचित छन्। २९ वर्षीय कार्यकालमा सिआइबी प्रमुख हुँदा बरामद भएको ३५ किलो सुनको सुराकी विषयमा विवादमा तानिए पनि पछि उनले सफाइ पाएका थिए।

प्रकाशित: २९ चैत्र २०७३ ०३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App