७ वैशाख २०८१ शुक्रबार
समाज

चिटिक्क पारिँदै तीनकुने

काठमाडौं- ठाउँठाउँमा जस्तापाताले घेरिएको छ। भित्रपट्टि कतै फोहोर थुपारिएको छ त कतै निर्माण सामग्री राखिएको छ। बीच भागतिर गाडी सिक्ने ठाउँ छ। छेउतिर पार्किङ गरिएको छ। सहरको बीचमा रहेको करिब तीनकुनेको ४२ रोपनीे जग्गाको कुरुपता अब भने हट्ने भएको छ।

काठमाडौं महानगरपालिकाले तीनकुनेको जग्गा व्यवस्थित गर्न लागेको छ। यसअघि उक्त जग्गामा आध्यात्मिक एवम् धार्मिक पर्यटन केन्द्र बनाउने भने पनि उक्त कार्य गर्न ढिलाइ हुने भएपछि तत्कालै सजावट गर्ने भएको हो। ‘महानगरको योजनाअनुसार काम गर्न अलि समय लाग्ने देखिन्छ,’ महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘पहिलाको योजनालाई तत्कालको लागि थाती राखेर उक्त स्थानमा तत्कालै सजावट गर्न लागेका हौं।’ उनका अनुसार महानगरपालिकाले पूरै क्षेत्रफलमा दुबो रोपेर हरियाली कायम गर्ने योजना बनाएको छ। योजनाअनुसार जग्गामा खाली गर्ने तथा सम्हाउने काम थालिसकेको कार्कीले जनाए।

त्रिभुवन विमानस्थलबाट काठमाडौं प्रवेश गर्दा तीनकुनेको उक्त जग्गाले पर्यटकलाई काठमाडौं कस्तो फोहोर भन्ने पर्न सक्ने भन्दै महानगरले तत्कालै उक्त जग्गामा हरियाली प्रवर्द्धन गर्न लागेको जनाएको छ। ‘तीन महिनाभित्र तीनकुनेमा हरियाली देख्न पाउनुहुनेछ,’ महानगर प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले भने, ‘सहरका बासिन्दालाई बिहान मर्निङ वाक गर्नसमेत सुविधा हुनेछ।’ उनका अनुसार दुबो रोपेर हरियाली प्रवर्द्धनसँगै बीचबीचमा हिँड्न मिल्ने ट्रयाकसमेत राखिनेछ। बिहानको समयमा सहरका बासिन्दालाई व्यायाम गर्न उपयुक्त हुन सक्ने महानगरको अनुमान छ।

सरकारले २०३१ मा तीनकुनेको जग्गा अधिग्रहण गरेको थियो।  अधिग्रहण गरिएको जग्गामा सरकारले मुआब्जासमेत दिएको छ। तर, सबै जग्गाधनीले भने मुआब्जा लिएका छैन। यसका लागि महानगरपालिकाले सोमबार सूचना निकालेर मुआब्जा नलिएकाले मुआब्जा लिनसमेत सूचना जारी गरेको छ।

प्रकाशित: २९ चैत्र २०७३ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App