coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

जन्मथलोमा आदिकविको सम्झना

चुँदीफाँट(तनहुँ)-राष्ट्रिय विभूति, आदिकवि भानुभक्त आचार्यको २०३ औं जन्मजयन्तीको अवसरमा उनको जन्मस्थल बुधबार चुँदीरम्घामा विभिन्न कार्यक्रम गरी आचार्यलाई स्मरण गरिएको छ।

रम्घागाउँ स्थित आचार्यको घर परिषरमा रहेको उनको प्रतिमामा माल्यअर्पण गरि पुजाअर्चना गरि पञ्चेबाजागाजा सहित प्रभातफेरी गरिएको थियो। त्यस्तै, पञ्चकन्याबाट रामायण बाचन तथा जयघोष गर्दै रम्घाबाट चुँदीफाँट स्थित भानु जन्मस्थल विकास समितिको कार्यालय फर्किएर साहित्यिक रचना पाठ, खुल्ला कविता बाचन, कवि गोष्ठी, साँस्कृतिक कार्यक्रम, भानुको पूर्णकदको प्रतिमामा पुष्पअर्पण, तथा व्यक्तित्व एवं चरित्र चित्रण गरी उनको स्मरण गरियो।

नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठको प्रमुख आतित्थ्यमा चुँदीफाँटमा आयोजित औपचारिक कार्यक्रममा विभिन्न साहित्यकारहरुले भानुभक्तको जीवनी सँग सम्बन्धित कविता वाचन गरे। कार्यक्रममा रामायण वाचन सँगै लोकदोहोरी कलाकारहरु तारापति सुवेदी, आरती खड्का, लक्ष्मी मल्ल, हाँस्यकलाकार सुरजविर खोईरे लगायतले सांगीतिक तथा हाँस्य व्यांग्यात्मक प्रस्तुति समेत गरेका थिए । कार्यक्रमकै अवसरमा भानु नगरपालिका भित्रका चुँदीफाँट, रम्घा, सेपाबगैंचा, पुरन्डीहि, शिखरकटेरी, चन्द्रावती लगायतका स्थानबाट आएका विभिन्न समुहले झाँकी प्रर्दशनी पनि गरेका थिए। सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले भानुभक्तले असल कर्म गरि नेपाली भाषा, साहित्यमा अतुलनीय योगदान दिनुका साथै नेपालीको शिर उँचो बनाएको चर्चा गरे । आचार्यको जन्मस्थल र आसपासमा आवश्यक संरचनाहरु निर्माण गरि एउटा ऐतिहासिक र पर्यटकीय गन्तव्यका रुपमा विकास गराउन सबैपक्ष लाग्नु पर्नेमा पनि उनले जोड दिए। 

 भानु जन्मस्थल विकास समितिका अध्यक्ष विष्णुहरि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले तनहुँका अध्यक्ष केदार सिग्देल, विकास समितिका पूर्वअध्यक्षहरु अर्जुनबहादुर अधिकारी, श्रीभक्त आचार्य, समितिका पूर्व कार्यकारी निर्देशक नविनराज दाहाल, समितिका सदस्य शंकर रानाभाट, सञ्चारकर्मी प्रदीप काफ्ले लगायतले आदिकवि आचार्यको व्यक्तित्व, कृतित्व र चरित्र माथि प्रकाश पार्दै आचार्यको स्मरण गरेका थिए ।

भानु जन्मस्थल विकास समितिले रम्घागाउँ स्थित आचार्यको जन्मथलोमा संरक्षण कार्य गर्नुको साथै रम्घा नजिकै शिखरकटेरीमा १६ कोठे पक्की रामायण भवन र पुरन्डीहीमा करिब १० रोपनी क्षेत्रफलमा भानुस्मृति पार्क निर्माण कार्य गरिरहेको कार्यकारी निर्देशक शंकर रानाभाटले बताए । यता, चुँदीफाँट स्थित विकास समितिको कार्यालयमा भानुभक्त सँग सम्बन्धि पुस्तक, पत्रपत्रिका तथा काजगातहरु संकलन गरिएको पुस्तकालय, आचार्यले प्रयोग गरेका घरायसी सामाग्री राखिएको संग्रहालय, फोटो प्रर्दशनी कक्षको व्यवस्था गरिएको पनि निर्देशक रानाभाट बताउँछन्।

 

प्रकाशित: २९ असार २०७३ ११:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App