coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजनीतिक गतिविधि बढ्यो

पोखरा- स्थानीय तह निर्वाचनले जिल्लाको राजनीतिक गतिविधि ह्वात्तै बढाएको छ। केही दिनअघिसम्म बैठकमा मात्र सीमित राजनीतिक दलका नेताकार्यकर्ता अहिले चुनावी गतिविधि बढाउँदै गाउँस्तरसम्म व्यस्त भएका छन्।

उम्मेदवार चयन प्रक्रिया, भेला, बैठक, आमसभा र मतदाताको घरदैलो अभियानमा दलको व्यस्तता बढेको हो। मुख्य राजनीतिक दल कांग्रेस, एमाले, माओवादी केन्द्रले निर्वाचन लक्षित कार्यक्रम गरिरहेका छन्।

निर्वाचन गतिविधि बनाउनकै लागि एमालेले केही दिनअघि पोखरामा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आमसभा गर्‍यो। कांग्रेसले बुधबार पार्टी सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेताको सहभागितामा प्रदेशस्तरीय आमसभा गर्ने तयारी गरेको छ। एमाओवादी केन्द्रले पनि प्रदेशस्तरीय सभा गर्ने योजना बनाएको छ।

दलहरूले आमसभाबाहेक भ्रातृ संगठनसँग पनि छलफल चलाएका छन्। कार्यकर्ता भेटघाट, पार्टी प्रवेशका गतिविधि पनि बढेका छन्। एकअर्का पार्टीबाट कार्यकर्ता आफ्नोमा तान्न दलहरू लागिपरेका छन्। महानगरपालिका र गाउँपालिकाका वडासम्म अहिले दिनहुँ कुनै न कुनै दलका कार्यक्रम भइरहेका छन्।

कांग्रेस कास्कीका सभापति कृष्ण केसीले १२ हजार भन्दा बढी क्रियाशील सदस्यलाई निर्वाचन केन्द्रित कार्यक्रममा लाग्न निर्देशन दिइएको बताए। 'प्रचारप्रसारका कार्यक्रमसहित आमसभाको तयारी पनि गरेका छांै। आमसभापछि हाम्रा गतिविधि झनै बढ्नेछन्,' उनले भने, 'निर्वाचनमा कसरी विजयी हासिल गर्ने र त्यसका लागि कस्तो घोषणापत्र बनाउने भनेर समेत कांग्रेसले तयारी थालेको छ।'

सभापति केसीका अनुसार एकअर्का गाउँपालिका र महानगरकै वडाभित्र फरक हुने गरी स्थानीय तहको घोषणापत्र बनाउने तयारी कांग्रेसले गरेको छ। 'पोखरा र आसपासका क्षेत्रको विकासको अवधारणाअनुसार हामीले स्थानीय स्तरमा पनि घोषणापत्र बनाउँदैछौं। केन्द्रले समग्र पार्टीको घोषणापत्र तयार पार्दैछ,' उनले भने। उनले एकल महिला, दलित, जनजाति, पिछडिएका सबै वर्ग र समुदायलाई साथ लिएर निर्वाचनको तयारी थालेको बताए।

एमालेले पनि निर्वाचनका गतिविधि बढाएको छ। पार्टीको प्रदेश–४ को संगठन कमिटी बैठकले प्रदेश निर्वाचन परिचालन कमिटी गठन गरेको छ। प्रदेश प्रमुख किरण गुरुङ संयोजक रहने गरी पार्टी प्रदेश संगठन कमिटी र निर्वाचन परिचालन कमिटी गठन गरिएको हो। एमाले कास्कीका प्रचार विभाग प्रमुख तेजनारायण अधिकारीले पार्टी निर्वाचनमा केन्द्रित भएको बताए।

उम्मेदवारी दिँदा पार्टीलाई योगदान पुर्‍याएका पुराना र ऊर्जाशील व्यक्तिलाई प्राथमिकता दिइने अधिकारीले बताए। 'गाउँपालिकामा उम्मेदवार टुंगो लगाउन भिन्नै टिम तयार भएको छ।  त्यही टिमले मापदण्डभित्र रहेर उम्मेदवार तय गर्नेछ,' उनले भने, 'त्यसबाहेक निर्वाचन प्रचारप्रसारका लागि वडामा भेला बैठक गर्ने, विभिन्न उपसमिति बनाउने काम भइरहेको छ।'

एमाओवादी केन्द्रले पनि निर्वाचन गतिविधि तीव्र पारेको छ। एमाओवादी केन्द्रका कास्की सह–इन्चार्ज जीवन बरालले चुनावका लागि आन्तरिक रूपमा भेला, बैठक, सभासम्मेलन गरिरहेको जानकारी दिए। 'एक तहमा हाम्रा भेला, बैठक सम्मेलन सकिएका छन्', उनले भने, 'गाउँपालिका र महानगरका सबैजसो वडाका सम्मेलन सकेका छौं। अब थप प्रचारप्रसारको योजना छ।'

एमाओवादी केन्द्रले छिटोभन्दा छिटो गाउँपालिका र वडाबाट उम्मेदवारको सिफारिस गर्न स्थानीय नेतृत्वलाई निर्देशन दिएको उनले बताए। 'आमसभा, टोलटोलमा भेला, बैठक नियमित जसो भइरहेका छन्। चुनावी गतिविधि नभएको कुनै पनि दिन खाली  छैन', बरालले भने।

मनाङमा कांग्रेसको गतिविधि तीव्र

हिमालपारिको जिल्ला मनाङमा कांग्रेसले चुनावी गतिविधि तीव्र्र पारेको छ। चारवटा गाउँपालिका रहेको मनाङमा कांग्रेसका जिल्ला तह र गाउँपालिका तहका नेताहरु भोट माग्दै मतदाताको घरदैलामा पुग्न थालेका छन्।

कांग्रेस मनाङका सचिव विनोद गुरुङले निर्वाचनको तयारीका लागि आफूहरू गाउँगाउँमा खटिएको बताए। उनले भने, 'चारवटै गाउँपालिकामा हाम्रो उपस्थिति बलियो बनाउने गरी निर्वाचनको तयारी गरेका छौं।'

निर्वाचनमा आफ्नो पक्षमा जनमत बनाउन कांग्रेसले गाउँलेसँग भेला, बैठक गरेको उनले बताए। 'कांग्रेसको गतिविधि गाउँगाउँमा भएका छन्। कुनै पनि हालतमा चारवटै गाउँपालिकामा विजयी हुने लक्ष्य राखेका छौं', उनले भने।

प्रकाशित: २९ चैत्र २०७३ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App