७ वैशाख २०८१ शुक्रबार
राजनीति

मधेसमा झगडाको बिउ नरोपौं : देउवा

दाङ- कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रवादको नारा लगाउनेहरूले नै मधेस र पहाडबीच झगडा पार्ने राष्ट्रघाती कदम चालिरहेको आरोप लगाएका छन्। 'एमालेका लागि यो दुर्भाग्य नै हो', चुनावी अभियानअन्तर्गत सोमबार तुलसीपुरमा आयोजित ५ नम्बर प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै उनले भने, 'मेलमिलापको बाटो अवलम्बन गर्नुको साटो नेपालकै भूभाग मधेसलाई अलग्गै मुलुक देख्ने काम सबैभन्दा राष्ट्रवादी कहलिएको दलले गरिरहेको छ।'

यसैगरी मधेसी समुदायलाई पहाडलाई गलत देख्न प्रेरित गरेका मधेसी दलहरू पनि राष्ट्रभावप्रति जिम्मेवार बन्नुपर्ने देउवाले बताए। देउवाले मधेस र पहाडले एकअर्कालाई सम्मान गर्ने वातावरण निर्माणमा लाग्न सबै दललाई सुझावसमेत दिए। 'मधेस र पहाडका बीचमा झगडा पारेर कसैलाई पनि फाइदा पुग्दैन, मुलुक कमजोर भएर जाने हो,' उनले भने, ' पहाडले मधेसलाई र मधेसले पहाडलाई सम्मान गर्ने वातावरण निर्माण गर्न सकेमात्रै मुलुकको हित हुनेछ।' स्थानीय तहको निर्वाचनलाई सर्वस्वीकार्य बनाएर संविधानको पूर्ण कार्यान्वयनको बाटोमा लाग्नुपर्ने सभापति देउवाले बताए।

देउवाले राष्ट्रवादका नाममा मधेसलाई गरिएको उपेक्षा ज्यादै अशोभनीय भएको बताए। राष्ट्रियता संरक्षणका लागि मधेसी नागरिक लडिरहेको उदाहरण दिँदै उनले भने, 'सुस्तालाई नेपाल हो भनेर भारतसामु दाबी गरिरहेका मधेसीहरू कसरी राष्ट्रघाती भए?' मधेसी जनता नेपाल–भारत सीमा क्षेत्रको संरक्षणकर्ताका रूपमा रहेको देउवाको भनाइ थियो। 'बोर्डरमा बसेर नेपालको सीमा सुरक्षा गरिरहेका मधेसी नागरिकलाई राष्ट्रघाती देख्ने हामी कसरी राष्ट्रवादी भयौं?' उनले एमालेलाई लक्षित गर्दै भने, 'मधेस पनि नेपाल हो, मधेसीहरू नेपाली हुन् भन्ने सत्यबाट मुक्त भएर अनावश्यक भ्रम सिर्जना गरिएको छ।' उनले संविधान संशोधन प्रक्रिया टुंग्याएर मधेसी नागरिकलाई अधिकार पाएको महसुस दिलाउनुपर्ने बताए।

वरिष्ठ नेता रामचन्द्र पौडेलले समृद्ध मुलुक निर्माणका लागि मेलमिलापको बाटो अपनाउनुपर्ने बताए। मधेसमा सद्भावको बिउ रोपिनु जरुरी रहेको भन्दै उनले विभाजनको बिउ रोपेर राष्ट्रियता बलियो नहुने बताए। 'अहिले मधेसमा सद्भावको बिउ रोपिनु जरुरी छ,' उनले भने 'तर विभाजनको बिउ रोपेर विकराल स्थिति बनाउन खोजिँदैछ। यसले राष्ट्रियता बलियो बन्दैन।' एमालेले निर्वाचनको संघारमा अनावश्यक भ्रम फिँजाइरहेको आरोप पौडेलले लगाए।

महामन्त्री डा. शशांक कोइरालाले जनता भड्काएर विभाजित गर्ने काम भइरहेको बताए। 'मधेसलाई गम्भीर ढंगले बुझ्न जरुरी छ', उनले भने, 'राष्ट्रघातीको बिल्ला भिराएर उनीहरूलाई चिढ्याउने काम रोकिनुपर्छ।' संविधान कार्यान्वयनको प्रमुख चरणमा मुलुक रहेको भन्दै महामन्त्री कोइरालाले यो अभियानमा सबैको हातेमालो हुनु जरुरी रहेको बताए। 'स्थानीय तहको निर्वाचन संविधान पूर्ण कार्यान्वयनको खुड्किलो हो,' उनले भने, 'त्यसैले यो निर्वाचन सर्वस्वीकार्य बनाउने दिशामा दलहरू लाग्नुपर्छ।' पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि 'तातो पिरो' कुरा गरेर सामाजिक एकतालाई भत्काउने काम दलहरूले गर्न नहुने बताए। 'मधेसलाई भड्काएर राष्ट्रलाई मजबुत बनाउन सकिँदैन,' उनले भने 'तातोपिरो कुरा गरेर सामाजिक एकतालाई भत्काउने काम बन्द गरौं।'

'अन्तरघातीहरू पार्टीमा रहने छैनन्'

कांग्रेस शीर्ष नेताहरूले स्थानीय निर्वाचनमा 'अन्तरघात' भए त्यो पार्टीलाई सह्य नहुने चेतावनी दिएका छन्। अन्तरघात गर्नेको साधारण सदस्यता खारेज गरेर निष्कासन गरिने चेतावनी नेताहरूको छ। 'पार्टीमा बागी उम्मेदवार बन्ने र आफ्ना उम्मेदवारलाई भोट नहालेर फरकलाई भोट हाल्ने अन्तरघातीले पार्टीबाट सदासदाका लागि बिदा पाउने छन्,' सभापति देउवाले भने, 'एक पटक बिदा भएपछि उनीहरू कहिल्यै पनि कांग्रेसमा जोडिन पाउने पनि छैनन्।' वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि अन्तरघातको सोचाइबाट मुक्त भएर पार्टीलाई स्थानीय तहको निर्वाचनमा जिताउन सबै कार्यकर्तालाई आग्रह गरे। उनले मुलुकको हितका निम्ति स्थानीय निर्वाचनमा पनि कांग्रेसको जीत अनिवार्य भएको बताए। महामन्त्री डा. शेखर कोइरालाले पनि निर्वाचनमा अन्तरघात गर्नेहरू जोकसैले पनि माफी नपाउने चेतावनी दिए। 'अब विगतमा जस्तो हुने छैन, त्यति मजाक कसैले पनि नसोचौं', उनले भने, 'चुनावमा अन्तरघात गर्नेलाई साधारण सदस्यता नरहने गरी कारबाही गरिनेछ।'

प्रकाशित: २९ चैत्र २०७३ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App