८ वैशाख २०८१ शनिबार
अन्य

‘जिमखाना मेरो दोस्रो घर’

नेपाली फिल्म क्षेत्रमा ‘ज्यान बनाएका’ अभिनेतामध्ये एक हुन्, सविन श्रेष्ठ । उनी मिलेसम्म दिनहुँ काठमाडौँ, गौशलास्थित इन्द्रेणी फिटनेस सेन्टर धाउँछन् र व्यायाम गर्छन् । उनले आफ्नो जिमखानाभित्रको अनुभव नागरिक परिवारसँग बाँडेका छन्ः
आठ वर्षयता नियमित जिमखाना धाइरहेको छु । पहिला म निकै दुब्लो थिएँ । शरीरमा कपडा पनि राम्ररी फिट हुन्थेनन् । ऐनामा आफूलाई हेर्दा कसो–कसो लाग्थ्यो, नरमाइलो लाग्थ्यो । त्यही भएर मैले जिम ज्वाइन गरेँ । जिम जान थालेपछि मेरो शरीर पनि फिट भयो । अहिले त जिमखाना मेरो दोस्रो घर नै बनेको छ । फुर्सदको सबैभन्दा बढी समय यही बित्छ । सुटिङ हुँदा चाहिँ अलि समस्या पर्छ । नियमित जिम जान पाउँदिनँ । तर, फुर्सद भएसम्म जिम जान टुटाउँदिनँ । मेरो अनुभवमा जिम जाँदा शरीर स्वस्थ हुन्छ र तनाव कम हुन्छ ।
हरेक दिनका चार घण्टा जिममा बिताउँछु । प्रायः बिहान जिम गर्छु । जिमखानाभित्र पसिसकेपछि सुरुको १० मिनेटजति वार्मअपका लागि साइक्लिङ गर्छु । त्यसपछि हल्का फिजिकल एक्सरसाइज गर्छु । त्यसपछि, दैनिक तालिकाअनुसार व्यायाम गर्छु । दैनिक तालिकामा आइतवार छातीको अभ्यास गर्छु भने सोमवार बाइसेप, मंगलवार थाई,  बुधवार सोल्जर, बिहीवार ट्राइसेप र शुक्रवार ब्याक विङको वर्कआउट गर्छु । शनिवार चाहिँ आराम गर्छु ।
वर्कआउट गरिसकेपछि ऊर्जाका लागि प्रोटिनयुक्त खानेकुरा खान्छु । अण्डा, फलफूल प्रशस्त खान्छु । पर्याप्त पानी पिउँछु । खानपिन समयमा गर्छु । भात कम खान्छु । जंकफुड, फास्टफुड खाँदै खान्नँ भने पनि हुन्छ । समयमा सुत्छु ।
अहिले नयाँ फिल्मको तयारीमा छु । त्यसैले वजन बढाउनका लागि वर्कआउट गरिरहेको छु । अहिले मेरो तौल ८५ केजी छ । पाँच किलोजति बढाउनु छ । त्यसपछि सिक्सप्याक बनाउने लक्ष्य छ ।


‘मेहनती छन् सविन’
विजय महर्जन, सविनका जिम इन्स्ट्रक्टर
सविन जिमखानालाई आफ्नो दोस्रो घर ठान्छन् । दिनको चार घण्टा लगातार वर्कआउट गर्छन् । मैले जिम इन्स्ट्रक्टरका रूपमा काम गर्न थालेको छ वर्ष भयो । यो अवधिमा मैले भेटेका मेहनती विद्यार्थीमध्ये सविन एक हुन् । उनी फिल्मको क्यारेक्टअनुसार आफ्नो शरीरिक बनावटमा परिवर्तन ल्याउन खोज्छन् ।

 

प्रकाशित: २८ चैत्र २०७३ ११:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App