८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

जी सेभेनका मन्त्रीहरुको बैठकको मुख्य एजेन्डा सिरिया र रुस

इटली – विश्वका सातवटा ठूला औद्योगिक राष्ट्रहरुको समूह जी सेभेनका विदेशमन्त्रीहरुको बैठकको मुख्य विषय सिरिया र रुसलाई बनाइएको छ । 

बैठकमा लिविया, इरान र युक्रेनप्रति अमेरिकाले गरिरहेको व्यवहार र ती देशमा भइरहेको द्वन्द्वका बारेमा पनि छलफल हुने बताइएको छ । 

इटलीमा सोमबारदेखि दुई दिनसम्म चल्ने बैठकमा अमेरिकाले सिरिया माथि गरेको हवाई हमलाको बारेमै छलफल बढी केन्द्रीत हुने देखिएको छ । 

सिरियाको विद्रोहीहरुले नियन्त्रण गरेको ठाउँमा गत हप्ता रासायनीक आक्रमण भएको थियो भने त्यसको प्रतिकार र जवाफ स्वरुप भन्दै अमेरिकी विमानबाट पनि आक्रमण गरिएको थियो । 

रासायनिक आक्रमण सिरिया सरकारले गरेको भन्ने विद्रोही, विपक्षी, अमेरिकालगायतको आरोपलाई सिरिया सरकारले भने खन्डन गर्दै आएको छ । 

सिरियामा लामो समयदेखि गृहयुद्ध भइरहेको छ । द्वन्द्वरत पक्षमध्ये सरकारी पक्षलाई रुसलगायतका देशले सहयोग गरिरहेका छन् भने विद्रोहीहरुलाई अमेरिकालगायतका देशले सहयोग गरिरहेका छन् । 

जी सेभेनको बैठकका लागि अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली र जापानका विदेश मन्त्रीहरु इटली पुगेका छन् । इटलीको लुका सहरमा बैठक गर्ने तय भएको हो । 

जी सेभेनको बैठकपछि जी सेभेनका विदेश मन्त्रीहरुले टर्की, युएई, साउदी अरव, जोर्डन र कतारका समकक्षीहरुसँग पनि भेटबार्ता गर्ने कार्यक्रम रहेको छ । 

अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनले यसै हप्ताको अन्त्यतिर रुसको भ्रमण गर्ने कार्यक्रम यसअघि नै तय भइसकेको छ । उनले रुसको राजधानी मस्कोमा आफ्ना रुसी समकक्षी सेर्गेइ लाभ्रोभसँग भेटवार्ता गर्ने तालिका रहेको छ । 

तर रुस भ्रमण गर्ने बेलायतका विदेश मन्त्रीको भ्रमण भने सोमबार रद्ध भएको छ । आफ्नो प्राथमिकता परिवर्तन भएकाले आफ्नो भ्रमण पनि रद्ध गरिएको उनले स्पष्ट पारेका छन्। रासस/एएफपी 

 

प्रकाशित: २८ चैत्र २०७३ १०:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App