आमा बनेपछि शरीर पहिलेजस्तो आकर्षक रहँदैन भन्ने सोच धेरै महिलाहरूको हुन्छ । तर, काठमाडौँ, कीर्तिपुरकी ननिता मर्हजन आमा बनिसकेपछि पनि फिट र आकर्षक छिन् । त्यति मात्रै होइन, ननिताले विश्व फिजिक स्पोट्र्स महासंघले थाइल्यान्डमा आयोजना गरेको आठौँ विश्व शारीरिक सुगठन प्रतियोगितामा कास्य पदकसमेत जितेकी छिन् ।
तीन वर्षअघि ननिता ७१ केजीकी थिइन् । मोटोपनले उनलाई हैरान पारेको थियो । उनी माइग्रेसनको सिकारसमेत थिइन् । ‘माइग्रेसनको औषधि खाँदा–खाँदा हैरान भइसकेकी थिएँ,’ उनले भनिन्, ‘डाक्टरले जीवनभर औषधि खाइरहनुपर्ने भनेपछि झन् तनाव भयो ।’
ढाड दुख्ने समस्याले पनि उनलाई त्यतिकै दुःख दिएको थियो । यी सब समस्याबाट मुक्तिका लागि उनका श्रीमान्ले फिटनेस सेन्टर जाने सल्लाह दिए । ‘श्रीमान्को सल्लाह मेरा लागि वरदान साबित भइदियो,’ उनी भन्छिन् ।
अहिले ननिताको ज्यान छरितो छ । ‘पहिलेको मोटो र भद्दा शरीरबाट मैले छुटकारा पाइसकेँ,’ उनी भन्छिन्, ‘सताउनुसम्म सताएको माइग्रेसन र ढाडको समस्या हटिसक्यो ।’ ननिताकी सात वर्षकी छोरी छिन् ।
ननिताको दिनचर्या
व्यायाम
नियमित जिम क्लब जान्छु । प्रत्येक दिन त्यहाँ गएर दुई घण्टाजति व्यायाम गर्छु ।
खाना
पहिले डाइट चार्ट फलो गर्थें । अहिले भने सामान्य नेपाली खाना नै खान्छु । तर, मेरो खानामा चिल्लो र पिरो भने कम हुन्छ । पानी धेरै पिउँछु । दिनमा पाँच÷छ लिटर पानी नियमित खान्छु ।
निद्रा
दैनिक आठ घण्टा सुत्नैपर्छ । म पनि आठ घण्टा सुतेकै हुन्छु । बिहान छ बजे उठ्छु र राति ११ बजेभन्दा अगाडि सुतिसक्छु ।
प्रकाशित: २८ चैत्र २०७३ १०:२४ सोमबार