८ वैशाख २०८१ शनिबार
अन्य

बलिउडका शक्तिशाली वंश

भारतीय फिल्म उद्योग बलिउडमा केही परिवार वा वंशको उपस्थिति बलियो छ । कुनै खलकको जिजुबुबादेखि पनाति पुस्तासम्मले यहाँको मनोरञ्जन उद्योगमा योगदान गरेका छन् । बलिउडमा शक्तिशाली तथा प्रभावशाली केही परिवारले एक खालको राज नै गरेका छन् भन्न सकिन्छ ।

कपुर
कपुर घराना सुपरस्टारहरूको घराना हो । पृथ्वीराज कपुरको प्रवेशले अभिनय जगत्मा यो परिवारको खाता खोलेको थियो । त्यसयता उनका शाखा–सन्तानले बलिउडका ‘डाँडाकाँडा’ ढाकेका छन् । पृथ्वीराजका तीन छोरा राज, शम्मी र शशीदेखि नातिहरू ऋषि (उनकी पत्नी नितुसमेत), रणधीर र राजीव सबै चर्चित कलाकार हुन् । चौथो पुस्ताका करिश्मा, करिना र रणवीरले पनि कपुर खानदानको अभिनय प्रसिद्धिमा इँटाहरू थपेका छन् ।
खान
अभिनय क्षमता तथा प्रतिभामा बहस गर्न सकिए पनि बलिउडमा सलमान खानको प्रभाव, सफलता र वर्चस्वलाई कसैले नकार्न सक्दैन । आफ्नो समयका सफल स्क्रिप्ट लेखक सलिम खान (जसले जावेद अख्तरसँग मिलेर ‘शोले’जस्तो अत्यन्त लोकप्रिय फिल्मको स्क्रिप्ट लेखेका थिए) का तीनभाइ छोरा सलमान, अरबाज र सोहेल बलिउडमा सक्रिय छन् । यद्यपि, अरबाज र सोहेल सलमान जति सफल छैनन् । अरबाजसँग अहिले सम्बन्ध विच्छेद गरिसकेकी चर्चित नृत्यांगना मलाइका अरोरा पनि केही समयअघिसम्म यो परिवारको शान थिइन् ।

देओल
बलिउडका ‘हिम्यान’ कहलिएका धर्मेन्द्रबाट देओल परिवार भारतीय फिल्म उद्योगमा जम्न पुग्यो । उनी आफ्नो समयका लोकप्रिय कलाकार थिए । उनकी दोस्रो पत्नी हेमा मालिनी बलिउडले हासिल गरेका सुन्दर अभिनेत्रीमध्ये एक हुन् । आफ्नो पालामा उनी करोडौँ मानिसकी स्वप्न सुन्दरी थिइन् । धर्मेन्द्रका दुई छोरा सनी र बबी देओलले पनि बलिउडमा आफ्नो ‘स्पेस’ बनाएका छन् । हेमाकी कान्छी छोरी इशाले भने फिल्म उद्योगमा गतिलो पहिचान बनाउन सकिनन् ।

मुखर्जी
मुखर्जी खलकका थुप्रै प्रतिभाशाली सदस्यले बलिउडमा योगदान गरेका छन् । फिल्मस्तान स्टुडियोका संस्थापक तथा निर्माता सशाधर मुखर्जीका छोरा शोमु मुखर्जी फिल्म लेखक, निर्माता र निर्देशक थिए भने अर्का छोरा देव मुखर्जी अभिनेता थिए । शोमुकी छोरी काजोलले बलिउडमा आफ्नो अभिनयको डंका पिटिसकेकी छिन् । सशाधरका दाजु रविन्द्रमोहनकी नातिनी रानी मुखर्जी पनि बलिउडकी प्रसिद्ध अनुहार हुन् । त्यस्तै, ‘ये जवानी है दिवानी’, ‘वेक अप सिड’ र ‘स्वदेश’ फिल्मका निर्देशक अयान मुखर्जी अभिनेता देवका छोरा हुन् ।
रोशन
बलिउडमा प्रभाव जमाउन सफल अर्काे परिवार हो, रोशन परिवार । प्रसिद्ध संगीतकार रोशन लाल नागरथले फिल्म उद्योगमा यो परिवारको जग राखेका थिए । उनका दुई छोरा राकेश र राजेशले बाउको बिँडो थामे । राकेश अभिनयमा पनि लागे । उनका छोरा ऋतिक रोशन अहिले बलिउडका नामी र सफल कलाकार हुन् ।

बच्चन
बलिउडमा बच्चन परिवारको आफ्नै नाम छ, धाक छ, प्रतिष्ठा छ । ‘मेगा स्टार’ अमिताभ बच्चन आफैँमा एउटा किंवदन्ती हुन् भने उनकी पत्नी जया आफ्नो समयकी लोकप्रिय र जल्दीबल्दी अभिनेत्री थिइन् । अमिताभ–जयाका छोरा अभिषेक पनि बलिउडमा सक्रिय छन् । यद्यपि, उनले आमाबाबुको जस्तो सफलता भने हासिल गरेका छैनन् । यो प्रसिद्ध परिवारमा बुहारी ऐश्वर्या राय बच्चनले प्रभाव र शक्ति थपिदिएकी छिन् ।

प्रकाशित: २८ चैत्र २०७३ १०:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App