८ वैशाख २०८१ शनिबार
समाज

एउटै योजनाबाट पानी घट्ट र विजुली

खोटाङ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा पानीघट्ट सहितको बिद्युत उत्पादन गरिएको छ । १८ लाख ५० हजारको लागतमा स्थानीय देखुमे छिरुवा खोलाबाट एकैसाथ विद्युत र पानीघट्ट चल्ने सुधारिएको पानीघट्ट विद्युतीकरण योजना सञ्चालनमा ल्याइएको हो ।

एउटै नहरबाट खसाइएको पानीलाई विद्युत उत्पादन र पानी घट्ट चलाउनमा उपयोग गरिएको उपभोक्ता समितिका अध्यक्ष भुवन राईले बताए । ९ महिनामा पूरा भएको एउटै आयोजनाबाट सुधारिएको पानी घट्ट सहित ४ किलोवाट क्षमताको विद्युत उत्पादन गरिएको छ । 

एकैसाथ विद्युत र पानी घट्ट चल्ने योजना सञ्चालनमा आएपछि खार्मीका ६१ घरधुरी लाभान्वित भएका छन् । एउटै योजनाबाट विद्युत र सुधारिएको पानी घट्ट उपयोग गर्न पाएपछि स्थानीय हर्षित बनेका छन् । विद्युत र घट्ट चल्ने योजना पूरा भएपछि गाउँ झिलीमिली बनेको छ भने स्थानीयलाई अन्न पिस्न सहज भएको छ । मोबाईल, एलइडी टिभी लगायतका विद्युतीय उपकरण चार्ज गर्न समेत सहज भएको स्थानीयले बताएका छन् । 

गाउँमा पानी घट्ट र विद्युत बिस्तारका लागि गत असारबाट योजनाको काम सुरु गरिएको थियो । हिमाली क्लव दिक्तेलको सामाजिक परिचालनमा सुधारिएको पानीघट्ट बिद्युतीकरण योजना पूरा गरिएको उर्जा इन्जिनियर चन्द्रप्रकाश यादवले बताए । एसएनभी/बैकल्पिक उर्जा केन्द्रको अनुदान ८ लाख, राधा तिम्सिनाको संसदीय विकास कोषको ४ लाख ७५ हजार, गाविसको ३ लाख र उपभोक्ताको श्रमदानबाट सुधारिएको पानीघट्ट विद्युतीकरण योजना सम्पन्न भएको हो । 

प्रकाशित: २८ चैत्र २०७३ ०७:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App