coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

डेड दर्जन पसलमा अनुगमन

काठमाडौं- सरकारले मापदण्ड पूरा नगरी भारतीय योग गुरु रामदेवको लगानी रहेको पतञ्जली आयुर्वेदद्वारा उत्पादित सामान बेचेको भन्दै कालीमाटीस्थित शिवज्योति पतञ्जली आयुर्वेदमा आइतबार सिल गरेको छ। आपूर्ति मन्त्रालयले उक्त पसलमा सक्कल दर्ता प्रमाणपत्र नभएको, भ्याट र प्यानसँगै आयुर्वेदको नवीकरण नगरेको पाएपछि सिल गरेको जनाएको छ।

पाँच वर्षदेखि सञ्चालनमा रहेको उक्त पसलमा विभिन्न कस्मेटिक सामान, आयुर्वेदिक औषधि, भिटामिन, साबुन, दैनिक प्रयोगमा आउने सामानका साथै खाद्य पदार्थ बिक्रीका लागि राखिएको छ। अनुगमन टोलीले आयुर्वेद सञ्चालक हरिनारायण मानन्धरसँग कागजपत्र माग्दा घरमा रहेको बताए पनि उपलब्ध गराउन नसकेको आपूर्ति मन्त्रालयका शाखा अधिकृत गोविन्द लुइँटेलले जानकारी दिए। उनले भने, 'आयुर्वेदको नाम गरेर भ्याट छल्दै मापदण्डबिना व्यवसाय सञ्चालन गरेको भेटियो। साथै बिनाइजाजत चिकित्सक राखेर क्लिनिक सञ्चालन गरेको पाइएपछि उक्त पसलमा सिल गरिएको हो।' उनका अनुसार उक्त आयुर्वेदलाई तीन दिनभित्र आपूर्ति विभागमा आवश्यक कागजपत्र लिएर आउन निर्देशन दिइएको छ।

सरकारले चैत दोस्रो हप्ताबाट सुरु गरेको 'सुपर अनुगमन' विभिन्न क्षेत्रमा दिनहुँ भइरहेको छ। टोलीले आइतबार कालीमाटीका १८ वटा साना–ठूला पसलमा अनुगमन गरेको थियो। अनुगमनमा बिनादर्ता पसल सञ्चालन गरेको, नापतौल विभागबाट प्रमाणित नगरेका ढक–तराजु प्रयोग गरेको, प्यान नम्बर नलिई व्यवसाय गरिरहेको जस्ता कैफियत भेटेको थियो। त्यस्ता व्यवसायीलाई तीन दिनभित्र आवश्यक मापदण्ड पूरा गर्न निर्देशन दिइएको छ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका दर्शन आचार्यले अनुगमनका क्रममा पशुपति ब्रान्ड पापडको प्याकिङ मिति नै सन् २०१८ मार्च ८ भेटिएकाले २७ प्याकेट नष्ट गरिएको जानकारी दिए। उनले भने, 'बजारमा मनपरी छ, कसरी प्रभावकारी व्यवस्थापन गर्ने भन्ने अन्योल छ। २०१७ को अप्रिल ९ हुँदैछ, सन् २०१८ मा प्याकिङ भएको सामान भेटियो।'

कालीमाटीका अधिकांश पसलमा बेच्न राखिएका काजु, किसमिस जस्ता वस्तुमा लेबल नभएको भेटिएको छ। उनले भने, 'बोराबाट सिधै सामान खन्याएर आफूखुसी प्याकिङ गरेर मूल्य तोकेको र तौलको लेबल समेत नमिलेपछि कारबाहीका लागि सिफारिस गरेका छौं।'

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले दैनिक गर्ने अनुगमनलाई प्रभावकारी बनाउन मन्त्रालयले 'सुपर अनुगमन' नाम दिएर काठमाडौं उपत्यकामा उक्त अभियान चलाइरहेको छ। आइतबार करिब दुई लाख बराबरको अखाद्य तथा म्याद सकिएका सामान नष्ट गरिएको आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयको नेतृत्वमा भएको अनुगमनलाई प्रभावकारी बनाउन विशेषज्ञ टोली पनि बनाइएको छ। टोलीले शुक्रबार बालाजु क्षेत्रमा अनुगमन गर्दा व्यवसायीले आक्रमणको प्रयास गरेपछि उनीहरुलाई बालाजु प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ।

आइतबार ग्यास तथा पेट्रोल अनुगमन टोली, औषधि तथा खाद्यान्न र मासु, तरकारी, डेरी अनुगमन टोलीले बजार अनुगमन गरेको आपूर्ति मन्त्रालयले जनाएको छ। अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, प्रहरी वृत्त कालीमाटी, जनस्वास्थ्य कार्यालय काठमाडौं, जनस्वास्थ्य तथा औषधि विभाग, पशुपक्षी विभागका प्रतिनिधि सहभागी थिए।

प्रकाशित: २८ चैत्र २०७३ ०४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App