६ वैशाख २०८१ बिहीबार
विचार

हेनिमेनको सम्झनामा

सन् १७५५ अप्रिल १० तारिख आजैका दिनमा जर्मनीको माइसेन सहरमा होमियोप्याथीका जन्मदाता क्रिश्चयन फेड्रिक स्यामुअल हेनिमेनको जन्म भएको थियो। यिनका पिता बहुतै गरिब थिए। चिनियाँ माटो (सेरामिक) को भाँडामा बुट्टा हाल्ने (चित्रकारी)को काम गरेर आफ्नो परिवारको पालनपोषण गर्थे। गरिबीका कारण हेनिमेनको बाल्यावस्था बडो संघर्षमा बित्यो। अध्ययनका लागि यिनले साह्रै दुःख गर्नुपर्‍यो तर हुने बिरुवाको चिल्लोपात भनेझैँ कुशाग्र बुद्धि र तीव्र प्रतिभाका धनी हेनिमेनले २४ वर्षको उमेरमा एलोप्याथीमा एमडी उपाधि हासिल गरे र ड्रेसडेनको अस्पतालमा सिभिल सर्जनका रुपमा कार्य गर्न थाले। दस वर्षसम्म उनले अस्पतालमा सेवा गरे।

एलोप्याथी औषधिले पुर्‍याउने असरविरुद्ध खोज गर्दागर्दै हेनिमेनले नयाँ उपचारपद्धति जन्माए, जसलाई होमियोप्याथी भनी चिनिन्छ तर यसलाई स्थापित गर्न उनी स्वयं देशनिकालामा पर्नुपरेको थियो।

 

डा. हेनिमेन आफ्नो समयको चिकित्सा प्रक्रियाबाट सहमत थिएनन्। तीतो कष्टकारी एवं विपरीत प्रतिक्रिया (साइड इफेक्ट) उत्पन्न गर्ने औषधिहरुको सेवनबाट रोगको उपचार त हुन्थ्यो तर शरीरमा कैयौँ नयाँ रोग उत्पन्न हुन्थे। यसैबीच उनकी छोरी बिरामी भइन्। राम्रोभन्दा राम्रो उपचार गरियो तर अफसोस छोरीलाई बचाउन सकेनन्। यस घटनाले गर्दा तत्कालिन चिकित्सा पद्धतिबाट उनको मोहभंग नै हुन पुग्यो। यी सबै कुराहरुबाट दिक्दार भएर हेनिमेनले (एलोप्याथी) चिकित्सा कार्य गर्न नै छाडिदिए। जीविकोपार्जनका लागि हेनिमेनले चिकित्सा एवं विज्ञानका पुस्तकको विभिन्न भाषामा अनुवाद गर्न थाले। उनलाई ग्रिक, ल्याटिन, अंग्रेजी, इटालियन, अरबी, स्पेनिस, फ्रेन्च, जर्मन, सिरियन, हिब्रुसमेत गरी दस वटा भाषाको ज्ञान थियो। सन् १७९० मा डा. कुलेनको मेटेरियामेडिका (औषधीय गुण संग्रह) पुस्तकको अंग्रेजीबाट जर्मन भाषामा अनुवाद गर्ने क्रममा हेनिमेनले ‘सिनकोना’ भन्ने औषधिबारे विशेष जानकारी पाए। एक स्वस्थ शरीरमा सिनकोनाको अर्क (एक्सट्राक्ट) को सेवन गर्नाले मलेरिया ज्वरोको जस्तै लक्षण उत्पन्न हुन्छ। जबकि सिनकोना मलेरिया ज्वरोको महŒवपूर्ण औषधि हो भन्ने कुरा यिनलाई थाहा भयो। आफ्नै शरीरमा सिनकोनाको अर्क प्रयोग गर्दा डा. हेनिमेन यस निष्कर्षमा पुगे कि जुन औषधीय गुणयुक्त पदार्थ ( औषधि) एउटा स्वस्थ मानिसमा प्रयोग गरिन्छ र उसमा जुन किसिमको रोग लक्षणहरु उत्पन्न हुन्छन् त्यही औषधि त्यस्तै लक्षणयुक्त भएको रोगी व्यक्तिलाई (शक्तिकृत) रुपमा थोरै मात्रामा सेवन गराउनाले आरोग्य प्रदान गर्छ। यही कुराको चिन्तन–मनन् गर्दागर्दै उनको मनमा विचार आयो– सिनकोनाको जस्तै प्रकृतिप्रदत्त अन्य औषधीय पदार्थमा पनि रोगोत्पादन तथा रोग विनाशक शक्ति हुन्छ। यसै आधारमा हेनिमेनले ६ वर्षसम्म अनवरत आफ्नो शरीरमाथि नानाप्रकारका औषधिहरुको परीक्षण गरे। यसै परीक्षणले हेनिमेनलाई ‘जसले रोग उत्पन्न गर्दछ, उसैले रोग निको पनि पार्छ’ भन्ने बुझे। उनले सदृश रोगको सदृश चिकित्सा भन्ने नयाँ सिद्धान्त प्रतिपादन गरे। समानताले समानताको उपचार पद्धतिलाई उनले व्यवहारिक बनाए। यसप्रकार हेनिमेनले व्यापक परीक्षण, अनुभव एवं शोधपश्चात रोगको स्थायी चिकित्साविधि खोजे र त्यसलाई होमियोप्याथी नाम राखे। होमियोप्याथी अर्थात् रोगको सदृशचिकित्सा विज्ञान। होमियोप्याथी १८ औँ शतादब्दीको अन्त्यतिरको एउटा चमत्कारी तर वैज्ञानिक चिकित्सा उपलब्धि हो। सन् १७९६ मे महिनामा उनको एउटा निबन्ध प्रकाशित भएपछि चिकित्सा जगतमा क्रान्ति ल्याइदियो। यसपछि एलोप्याथिक चिकित्सकहरुको एक वर्गले होमियोप्याथी चिकित्साको सिद्धान्तलाई बुझेर यसलाई महŒव पनि दिन थाल्यो। केहीले भने यस क्रान्तिकारी सिद्धान्तको विरोध पनि नगरेका होइनन्। सन् १८०५ मा उनको अर्को पुस्तक ‘फ्राग्मेनटावेरीमाइक्स’ ल्याटिन भाषामा प्रकाशित भयो। यस पुस्तकमा डा. हेनिमेनले स्वस्थ मानिसहरुको शरीरमा परीक्षण गरिएका २७ वटा औषधीय गुण वर्णन गरिएको थियो। यस पुस्तक होमियोप्याथिक चिकित्साको पहिलो मेटेरिया मेडिका (औषधीय लक्षण संग्रह) थियो। सन् १८१० मा ‘अर्गेन अफ मेडिसिन’ नामक ग्रन्थ प्रकाशित गरियो। यसमा होमियोप्याथिकका मूलभूत सिद्धान्तहरुको वर्णन गरिएको थियो। यसलाई होमियोप्याथिक चिकित्साशास्त्रको ‘गीता’समेत भनिन्छ।  सन् १८१२ मा  डा. हेनिमेन लिपिजिग विश्वविद्यालयमा होमियोप्याथी चिकित्साको अध्यापन गर्न थाले। उनको बढ्दो प्रभाव देखेर विरोधी चिकित्सकहरुले  हेनिमेनविरुद्ध नानाथरिका भ्रम फैलाए र सन् १८२१ तिर देशनिकाला गर्न लगाए। उनी कोटेननगरमा आश्रय लिन पुगे र तत्कालिन त्यहाँका राजाको दुसाध्य रोगको होमियोप्याथीबाटै सफलतापूर्वक गरे। यसपछि उनी त्यहाँका रोयल फिजिसियन (राजवैद्य) भई कार्य गर्न थाले। सन् १८२८ उनको ‘क्रोनिक डिजिज’ नामक पुस्तक प्रकाशित भयो।  सन् १८३० मा फ्रान्सको राजधानी पेरिसमा चिकित्सा कार्य गर्दै उनी त्यहाँको ‘एकेडेमी अफ मेडिसिन’को सचिव बन्न पुगे।

यस प्रकार उनको ख्याति सर्वत्र फैलियो। जर्मनीको कुचक्र रचेर देश निकाला गराउने विरोधीहरु पनि अब आफ्नो भूलमा पश्चाताप गर्न थाले। पछि उनलाई स्वदेशमा ससम्मान फर्कन आग्रह गर्न थाले। जीवनको अन्तिम कालमा पनि मानव सेवामा समर्पित डा. हेनिमेनको २ जुलाई सन् १८४३ मा ८९ वर्षको उमेरमा निधन भयो। सन् १९५१ मा जर्मनीको लिपजिग नगरमा यिनको पित्तलको भव्यमूर्ति बनाई स्थापित गरियो।

होमियोप्याथिकका जन्मदाताका रुपमा उनी सदा अमर रहिरहने छन्। आज १० अप्रिलको दिन उनको स्मरण स्वरुप २६२ औँ जन्मजयन्ती एवं होमियोप्याथी दिवस विश्वभर मनाइँदै छ।

प्रकाशित: २८ चैत्र २०७३ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App