७ वैशाख २०८१ शुक्रबार
कला

विदेशमा मिस मंगोल नेपाल

काठमाडौं- एक्सन इन्टरटेनमेन्टले नवौं संस्करणको 'मिस मंगोल नेपाल' नेपालमा गर्दै १० औं संस्करणको प्रतियोगितालाई विदेशमा आयोजना गर्ने भएको छ। आयोजकले राजधानीमा शनिबार पत्रकार सम्मेलन गर्दै सन् २००९ देखि सुरु भएको यो प्रतियोगिताको नवौं संस्करणलाई रोमाञ्चकारी बनाउँदै  सन् २०१८ मा हुने १० औं संस्करणलाई अन्तर्राष्ट्रिय र सन् २०१९ मा हुने ११ औं संस्करण हाइटेक एडिसनका रूपमा आयोजना जानकारी दिएको हो।

आयोजकले प्रतियोगिताको १० औं वर्षगाँठ मनाउन नवौं, दसौं र एघारौं संस्करणलाई नयाँ शैली र फरक ढाँचामा प्रस्तुत गरिन लागेको जनाएको छ। 'प्रतियोगी छनोट र प्रशिक्षण नेपालमा गरी अन्तिम प्रतिस्पर्धाका लागि अन्तर्राष्ट्रिय मञ्चमा लगिन लागेको हो,' इन्टरटेनमेन्टका अशोकप्यासी राईले भने, 'मिस मंगोलका यी संस्करणले नेपाली सौन्दर्य प्रतियागिताको खस्कँदो क्रेजलाई उचाइ दिने विश्वास हामीले लिएका छौं।' उनका अनुसार यो प्रतियोगितामा डाक्टर, पाइलट, इन्जिनियर, मोडल, एयरहोस्टेज, नर्सलगायतका युवतीले भाग लिने गरेका छन्।

विजेता छनोटमा यसअघि उत्कृष्ट १५ मा आउन २५ प्रतिशत एसएमएस भोटिङ, २५ प्रतिशत ट्यालेन्ट शो र ५० प्रतिशत फाइनलमा प्रतियोगीका प्रस्तुतिलाई आधार बनाइए पनि यस वर्षदेखि प्रतियोगीको एक वर्षे कार्ययोजनालाई पनि आधार बनाइने राईले जनाए। प्रतियोगितामा समावेश गरिएकामध्ये 'मिस ट्यालेन्ट' र 'पब्लिक च्वाइस अवार्ड' विजेताले उत्कृष्ट १५ मा प्रवेश पाउने छन्।

आगामी जेठ २७ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगिताका लागि यस वर्ष काठमाडौं, धरान, बुटवल र पोखरामा अडिसन हुने आयोजकले जनाएको छ।

'मिस तामाङ', 'मिस राई', 'मिस लिम्बू', 'मिस नेवा' लगायत आदिवासी जनजातिसँग सम्बन्धित जातीय सौन्दर्य प्रतियोगिताका विजेताले भाग लिन चाहेमा बिनाअडिसन प्रवेश पाउनेछन्। फिनालेका लागि छनौट भएका प्रतियोगीले कोरियोग्राफर रोजिन शाक्यबाट एक महिने प्रशिक्षण पाउनेछन्।

प्रतियोगितामा शीर्ष उपाधिसँगै विभिन्न विधामा अवार्ड दिइनेछ। 'मिस मंगोल नेपाल'का विजेताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछिन्।

प्रकाशित: २८ चैत्र २०७३ ०२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App