coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

'भृकुटीको इतिहास बङ्ग्याउन खोजियो'

काठमाडौ- इतिहासविद्ले राष्ट्रिय विभूति भृकुटीको इतिहासलाई बंग्याउन खोजेको आरोप लगाएका छन्। हालै सार्वजनिक भएको नाटक 'भृकुटी' मार्फत उनको इतिहासलाई गलत ढंगले प्रचार गरिएको इतिहासका जानकारहरु बताउँछन्।

हालसालै सार्वजनिक भएको नाटक 'भृकुटी' ले भृकुटीलाई अंशुबर्माकी छोरीका रुपमा प्रस्तुत गरिएको तथ्य गलत भएको इतिहासविद्हरू बताउँछन्।

सातौँ शताब्दीमा तिब्बतमा बुद्धधर्म र नेपाली संस्कृतिको प्रवर्द्धन गरेकी भृकुटीलाई हरिततारा भनेर समेत चिनिन्छ। तत्कालिन राजा अंशुबर्माकी छोरी भृकुटीलाई नाटकमा अंशुबर्माकी नातिनिका रुपमा प्रस्तुत गरिएको छ। यसलाई  गलत भन्छन्, इतिहासविद् रमेश ढंुगेल। 'नाटकमा भृकुटीलाई अंशुबर्माकी नातिनी तथा उदयदेवकी छोरीका रुपमा प्रस्तुत गरिएको छ, जबकी अंशुबर्मा र उदयदेवको वंश नै फरक हो,' ढुंगेलले भने।

उनले नाटकमार्फत नेपालको महत्वपूर्ण इतिहासलाई तोडमरोड गर्न खोजिएको भन्दै असन्तुष्टि जनाए। नाटकमा भृकुटीले तिब्बतका राजा स्रङचङ गम्पोसँग बिहे गर्दा खुसी नभएको तथा नाटकमा भृकुटीलाई नेपालबाटै अन्माएर लगेको लगायतका विषयहरु समावेश गरिएकोमा आपत्ति जनाउँदै  ढंुगेलले भृकुटीको वास्तविक इतिहास त्यसभन्दा फरक रहेको जनाए। नाटकमा तत्कालिन तिब्बत शक्तिशाली भएकाले नेपालमाथि हमला नहोस् भनेर भृकुटीलाई गम्पोसँग बिहे गरिदिएको प्रसंग पनि देखाइएको छ। यसलाई पनि ढंुगेल अस्विकार गर्छन्।

लिच्छिविकालमा आभिरी गुप्तहरु निकै शक्तिशाली रहेको ढुंगेल बताउँछन्। उनीहरुले लिच्छिवि राजा उदयदेवलाई सत्ताच्युत गरिदिएपछि वि.सं. ६७८ मा उदयदेव र उनका परिवार, समर्थक तथा अंशुबर्माकी चार वर्षीया छोरी भृकुटी र श्रीमती देवालासमेत सयौंजना तिब्बती राजाको शरणमा गएको इतिहास भेटिने ढुंगेलको भनाइ छ। आभिरीहरुले ६७८ मा वि.सं.मा उदयदेवलाई सत्ताच्युत गराउँदा शिवदेवको सहयोगी हुँदै राजा बनेका अंशुबर्मा मारिएको हुन सक्ने ढंुगेलको अनुमान छ। सत्ताच्युत भएपछि लिच्छिवि राजा उदयदेवसँगै भृकुटी तिब्बत शरणमा गएकीले उनको लालनपोषण तिब्बतमै भएको ढंुगेल बताउँछन्। तिब्बतमै हुर्किएर तिब्बती राजासँग बिहे भएकाले उनलाई नेपालबाट अन्माइएको प्रसंग गलत भएको ढुंगेलको भनाइ छ। तिब्बतको शरणमा गएको २२ वर्षपछि उदयदेवका छोरा नरेन्द्रदेवले वि. सं. ७०० मा भोट सैनिक लिएर नेपाल फर्कर्ने क्रममा भृकुटीको राजा गम्पोसँग बिहे गरिदिएको तथ्य तिब्बती इतिहासमा भेटिने गरेको छ।  इतिहासविद् ढुंगेल यति ठूलो ऐतिहासिक घटनालाई साहित्यिक मनोरञ्जनको विषय बनाएर इतिहास बंग्याउने काम निकै ठूलो भुल भएको उल्लेख गरे। उनी बहकिएर इतिहासलाई तोडमरोड गर्न नहुने जनाउँछन्। 

नाटकका लेखक सरुभक्तले भृकुटीका बारेमा आधिकारिक इतिहास नभएकाले उनका बारेमा भेटिने आमधारणा तथा कतिपय काल्पनिकताका आधारमा नाटक लेखिएको जनाए। उनले नाटकमार्फत भृकुटीको इतिहास बंग्याउन नखोजिएको बरू भृकुटीमार्फत नेपाली महिलाको संघर्ष तथा प्रतिकूल अवस्थामा उनले मुलुकप्रति देखाएको महत्वपूर्ण भूमिकालाई देखाउन खोजिएको बताए।

नागरिकसँग कुरा गर्दै सरुभक्तले भने 'म इतिहासको विज्ञ होइन, त्यसैले उनको इतिहासका बारेमा कुनै टिप्पणी गर्न चाहन्न।' उनले नाटक लेख्दा भृकुटीका बारेमा लेखिएका केही पुस्तक तथा आम धारणालाई आधार बनाएर लेखेको जनाए। 

को हुन् भृकुटीका पिता अंशुबर्मा? 

लिच्छिविकालमा आभिरी गुप्तहरु निकै शक्तिशाली थिए। उनीहरुको प्रभाव कम गर्न लिच्छिवि राजा शिवदेवले आफ्ना नातेदार अंशुबर्मालाई सहयोगीका रुपमा ल्याएका थिए। अंशुबर्मालाई सहयोगी बनाएपछि दिएपछि शिवदेव बौद्ध भिक्षु बनेका थिए।

अंशुबर्मा विस्तारै शक्तिशाली शासकका रुपमा स्थापित हुँदै गएको शिवदेवको अभिलेखमा  उल्लेख छ। अंशुबर्मा सामन्त, महासामन्त, श्री अंशुबर्मा हुँदै श्री महाराज अंशुबर्मा बनेको इतिहासविद् ढुंगेल बताउँछन्। वि.सं. ६४९ देखि ६७८ सम्म शासक हुँदै राजाका रुपमा स्थापित भएका उनले मानदेवका पालादेखि शक्तिशाली देखिएका आभिरीहरुको प्रभाव कम गर्न सफल भएको ढुंगेल बताउँछन्।  ६७८ मा उनले शिवदेवकै छोरा उदयदेवलाई युवराज घोषणा गरिदिएका थिए।

अंशुबर्मा महत्वाकांक्षी थिए । उनी राजाका सहयोगी हुँदै आफै राजा बन्नुले यही पुष्टि गर्छ। तर उनी इमानका पक्का भएको उनले शिवदेवका छोरा उदयदेवलाई युवराज घोषणा गरेबाट पुष्टि हुने इतिहासविद् बताउँछन्। अंशुबर्माका छोरा भए नभएका बारेमा इतिहासमा उल्लेख नभए पनि छोरी भृकुटीको सट्टा उनले शिवदेवका सन्तानलाई सत्ता हस्तान्तरण गरेका थिए।

तिब्बत शरणसम्बन्धी यथार्थ

वि सं. ६७८ मा अंशुबर्माले उदयदेवलाई सत्ता हस्तान्तरण गरे पनि उदयदेवले सत्तालाई एक वर्ष पनि टिकाउन सकेनन्। उदयदेवको उदयसँगै आभिरी गुप्तहरु पुनः सक्रिय हुन थाले। उनीहरुले उदयदेवकै भाई ध्रुवदेवलाई उचालेर सत्ताच्युत गराइदिए।  सत्ताच्युत भएपछि उदयदेवले आफ्ना भारदार, आफन्त तथा अंशुबर्माकी श्रीमति र छोरी भृकुटीसहित तिब्बतको शरणमा गएका थिए।

त्यतिबेला सामान्यतया भारततर्फ शरणमा जाने परम्परा भए पनि आभिरी गुप्तहरु भारतबाट आएकाले उदयदेवले तिब्बतमा शरण लिएको ढंुगेलको भनाइ छ। आभीरीहरुले ध्रुवदेवको सत्ता पनि लामो समयसम्म टिक्न दिएनन्। उनीहरुले भिमार्जुनदेवलाई स्थापित गराएर ध्रुवदेवलाई पनि सत्ताबाट च्युत गरेका थिए। तिब्बतको शरणमा पुगेका उदयदेवले तिब्बतमै प्राण त्यागेको ढुंगेल बताउँछन्। वि. सं. ७०० मा उदयदेवकै छोरा धु्रवदेवले नेपाल फर्किएर सत्ता आफ्नो हातमा लिएका थिए।

यस कारण भृकुटी अंशुबर्माकी छोरी

तिब्बतका इतिहासहरुमा भृकुटीलाई अंशुबर्माकी छोरी भनेर उल्लेख गरिएको ढंुगेल बताउँछन्।  तिब्बती इतिहासमा भृकुटीलाई 'ग्याल्पो होसेर गोचागी चुन्मो' भनेर सम्बोधन गरिएको छ। यसको अर्थ अंशुबर्माकी राजकुमारी भन्ने हुने ढुंगेल बताउँछन्। तिब्बती भाषमा होसेरको अर्थ अंश, किरण वा ज्योति तथा गोचारको अर्थ बर्मा भन्ने हुन्छ। चुन्मोको अर्थ राजकुमारी हुनाले उनी अंशुबर्माकै छोरी भएको पुष्टि हुने ढुंगेल बताउँछन्। 'कतिपय तिब्बती इतिहासमा भृकुटीलाई ठिचुन चुन्मो ठोङयारमा भनी उल्लेख छ। यसको अर्थ राजकुमारी भृकुटी हुन्छ,' ढुंगेलले भने। फ्रेन्च सस्कृतिविद् सिल्वालेभिले  तिब्बती ठोङयारमाको अर्थ भृकुटी हुन्छ भनेर पहिलो पटक उल्था गरेका थिए।

कतिपयले तिब्बती भाषामा उदयको अर्थ किरण हुने भन्दै भृकुटीलाई उदयकी छोरी भएको उल्लेख गर्ने गरेको ढंुगेलको भनाइ छ। 'होसेरको अर्थ उदय बनाएर गोचारको अर्थ नलगाई भृकुटीलाई उदयकी छोरी भन्ने तर्क तथ्यगत हुन सक्दैन, ' ढुंगेलले भने।

अंशुबर्मा र उदयको वंशज एउटै नभएकाले भृकुटीलाई अंशुबर्माकी नातिनी तथा उदयदेवकी छोरी भन्नु पनि तथ्यगत नभएको ढंुगेलको तर्क छ। तिब्बती भाषाको राजइतिहास, मानिकाबुङ, रेडयानल, ब्लुयानल तथा विशेष व्यक्तित्वका जीवनचरित्रमा भृकुटीका बारेमा उल्लेख छ। 

प्रकाशित: २८ चैत्र २०७३ ०२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App