८ वैशाख २०८१ शनिबार
समाज

बौलाहा कुकुरको टोकाइ बढ्यो

काठमाडौं- काठमाडौं महानगरपालिकाभित्र बौलाहा कुकुरको आतंक बढ्दै गएको छ। सडकमा जथाभाबी हिँडडुल गर्ने कुकुरले दैनिक सयभन्दा सर्वसाधरणलाई टोक्ने गरेको पाइएको छ।

शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालमा कुुकुरले टोकेका सयभन्दा बढी बिरामी दैनिक आउने गरेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार ४ महिनामा कुकुरको टोकाइबाट पीडित आठ हजार दुई सय २८ जनाले रेबिजविरुद्धको भ्याक्सिन लगाएका छन्।

काठमाडौं महानगरपालिकाले उपत्यकामा रहेका भुस्याहा कुकुर व्यवस्थापनमा ठूलो रकम खर्च गर्दै आएको छ। तर, प्रभावकारी व्यवस्थापन हुन नसक्दा कुकुरले टोक्ने क्रम रोकिएको छैन। पशु अधिकारकर्मीले भुस्याहा कुकुरलाई सामुदायिक कुकुरको नाउँ दिएर भुस्याहा कुकुरको सुरक्षा तथा व्यवस्थापनका लागि सम्बद्ध निकायलाई दबाब दिँदै आएका छन्।

महानगरपालिकाभित्र झण्डै २२ हजार भुस्याहा कुुकर रहेको तथ्यांक महानगरपालिकासँग छ। यीमध्ये करिब १५ सय कुकुरलाई मात्रै अहिलेसम्म बन्ध्याकरण गरिएको महानगरपालिकाले जनायो। महानगरले काठमाडौंका ३५ वडामा कुकुर व्यवस्थापन कार्यक्रमअन्तर्गत  करिब तीन करोड पचास लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर, बजेटअनुसारको व्यवस्थापन कार्य नहुँदा कोटेश्वर, रातोपुल ज्ञानेश्वर, नयाँ बानेश्वर, सुन्धरालगायतका क्षेत्रमा बौलाहा कुकुरको आतंकले सर्वसाधारणलाई हैरानी भएको छ। 'कुकुर व्यवस्थापन गर्न महानगरपालिकाले बेवास्ता गर्दा भुस्याहा कुुकुरका कारण साँझपख हिँडडुल गर्न समेत समस्या भएको छ,’ कोटेश्वर महादेवस्थानका भीमदत्त कोइरालाले गुनासो गरे।

महानगरपालिकाका सहरी स्वास्थ्य महाशाखाका प्रमुख हरिकुमार श्रेष्ठले काठमाडौं क्षेत्रमा बौलाहा कुुकुर व्यवस्थापनमा निकै चुनौती रहेको बताए। 'बन्ध्याकरणसँगै कुकुरमा प्रजनन पनि निरन्तर भइरहेको छ। जसले गर्दा कुकुर व्यवस्थापनामा चुनौती छ ,' महाशाखाका प्रमुख श्रेष्ठले भने। भेटेनरी अधिकृत लटनारायण साहले समुदायमा रहेका कुकुरलाई ५५ रुपैयाँ पर्ने रेबिजविरुद्धको भ्याक्सिन नलगाउँदा सर्वसाधारण भुस्याहा कुकुरबाट त्रसित रहँदै आएको बताए।

महानगरपालिका, ह्युमन सोसाइटी इन्टरनेशनल र द जेन गुड इन्स्टिच्युटको संयुक्त अनुगमनमा  गत वर्ष काठमाडौंका ३५ वडामा २१ हजार ८ सय ५६ कुकुर रहेको देखिएको थियो। तीमध्ये ७ हजार ४ सय २१ पोथी छन्। वयस्क कुकुरको सामान्यतया वर्षमा दुईपटक प्रजजन हुन्छ। एकपटकमा करिब ६ वटासम्म बच्चा जन्मिने गर्छ। काठमाडौंका ३५ वटै वडामा रहेका २१ हजार ८ सय ५६ भुस्याहा कुकुरमध्ये १५ सय कुकुरको बन्ध्याकरण भएको हो। जसमध्ये १ हजार पोथी जातका कुकुर र ५ सय भाले जातका कुकुरको बन्ध्याकरण गरिएको हो। कुकुरमा मान्छेको तुलनामा २६ गुना बढी धेरै सुघ्ने क्षमता हुन्छ ।

प्रकाशित: २८ चैत्र २०७३ ०२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App