coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाल आएका पाकिस्तानी पूर्वकर्नेल बेपत्ता

पाकिस्तानी पूर्वकर्नेल मोहम्मद हबिब जाहिर

काठमाडौं- संयुक्त राष्ट्रसंघमा जागिरका लागि अन्तर्वार्ता दिन भन्दै तीन दिनअघि नेपाल आएका पाकिस्तानी सेनाका पूर्वकर्नेल मोहम्मद हबिब जाहिर बेपत्ता भएका छन्। नेपालस्थित पाकिस्तानी दूतावासले उनी हराएको भन्दै खोजीका लागि प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको छ।

उनी जागिरका लागि अन्तर्वार्ता दिन भन्दै नेपाल आएका हबिब हराएकोबारे पाकिस्तानी दूतावासले चासो राख्दै खोजी गरिदिन पत्र पठाएपछि नेपाली सुरक्षा निकायले घटनाबारे जानकारी पाएका हुन्।

नेपालमा युएनको जागिरका लागि बिहीबार नेपाल आएका उनी हराएको भन्दै परराष्ट्र हुँदै प्रहरी प्रधान कार्यालयमा पत्र आएपछि प्रहरी खोजीमा जुटेको छ। उनी एजे५१२२९६४ नम्बरको पासपोर्टमा डब्लुवाई३४४ कलसाइनको उडानमा नेपाल आएको पाकिस्तानको डिफेन्स मिनिस्ट्रीले जानकारी दिएको छ।

ओमन हुँदै नेपाल आएका उनी सोही दिन आन्तरिक उडानबाट भैरहवा पुगेको र उनले पाकिस्तानमा रहेका आफ्नो परिवारलाई लुम्बिनी आइपुगेको जानकारी दिएको र त्यसपछि  सम्पर्कमा नआएको दूतावासको पत्रमा उल्लेख छ।

उनी जागिरका लागि अन्तर्वार्ता दिन भन्दै नेपाल आएका हबिब हराएकोबारे पाकिस्तानी दूतावासले चासो राख्दै खोजी गरिदिन पत्र पठाएपछि नेपाली सुरक्षा निकायले घटनाबारे जानकारी पाएका हुन्।

आइतबार परराष्ट्रबाट गृह मन्त्रालय हुँदै हबिब हराएकोबारे प्रहरीको अपराध अनुसन्धान विभागमा पत्र पुगेपछि आतंकवाद र अन्तर्देशीय अपराध हेर्ने प्रहरीको निकाय विशेष ब्युरो उनको खोजीमा खटिएको छ।

'नेपाल आएका पाकिस्तानी पूर्व कर्नेल हराएकोबारे जानकारी आएपछि उनको खोजी शुरु गरेका छौं,' प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले भने 'उनको खोजीका लागि केन्द्रसँगै भैरहवा प्रहरीलाई समेत खटाएका छौं।'

उनको हवाई यात्राको विवरण संकलन गर्दा एयर अरेबियाको उडानमार्फत पाकिस्तानबाट ओमन आएको र ओमनको मस्कटबाट ६ अप्रिलमा नेपाल आएको देखिएको ब्युरोका एक अधिकारीले बताए। ती अधिकारीका अनुसार उनी जुन दिन काठमाडौं उत्रिए त्यही दिन बुद्ध एयरको उडानबाट भैरहवा गएको विवरण समेत फेलापरेको छ।

'काठमाडौंमा उत्रिएलगत्तै उनी सिधै भैरहवा गएकाले  अन्तर्वार्ता भन्दै नेपाल आएको सूचना सही देखिन्छ,' अनुसन्धानरत स्रोतले भन्यो 'तर, त्यहाँबाट उनी कता गए र उनलाई कसले बोलाएको थियो त्यो भने खुल्न सकेको छैन।'

नेपाल आउनुको कारण शंकास्पद

हबिब जुन कारण नेपाल आएको भनिएको छ र उनलाई अन्तर्वार्ता दिन जहाँ बोलाइएको छ यो नै सबैभन्दा शंकास्पद देखिएको छ। प्रहरीलाई आएको औपचारिक जानकारीमै उनलाई युएनको जागिरका लागि अन्तर्वार्ता दिन लुम्बिनि बोलाइएको उल्लेख छ।

लुम्बिनीमा कुनै राष्ट्रसंघीय नियोगको कार्यालय छैन। पाकिस्तानी पत्रिका 'डन' को समाचारमा उल्लेख भएअनुसार सन् २०१४ मा अवकाश पाएका उनले रोजगारीका लागि एक वेबसाइटमा व्यक्तिगत विवरण राखेका थिए। सोही विवरणलाई आधार बनाएर उनलाई मार्क थम्सन नामका व्यक्तिले फोन गरेका थिए।

यी दुवैबीच इमेलमा समेत कुराकानी भएको थियो। इमेलमा मार्कले उनले खोजेअनुसारको जागिरका लागि अन्तर्वार्ता दिन नेपाल आउनुपर्ने बताएका थिए। उनलाई नेपाल आउने हवाई टिकटसमेत मार्कले नै पठाइदिएका थिए।

नेपाल आएलगत्तै उनलाई ओमनमा जावेद अन्सारी नामका एक व्यक्तिले आफ्नो नामको ९८१३८४८६८९ नम्बरको सिमकार्ड दिएको डिफेन्सडटपिकेले दाबी गरेको छ। उनी सोही सिम हालेको मोबाइल लिएर लुम्बिनी पुगेका थिए। डनका अनुसार लुम्बिनी पुगेर परिवारको सम्पर्कमा आएका उनको मोबाइल नम्बरमा अहिले सम्पर्क हुन सकेको छैन।

डनका अनुसार उनी हराएपछि उनलाई आएको फोनकलको नम्बर खोज्दा बेलायतको नम्बर देखियो, जुन नक्कली रहेको खुल्यो। इन्टरनेट कलमार्फत फोन नम्बर परिर्वतन गरिएको खुलेको डनले लेखेको छ। उनीसँगको इमेल संवाद भएको इमेल भारतीय वेबसाइटसँग सम्बन्धित देखिएको उल्लेख गरिए पनि कुन साइट हो खुलाइएको छैन।

प्रकाशित: २८ चैत्र २०७३ ०२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App