८ वैशाख २०८१ शनिबार
राजनीति

सबै दलको चुनावी नारा आर्थिक समृद्धि केन्द्रीत

काठमाडौं- स्थानीय चुनावलाई लक्षित गरेर दलहरूले आआफ्ना चुनावी नारा तय गरेका छन्। अधिकांश दलले आर्थिक समृद्धिलाई प्रमुख नारा बनाएका छन्। सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउने अजेन्डा पनि दलहरूको नारामा छ। प्रमुख दलमध्ये नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा र नयाँ शक्तिले चुनावी नारा तय गरिसकेका छन्।

कांग्रेसले 'नेपाली कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान' नारा तय गरेको छ। कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले पार्टी आर्थिक समृद्धिलाई प्रमुख अजेन्डा बनाएर स्थानीय चुनावमा जाने बताए। 'यसपटक हामीले आर्थिक समृद्धि र संविधान कार्यान्वयन प्रमुख अजेन्डा बनाएर स्थानीय चुनावमा जाँदैछौं', गुरुङले भने।

पार्टीले तय गरेको केन्द्रीय निर्वाचन परिचालन समितिको केही दिनअघि बसेको बैठकले  पार्टीको नारा तय गरेको हो। संसद्को दोस्रो ठूलो दल एमालेले भने यसै साता चुनावी नारा तय गर्ने भएको छ। एमालेका प्रचार प्रसार विभागका प्रमुख योगेश भट्टराईले संविधान कार्यान्वयन, आर्थिक विकास र स्थायित्वलाई आधार बनाएर चुनावी नारा तय गरिने बताए। 'चुनावी नारा यसै हप्ता तय हुन्छ। स्थायित्व, आर्थिक विकास र संविधान कार्यान्वयनको मुद्दामा चुनावी नारा तय गर्दैछौं', भट्टराईले भने।

माओवादी केन्द्रले पनि चुनावी नारा तय गरिसकेको छ। माओवादीले सिंहदरबारको अधिकार गाउँमा पुर्‍याउने अजेन्डालाई  चुनावी नारा बनाएको छ। माओवादीले 'सिंहदरबार केन्द्रित जनताको अधिकारलाई गाउँनगरमा पुर्‍याआंै, स्थानीय तहको चुनावमा माओवादीलाई जिताऔं' भन्ने नारा तय गरेको छ। माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सिंहदरबारको अधिकार गाउँमा पुर्‍याउने र स्थानीय विकासलाई  चुनावी नारा बनाएको बताइन्। माओवादीले आफ्नो घोषणापत्रमा किसानलाई पेन्सन, स्वरोजगार, इन्टरनेटको सुविधा लगायतका मुद्दालाई उठाएको माओवादी केन्द्रका नेताले बताएका छन्। 'सिंहदरबारको अधिकार गाउँमा पुर्‍याउने अजेन्डालाई हामीले चुनावी नारा बनाएका छौं', भुसालले भनिन्।

राप्रपाले स्थानीय चुनावमा दुई नारा तय गरेको छ। 'स्थानीय निर्वाचनमा जनतालाई सम्मान, गाईमा मतदान' राप्रपाको मूल चुनावी नारा हो। यसैगरी राप्रपाको सहायक नारामा 'विकास, सुशासन र स्थिरताको लागि राप्रपालाई गाई चिह्नमा मतदान गरौं, राष्ट्रवादी शक्ति निर्माण अभियानमा सहभागी बनौं' भन्ने छ। राप्रपा प्रचार समितिका सदस्य किरण गिरीले भने, 'आर्थिक समृद्धि, राष्ट्रवादी शक्ति निर्माणलाई हामीले चुनावी नारा बनाएका छौं।'

यसैगरी नयाँ शक्ति पार्टी नेपालले आर्थिक समृद्धिलाई प्रमुख एजेन्डा बनाएको छ। नयाँ शक्तिका केन्द्रीय सदस्य तथा अनुशासन आयोगका प्रमुख पर्शुराम खापुङले नयाँ शक्तिले दुई वटा चुनावी नारा तय गरेको बताए। पहिलो नारामा 'अबको निकास, आर्थिक विकास' छ भने अर्को नारामा 'आर्थिक समृद्धि सम्भव छ, हाम्रै पालामा', भन्ने छ। 'आर्थिक समृद्धिलाई हामीले प्रमुख नारा बनाएका छौं। घोषणापत्रमा पनि त्यसलाई केन्द्रित गरेका छौं', खापुङले भने।

फोरम लोकतान्त्रिकले पनि यसै साता चुनावी नारा तय गर्ने नेताहरूले बताएका छन्। फोरम लोकतान्त्रिककी उपाध्यक्ष गीता राणाले पार्टी अध्यक्षले यसै साता चुनाव तयारीका लागि विभिन्न समिति गठन गर्ने बताइन्। 'यही सातता नारा तय हुन्छ। चुनाव तयारीका लागि अध्यक्षज्यूले विभिन्न समिति तय गर्दै हुनुहुन्छ', राणाले भनिन्।

साना दलहरूले पनि चुनावी नारा तय गरेका छन्। मधेसी मोर्चासँग आबद्ध सात वटा  दलहरूले भने चनावी नारा तय गरेका छैनन्। चुनावका लागि ती दलहरूले आन्तरिक तयार गरे पनि चुनावी नारा र घोषणापत्रमा भने कुनै तयारी नगरेको मधेसी मोर्चाका नेताहरूले बताए।

स्थानीय चुनावमा होमिएको विवेकशील पार्टीले दुई वटा चुनावी नारा तय गरेको छ। पार्टीका केन्द्रीय सदस्य मिलन पाण्डेका अनुसार विवेकशील पाटीले 'चुनौं यसपालि, विवेकशील नेपाली' नारा तय गरेको छ। यसैगरी काठमाडौंका लागि सो पाटीले 'झन्झटमुक्त, सुविधा सम्पन्न काठमाडौ' नारा तय गरेको छ। 'हामीले देशभरका लागि एउटा नारा र काठमाडांैका लागि अर्को नारा गरी दुई वटा नारा तय गरेका छौं', पाण्डेले भने।

संसद्मा एक सिट रहेको अखण्ड पार्टीले पनि चुनावी नारा तय गरेर चुनावमा जाने तयारी गरेको छ। 'यसै हप्ता हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक बस्दैछ। बैठकले चुनावी नारा तय गर्छ', अखण्ड पार्टी नेपालका अध्यक्ष कुमार खड्काले भने। आर्थिक समृद्धिलाई केन्द्रित गरेर चुनावमा जाने तयारी भइरहेको पनि उनले बताए।

नेकपा मालेे पनि यही हप्ता चुनावी नारा तय गर्ने सो पार्टीका नेताहरूले बताएका छन्। 'यस हप्ता हाम्रो पार्टीको बैठक बस्दै छ, त्यसपछि हामीले चुनावी नारा तय गर्नेछौं', मालेका महासचिव सिपी मैनालीले नागरिकसँग भने।   

प्रकाशित: २८ चैत्र २०७३ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App