coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अब ४० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं- स्थानीय तह निर्वाचनका लागि अब ४० लाख मतपत्र छाप्न बाँकी छ। १ करोड २० लाख मतपत्र छाप्ने काम सकिएको छ। निर्वाचन आयोगले मतपत्र छाप्ने जिम्मा जनकशिक्षा सामग्री केन्द्रलाई दिएको छ। केन्द्रले छपाइका लागि जिम्मा पाएको  करिब १ करोड ६० लाख मतपत्रमध्ये १ करोड २० लाख छापिसकेको जानकारी आयोगका सचिव गोपीनाथ मैनालीले दिए। मैनालीले आइतबारसम्म अधिकांश जिल्ल्ााको मतपत्र छपाइ काम सकेर केही जिल्लामा पठाउनका लागि प्याकिङको कामसमेत भइसकेको बताए। '१ करोड २० लाख मतपत्र छाप्ने काम सम्पन्न भइसकेको छ, बाँकी छाप्ने काम भइरहेको छ,' मैनालीले नागरिकसँग भने। आयोगले झन्डै तीन सातामा ५५ जिल्लाको मतपत्र छाप्ने काम सकिएको जनाएको छ। 

आयोगले ७ सय ४४ स्थानीय तहका लागि विभिन्न ६ आकार र ७५ प्रकारका मतपत्र छाप्ने निर्णय गरेको छ।

मैनालीका अनुसार देशभरका १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदातालाई त्यत्ति नै मतपत्र आवश्यक पर्ने भए पनि कुनै कारणले अतिरिक्त व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले त्यसलाई ध्यानमा राखेर १ करोड ६० लाख छाप्ने निर्णय भएको हो।

आयोगले ७ सय ४४ स्थानीय तहका लागि विभिन्न ६ आकार र ७५ प्रकारका मतपत्र छाप्ने निर्णय गरेको छ।

आयोगले प्रदेश नम्बर दुई अन्तर्गतका जिल्लाका मतपत्र छपाइ पनि यसैसाताभित्रै गर्ने भएको छ। आयोग स्रोतका अनुसार मधेसी मोर्चा र सरकारबीच हुने सहमतिले दुई नम्बर प्रदेशमा संख्या केही हेरफेर हुन सक्ने भन्दै मतपत्र छपाइको काम रोकिएको भए पनि अब काम अघि बढाइनेछ। 'सरकारले दुई नम्बर प्रदेशमाा राजनीतिक वातावरण बनाओस् भनेर केही दिन पर्खिएका थियौं,' आयोगका एक अधिकारीले भने 'अब पर्खन सक्ने अवस्था छैन, एक दुई दिनभित्रमै दुई नम्बर प्रदेशअन्तर्गतका जिल्लाका लागि पनि मतपत्र छपाइ सुरु हुन्छ।'

आयोगले स्थानीय निर्वाचनका लागि चैत १० गते मतदान केन्द्र टुंग्याउन भने पनि तराईका विभिन्न ६ जिल्लामा भने अझै टुंगो लाग्न सकेको छैन। राजनीतिक सहमति नहुँदा दुई नम्बर प्रदेशका रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीमा मतदान केन्द्र टुंगो लाग्न नसकेको हो। दुई नम्बर प्रदेशमा चुनावका लागि राजनीतिक वातावरण बनाउन आयोगले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएको छ। यसतर्फ सरकारले कुनै सहयोग नगरेको भन्दै आयोग असन्तुष्ट बनेको छ। आयोगले ती जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिएर केन्द्र टुंगो लगाउने तयारी गरिरहेको छ।

सचिव मैनालीले अब सम्बन्धित जिल्लाका प्रशासनिक अधिकारीको सहयोगमा आयोगले आफंै अग्रसर भएर केन्द्र टुंग्याउने बताए। 'पहिल्यै भएका केन्द्रलाई सामान्य हेरफेर गर्नपर्ने अवस्था भए गर्ने हो, अब स्थानीय प्रशासनको सहयोगमा मतदान केन्द्र टुंग्याउने काम हुन्छ,' उनले भने, 'राजनीतिक सहमति भए पनि नभए पनि मतदातालाई पायक पर्नेगरी मतदान केन्द्र निर्धारण गर्ने हो।'

निर्वाचन अधिकृतलाई तालिम

आयोगले सोमबारदेखि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचनसम्बन्धी तालिम दिने भएको छ। '७ सय ४४ स्थानीय तहका लागि आवश्यक ७ सय ४४ मुख्य निर्वाचन अधिकृत र केही विकल्पसमेत राखेर ७ सय ६० जनालाई सोमबारदेखि चारदिने प्रशिक्षण सुरु हुँदैछ,' मैनालीले भने,  निर्वाचन तयारी तीव्र रुपमा अघि बढिसकेको छ।' आयोगले सिन्धुली, हेटौडा, धुलिखेल, पोखरा, धनगढी र सुर्खेतमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई तालिम दिन लागेको हो।

आयोगले ७५  जिल्लामा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ६ सय ६९ जना उपसचिवलाई निर्वाचन अधिकृत तोकेको छ। मुख्य निर्वाचन अधिकृतले सदरमुकाम रहेको मतदान केन्द्रमा निर्वाचन अधिकृतको जिम्मेवारी पनि सम्हाल्नेछन्। वैशाख ३१ गते निर्वाचन मिति तोकिएको छ।

प्रकाशित: २८ चैत्र २०७३ ०१:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App