coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

केही पुराना र केही नयाँ अनुहारसहित रौतहटमा बढ्दैछ चुनावी सरगर्मी

रौतहट- तीन नगरपालिका र १३ गाउँपालिका रहेको रौतहटमा चुनावी सरगर्मी विस्तारै बढ्दै गएको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा निर्वाचनको विरोधमा रहे पनि अन्य पार्टीहरुमा भने आन्तरिक रुपमा निर्वाचनको तयारी भइरहेको छ।

गौर नगरपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रमा उम्मेदवारको लागि लबिङ भइरहेको छ। नेपाली काँग्रेसबाट सजन साह, गौरीशंकर यादव, राजेश साह मेयरको उम्मेदवारका आकांक्षी देखिएका छन्। यादव नगरपालिकाका पूर्व मेयरसमेत हुन् । नेकपा माओवादी केन्द्रबाट राम प्रताप यादव, राजेश साह, चन्देश्वर राउत, सत्यनारायण यादव र अवध बिहारी साहले आन्तरिकरुपमा चुनावको तयारी थालेका छन्। नेकपा एमालेबाट नवप्रवेशी व्यावसायी शम्भु साहको नाम चर्चामा रहेको छ।

जिल्लाको मध्यभागमा रहेको व्यापारिक नगरी गरुडा नगरपालिकामा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। गत वर्षको मधेस आन्दोलनको केन्द्रविन्दु रहेको गरुडामा तीनवटै प्रमुख पार्टीबाट मेयर बन्ने आकांक्षीको संख्या धेरै रहेको छ। नेपाली काँग्रेसबाट धर्मनाथ प्रसाद जयसवाल, राम भरोसी यादव, रामकृष्ण चौधरी, सुनील यादव, कन्थमणि प्रसाद जयसवाल मेयरका दाबेदार देखिएका छन्। चौधरी पूर्व उपाध्यक्षसमेत हुन्। नेकपा एमालेबाट शेख कलिमुल्लाह, मणिलाल सहनी, वीरेन्द्र यादव, ननिपत सहनी, अशोक यादव लगायत मेयरका आकांक्षी देखिएका छन्। ननिपत सहनी र वीरेन्द्र यादव पूर्व गाविस अध्यक्ष हुन्। नेकपा माओवादी केन्द्रबाट विपिन जयसवाल र चन्देश्वर यादवको नाम चर्चामा रहेको छ।

चन्द्रपुर नगरपालिकामा भने तुलनात्मकरुपमा निर्वाचनको माहोल तातेको छ। नेपाली काँग्रेसबाट  रमेशहरि भटराई, पत्रकार सञ्जय कार्की, रामचन्द्र चौधरी, धनलाल थोकरले मेयरको लागि दाबेदारी प्रस्तुत गर्दै चुनावी प्रचारप्रसार थालेका छन् । नेकपा एमालेबाट भने पूर्व गाविस अध्यक्ष उद्धव रेग्मी, कृष्ण तिमल्सिना, बाबुराम दाहालको दाबी छ । माओवादी केन्द्रबाट भने समीर भटराई, राजु धामी, एकराज थापा र हरि पौडलको नाम चर्चामा रहेको छ ।

निर्वाचनको तिथि नजिकिँदै जाँदा मेयरका आकांक्षीहरु भने बढ्दै गएका छन् । तीन ठूला दलमा मेयरका आकांक्षीहरुले पार्टीले टिकट नदिए बागी उम्मेदवारी दिने र पार्टी फेरबदल गर्ने प्रवृत्ति पनि जिल्लामा रहेको छ । निर्वाचनलाई मध्यनजर गर्दै विभिन्न स्थानीय तहमा पार्टी परिवर्तनको लहर नै चलेको छ । मधेसवादी दलले समेत आन्तरिकरुपमा मेयरको दाबी गर्ने आकांक्षीहरुलाई थान्को लगाउने काम गरिरहेका छन्।

प्रकाशित: २७ चैत्र २०७३ १३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App