६ वैशाख २०८१ बिहीबार
अन्य

दीपाको प्यारो गुँड

–सृजना खड्का

काठमाडौँको मुटु हो, बानेश्वर । अनि, बानेश्वर चाहिँ अभिनेत्री दीपाश्री निरौलाको मुटु हो । उनलाई असाध्यै प्यारो छ यो ठाउँ ।
किनभने, बानेश्वरकै एउटा सानो र साँघुरो कोठाबाट उनले संघर्ष सुरु गरेकी थिइन् । आज यही बानेश्वरमा उनको एउटा घर छ ।
‘बानेश्वरमा घर बनाउने ठूलो सपना थियो,’ उनले भनिन्, ‘तीन वर्षअघि त्यो सपना पूरा भयो । बानेश्वर मेरो संघर्ष र सपनाको शहर हो ।’  

२० वर्षको कमाइ
तीन तलाको हल्का हरियो रङको आफ्नो घर नियाल्दै दीपा कहिलेकाहीँ सोच्छिन्– कहाँबाट कहाँ आइपुगियो !
यो घर किन्न दीपाले आफ्नो जिन्दगीभरिको कमाइ लगाएकी छिन् । ‘यो घरमा मैले २० वर्षको कमाइ खन्याएकी छु,’ उनले घरको कथा सुरु गरिन्, ‘घरका निम्ति जोडेको एक÷एक पैसाको हिसाब राखेकी छु मैले ।’ छेस्का, छेस्का बटुलेर गुँड बनाउने चराको जस्तै कथा छ दीपाको पनि । घर देखाउँदै उनले भनिन्, ‘यो मेरो प्यारो र न्यानो गुँड हो ।’
तीन आना जग्गामा फैलिएको आफ्नो घर उनलाई विशाल लाग्छ । ‘यही तीन आना पनि तीन रोपनीजस्तो लाग्छ,’ उनले भनिन् ।
तीन वर्षअघि उनले रिनधन गरेर यो घर १ करोड ५ लाख रुपैयाँमा किनेकी थिइन् । त्यतिबेला एउटा नमीठो घटना पनि भयो । ‘मसँग पुग्ने पैसा थिएन,’ उनले सुनाइन्, ‘त्यो बेला ग्लोबल आईएमई बैँकको ब्य्रान्ड एम्बेसडर थिएँ । त्यहाँबाट २५ लाख ऋण लिएँ । घर बैना गर्ने बेलामा एउटा नमीठो घटना भयो । यूकेमा कार्यक्रम गरी पाँच लाखजति ल्याएकी थिएँ । आफ्नै कोठाबाट त्यत्रो पैसा हरायो ।’
उनले किन्न खोजेको घर ढुकुटीमा फसेको रहेछ । ‘यही घर बेचेर मालिकले ऋण तिर्न खोजेका रहेछन्,’ उनले सम्झिइन्, ‘भाग्यले यो घर मैले पाएँ ।’
साथमा ‘राम्रै रकम’ भएपछि दीपाले घर किन्न खोजिन् । ‘आफैँले बनाउँदा धेरै लफडा हुने भएकाले घर किन्ने सोच बनाएँ,’ उनले भनिन् । धेरै ठाउँमा घर हेर्न हिँडिन् तर कुनै घरले पनि उनको चित्त बुझाउन सकेन । जब उनले बानेश्वरमै यो घर हेरिन्, उनको मनले ठानिहाल्यो– यही किन्छु ।
‘घर हेर्न भित्र छिर्नेबित्तिकै सिँढीको बनावटले मेरो मन तान्यो,’ उनले स्मरण गरिन्, ‘ठूलठूलो घुमाउरो सिँढी । वास्तु पनि मिलेको । चारैतिर घाम लाग्ने । पानीको पनि सुविधा भएको । मैले खोजेको÷रोजेको जस्तै घर पाएँ ।’
आफ्नो स्वामित्वको घरमा पहिलो पाइला हाल्दा उनी बेस्कन रोइन् । ‘घर जिन्दगीको ठूलो सपना हो,’ उनले भनिन्, ‘मेरो जिन्दगीभरिको सपना पूरा भएको थियो । खुशीले रोएँ निकै बेर ।’

पुरानो स्टोभ

उनको विचारमा घर भनेको यस्तो हुनुपर्छ, जहाँ छिर्नेबित्तिकै टेन्सनमुक्त भइयोस् । घर छिर्नेबित्तिकै उनलाई बेग्लै संसारमा आएको आभास हुन्छ । उनी कहिल्यै घरमा बाहिरको टेन्सन लिएर झोक्राउँदिनन् । ‘घरमा मेरो संसार छुट्टै हुन्छ,’ उनले भनिन्, ‘सारा तनाव बिर्सन्छु घरभित्र पसेपछि । जिन्दगी रमाइलो र सुन्दर लाग्न थाल्छ ।’
एउटा सानो कोठाबाट संघर्ष गरेकी उनले करिअर राम्रो हुँदै गएपछि दुइटा कोठा, त्यसपछि फ्ल्याट गर्दै मध्य बानेश्वरमा घर किनिन् । जहाँ बसे पनि उनीसँग एउटा पुरानो स्टोभ हुन्छ । ‘पहिला कोठामा बस्दा मैले चलाउने गरेको स्टोभ अझै छ,’ उनले भनिन्, ‘सुखमा नमात्तिन त्यो स्टोभ बेलाबेलामा हेर्छु । मेरो संघर्षको प्रतीक पनि हो त्यो ।’

कलेजी रङ प्यारो
अहिले उनको यो घर नै मूल घर भएको छ । उनकी दिदीको छोरी पनि उनीसँगै बस्छिन् । ‘दिदीबहिनी आइरहन्छन्,’ उनले भनिन्, ‘केही समयपछि भाइबुहारी पनि यहीँ बस्ने गरी आउने भएका छन् ।’ हाल एक जना सहयोगी बहिनीले उनलाई सरसफाईमा सघाउँछिन् ।
दीपालाई घरको साजसज्जा बेला–बेला फेरबदल गर्न मन लाग्छ । कहिले पर्दा चेन्ज गर्छिन्, कहिले सोफा ।
घर किन्दा जस्तो रङ थियो, अहिले पनि त्यस्तै छ । बाहिर हल्का हरियो रङ छ भने भित्र कोठाअनुसार खुलेका ‘लाइट कलर’हरूले भित्ता रंगाइएका छन् ।
‘पर्दाले पनि घरको शोभा बढाउँदो रहेछ,’ उनले भनिन्, ‘मेरो मन पर्ने कलर मरुन र पर्पल हो । यसैकारणले पर्पल लाइट कलरको पर्दा हालेकी छु ।’ बैठक कोठामा उनले कलेजी रङको सोफा राखेकी छिन् । ‘मरुन कलर मेरो राशिसँग मिल्ने भएकाले पनि म यो रङ बढी प्रयोग गर्छु,’ उनले भनिन् । चर्चित हास्य सिरियल ‘तीतो सत्य’का धेरै भाग दीपाको यही घरमा सुट गरिएका थिए ।
उनको घरमा बगैँचा छैन । तर, गमलामा फूलहरू लगाएकी छिन् । ‘कौसीमा गमलाहरू राखेर बगैँचा बनाउने योजना छ,’ उनले भनिन् ।

छोरीको घर देखेर रोए बुबा
दीपालाई लाग्छ– कलाकारको सम्पत्ति भन्नु केवल कला हो । ‘हामी कलाकारको सञ्चयकोष हुँदैन,’ उनले भनिन्, ‘आर्थिक रूपले सुरक्षित हुने अन्य उपाय पनि हुँदैन । कम्तीमा एउटा घर भयो भने बुढेसकालमा   टाउको लुकाउन ओत त हुन्छ ।’
उनले घर किनेको १५÷२० दिनपछि विराटनगरबाट उनका बुबा आए । ‘रुँदै घरभित्र छिर्नुभयो,’ उनले सम्झिइन्, ‘बाउआमाको सोच आफ्ना छोराछोरी सेटल होऊन् भन्ने हुँदो रहेछ । बुबा मेरो सफलतामा भावुक हुनुभएको थियो ।’
दीपालाई साथीहरू जिस्काउने गर्छन्– ‘घर त किनिस् तर घरमा बस्ने केटो चाहिँ कहाँ छ नि ?’
उनी ठट्टा गर्दै जवाफ दिन्छिन्, ‘केटा मैले भिœयाउने हो र ? म पो भित्रिने हो त ।’

प्रकाशित: २७ चैत्र २०७३ १०:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App