६ वैशाख २०८१ बिहीबार
अन्य

‘असफलताको डर त्यागेपछि सफल भइन्छ’

केही वर्षअघि एउटा अन्तर्वार्तामा उद्यमी तथा सांसद् छायादेवी शर्माले भनेकी थिइन्, ‘म कसैको छायामुनि बस्न सक्दिनँ ।’ उनको एकसूत्रे जीवन दर्शन छ– कसैको छायामुनि बसियो भने जीवनमा केही गर्न सकिन्न ।  
बिहानदेखि बेलुकासम्म सामाजिक र राजनीतिक काममा सक्रिय छिन् उनी । उमेरले ६० वर्ष काटिसके पनि क्रियाशीलता र ऊर्जामा उनलाई १७ वर्षे तन्नेरीले पनि टक्कर दिन हम्मे पर्छ ।
अहिले व्यक्तिगत कामभन्दा समाजसेवा उनको प्राथमिकतामा छ । आफू सक्षम भएर मात्र पुग्दैन, पछाडि पारिएको समुदायलाई माथि उठाउनुपर्छ भन्ने उनको मान्यता छ ।
दुई दशकदेखि महिलाको उद्यमशीलता विकासमा सक्रिय छाया विगत छ वर्षअघिदेखि राजनीतिमा आएकी हुन् । महिला उद्यमीको परिचय बनाएकी उनी अहिले सांसद् छिन् । संघीय समाजवादी फोरम नेपालबाट व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्छिन् । पार्टीको विदेश विभाग उनकै जिम्मामा छ ।
काठमाडौँमा जन्मिएकी उनले राम्रो शिक्षादीक्षा पाइन् । समाजशास्त्रमा स्नातकोत्तर उनी आफ्नो सफलताको श्रेय बाल्यकालको हुर्काइलाई दिन्छिन् । भन्छिन्, ‘प्रगतिशील वातावरणमा हुर्किएँ । मेरा आमाबाउले पढ्नुपर्छ, काम गर्नुपर्छ, आफ्नो खुट्टामा उभिनुपर्छ भन्ने सिकाए ।’
नेपाल महिला उद्यमी महासंघको केन्द्रीय अध्यक्ष भइसकेकी छाया किन राजनीतिमा आइन् त ? ‘महिलाका लागि काम गर्ने इच्छाले राजनीतिमा आइयो,’ उनले भनिन् । समाजसेवा र महिला उद्यमशीलताको क्षेत्रमा काम गर्दागर्दै उनी सांसद् भइन् ।
काठमाडौँमा पर्यटन तथा होटल व्यवस्थापनको कलेज चलाएकी थिइन् उनले । ‘२० वर्ष महिला उद्यमी संघमा आबद्ध भएर काम गरेँ,’ उनले भनिन्, ‘त्यहाँ काम गर्दा महिलाको उद्यमशीलता बढाउने धेरै काम सरकारसमक्ष हुन्थ्यो । वकालत गर्न मन्त्रालय धाउनुपथ्र्यो ।’
सरकारी कामको ढिलासुस्तीले उनको मनमा चोट पुग्यो । ‘आफू निर्णायक तहमा नपुग्दा दुई वर्षमा हुने काम छ वर्ष लाग्ने बुझेँ,’ उनले भनिन्, ‘त्यसका लागि आफैँ अग्रसर भएर निर्णायक तहमा पुग्नुपर्छ भनेर राजनीतिमा होमिएँ ।’
सामाजिक काममा सक्रिय भए पनि आफूमा राजनीतिको भोक पहिलेदेखि नै भएको उनले बताइन् । ‘पहिला आफू आर्थिक रूपमा बलियो नभएसम्म राजनीतिमा जानु हुँदैन भन्ने मेरो मान्यता थियो,’ उनले भनिन्, ‘व्यवसायबाट आर्थिक रूपमा सक्षम भएपछि सक्रिय राजनीतिमा लागेकी हुँ ।’
जीवनभर राजनीति गरेर पनि जनप्रतिनिधि हुन नपाउने यहाँ धेरै छन् । तर, छाया पार्टी प्रवेश गरेको तीन वर्षमै संविधानसभा सदस्य हुन पाइन् । ‘म लक्की पनि हुँ,’ उनले भनिन्, ‘पार्टीमा लागेको तीन वर्षमै सांसद् हुने अवसर पाएँ । फरक समुदायबाट आएको पढालेखा महिला भएकाले पनि पार्टीले अवसर दिएको हुनुपर्छ ।’
राजनीति गर्न व्यवसाय सँगसँगै हुनुपर्ने उनको मान्यता छ । ‘राजनीति सेवा हो,’ उनले भनिन्, ‘आफ्नै व्यवसाय भयो भने समाजसेवा गर्न सकिन्छ । सरकारी तलबको भरमा कसैले सहयोग मागे के दिने ? काम नगरी कहाँबाट आयआर्जन गर्ने ? त्यही भएर राजनीतिकर्मीले केही न केही व्यवसाय गर्नुपर्छ ।’
छायाले सन् १९९८ मा देशकै पहिलो पर्यटन र होटल व्यवस्थापन कलेज खोलेकी थिइन् । आफूले गुणस्तरीय शिक्षा पाएकाले शिक्षामा नयाँ केही गर्नुपर्छ भनेर काम सुरु गरेको उनले बताइन् । ‘नेपालमा पर्यटनको विशाल सम्भावना भएकाले पर्यटन र शिक्षालाई कसरी लैजान सकिन्छ भन्नेमा गमिरहेको थिएँ,’ उनले सम्झिइन्, ‘एउटा तालिमका लागि भारत गएको बेलामा एक जना मित्रको आइडिया पाएपछि यहाँ आएर कलेज चलाएको हुँ ।’
टुरिजम एन्ड होटल म्यानेजमेन्टमा पहिलो स्नातक तहको कजेल सुरु गरेकी छायाले धेरै हण्डरठक्कर खानुपरेको बताइन् । ‘नेपालमा पर्यटन पढाइ नै हुँदैनथ्यो,’ उनले भनिन्, ‘पहिलो पटक आँट गरेर कलेज चलाएँ ।’
उनको नेपाल कलेज अफ ट्राभल एन्ड टुरिजम म्यानेजमेन्टमा अहिले स्नातकदेखि स्नातकोत्तर तहसम्म टुरिजम र ट्राभलका विभिन्न विषयमा पढाइ हुन्छ ।
‘१२ वर्षसम्म कलेजमा एउटा मात्र कोर्स लिएर चलाउँदा कठिन भयो’ उनले भनिन्, ‘तोकिएको दिनमा स्टाफलाई तलब दिनैपथ्र्याे, कसरी स्रोत जुटाएँ होला ? अहिले सम्झेर ल्याउँदा चकित पर्छु ।’ सुरुमा पाँच जना विद्यार्थीबाट सुरु भएको कलेज धान्न उनलाई महाभारत नै परेको थियो ।  ‘मेहनत गर्न कहिल्यै पछि नहट्ने स्वभावका कारण मैले हरेक बाधा छिचोल्दै गएँ,’ उनले भनिन् ।    
आफँै प्रिन्सिपल भएर कलेज चलाएकी छाया राजनीतिमा सक्रिय भएपछि त्यसको व्यवस्थापनमा उनका श्रीमान्ले साथ दिएका छन् ।
सुरुका दिनमा असाध्यै संघर्ष गरेकी छाया आज सफल छिन् । सफलताको रहस्य के रहेछ त ? ‘आँट, मेहनत र आत्मविश्वास,’ उनले भनिन्, ‘अनि, अर्काे एउटा महत्त्वपूर्ण कुरा– असफलताको डर त्यागेपछि सफल भइन्छ । असफल भइएला कि भनेर प्रयत्न गर्न छोड्नु हुन्न ।’


सफलताको सिँढी चढ्न
–जीवनमा सफल हुनका लागि सर्वप्रथम मानिसले एउटा लक्ष्य निर्धारण गर्नुपर्छ । लक्ष्य निर्धारण सोचेर–बुझेर मात्र गर्नुपर्छ । कतिपयले ठूलठूला लक्ष्य राख्छन् र ती पूरा गर्न नसक्दा निराश हुन्छन् । आफ्नो क्षमताअनुसार लक्ष्य निर्धारण गर्नुपर्छ ।
–सफलताका लागि आफ्नो रुचिअनुसार काम गर्नुपर्छ । आफूलाई मन परेको काममा मानिसले शतप्रतिशत ‘इन्पुट’ दिन्छ ।
–सफल हुनका निम्ति जीवनलाई सन्तुलित बनाउन अति आवश्यक छ । हरेक मानिसले जीवनमा पारिवारिक, व्यावसायिकलगायत थुप्रै समस्या भोग्नुपर्छ । जस्तोसुकै दुःख अथवा समस्यालाई सही तरिकाले सम्हाल्न सके सफलता सुनिश्चित हुन्छ ।
–असफलतादेखि डराउनु हुन्न । असफलताले कामलाई एक पटक फेरि गर्ने अवसर दिन्छ । त्यस कामलाई अझै राम्रो तरिकाले फेरि गर्न सकिन्छ ।
–दृढ संकल्पले मानिसलाई सफल बनाउँछ । कुनै पनि काम गर्ने निश्चय गरेपछि ‘यसका लागि जति मेहनत गर्नुपरे पनि गर्छु’ भन्ने सोच मानिसमा हुनुपर्छ ।
–कतिपयले लक्ष्य त निर्धारण गर्छन् तर त्यसअनुरूप कर्म गर्दैनन् । जसले गर्दा उनीहरूले सफलता पाउँदैनन् । सफल हुनका लागि लक्ष्यअनुसार मेहनत पनि गर्नुपर्छ ।
–नयाँ विचार, नयाँ योजनाले मानिसलाई सफलतातिर डोर्याउँछ ।
–‘जसरी भए पनि सपना पूरा गर्छु’ भन्ने विश्वास आफूमा हुनुपर्छ ।

–सकारात्मक सोच राख्ने व्यक्ति सधैँ सफल हुन्छ । नकारात्मक सोचले मानिसलाई उसको लक्ष्यबाट टाढा बनाउँछ ।
–एजेन्सी
 
 

प्रकाशित: २७ चैत्र २०७३ १०:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App