coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भीमेश्वर नगरपालिकामा तालमेलको चर्चा

दोलखा- दोलखाको सबै भन्दा ठूलो भीमेश्वर नगरपालिकाको नेतृत्वमा पुग्न दलहरु भित्र आकांक्षीहरुको अत्याधिक दौडधुप देखिएको छ।

भीमेश्वरमा करिब २२ हजार मतदाता छन् । कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल हुने चर्चाले भीमेश्वरको चुनावी माहोल तातिरहेको छ।

मेयरको उम्मेदवारका रुपमा कांग्रेस भित्र जिल्ला नेता ईश्वरनारायण मानन्धरको अत्याधिक चर्चा छ। भीमेश्वर नगरपालिका १० का मानन्धर गत बर्ष सम्पन्न पार्टी जिल्ला अधिवेशनमा सभापति पदका प्रत्याशी थिए । नगर भित्रको संगठनमा पकड रहेका मानन्धर बाहिरी जनमतमा समेत उतिकै लोकप्रिय छन्।

कांग्रेसबाट उपमेयरमा रुपा श्रेष्ठ, मोती मोक्तान, सखना थापा, भगवती शाही, ज्ञानु केसी लगायतका आकांक्षीहरु देखिन्छन्। कांग्रेससंग तालमेल भएमा माओवादीले उपप्रमुख पाउने कारण कांग्रेस भित्रका महिलाहरु भित्र अन्यौल समेत छ । तालमेल नभएमा माथिका आकांक्षी मध्ये एक हुनेछन्।

एमालेमा भरत केसी, राजेन्द्र मानन्धर र हरिवंश चौलागाईको अत्याधिक चर्चा छ । कानुन ब्यवसाय पृष्ठभुमीका केसी लामो समय देखी निरन्तर रुपमा पार्टीको जिल्ला कमिटिमा बसेर काम गर्दै आएका छन्। नगर क्षेत्रको संगठन भित्र लोकप्रिय रहेका केसी पार्टीमा निरन्तर लागिपरे पनि संगठन निर्माणको योगदानमा कमी रहेको साथै उनको व्यक्तीगत स्वभावसंग दाँजेर कतिपय कार्यकर्ताहरु आलोचना गर्छन्।

पत्रकारिता पृष्ठभुमीका मानन्धर पत्रकारितामा आउनु अघि अखिलको जिल्ला अध्यक्ष हुदै पार्टी भीमेश्वर नगर कमिटिको संस्थापक प्रमुख थिए। पत्रकार महासंघ दोलखाको २ पटक जिल्ला अध्यक्ष चलाएका मानन्धरलाई कार्यकर्ताहरु केसी भन्दा सामाजिक रुपमा बढी लोकप्रिय रहेको आकंलन गर्छन् । तर पार्टी संगठनमा निरन्तर नरहेका कारण उनले टिकट नपाउने कतिपयको ठम्याई छ।

मानन्धर र केसी सगैं हरिवंश चौलागाईको समेत चर्चा छ । एमालेको जिल्ला स्तरबाट भीमेश्वर नगरपालिकाको मेयरको टिकट बाँडफाड बारे सहमती हुन सकेमा भरत केसीले सहज रुपमा टिकट हात पार्ने बिश्लेषण कतिपय कार्यकर्ताको छ । उम्मेदवार मिलाउन नसकी विवाद बढेमा उनिहरु बाहेकका विकल्प अर्को नाम आउन सक्ने अड्कल बाजी केही कार्यकर्ताहरुले गर्ने गरेको भेटिन्छ । एमालेबाट उपप्रमुखमा कमला ओली, सिता केसी, कमला बस्नेत, राधा मास्के.लगायत चर्चामा देखिन्छन्।

नेकपा माओवादी केन्द्रबाट पूर्व सभासद हेम श्रेष्ठको अत्याधिक चर्चा छ। दोलखा बजारका श्रेष्ठ २०६४ को संविधान सभा निर्वाचनमा निर्वाचित सभासद हुन्। पूर्व सांसद हुँदा गरेको काम र दोलखा बजार सहित सबै वडाहरुमा देखिएको लोकप्रियताका कारण उनलाई पार्टीले टिकट दिने चर्चा जिल्ला नेतृत्व भित्र छ। श्रेष्ठको विकल्पमा अरु पनि आकांक्षी भेटिएपनि चर्चा कम छ । नगरमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेलको समेत चर्चा छ । यदी तालमेल भएमा माओवादी केन्द्रका हेम श्रेष्ठ नगर प्रमुख उठ्ने छैनन् । माओवादी केन्द्रले कांग्रेसलाई प्रमुखमा समर्थन गर्ने र उपप्रमुख लिने समेत चर्चा छ।

प्रकाशित: २७ चैत्र २०७३ १०:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App