coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

झापालाई माइभ्याली गोल्डकप

इलाम- साबिक विजेता रमपम झापा–११ ले तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको उपाधि जितेको छ। झापाले पहिलो संस्करणको विजेता त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै उपाधि रक्षा गर्‍यो।  निर्धारित समयमा गोल हुन नसकेपछि अतिरिक्त समय थप गरिएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो।

टाइब्रेकरमा झापाका कर्ण लिम्बु, रजिन धिमाल, रञ्जित श्रेष्ठ र बुद्धराज चेम्जोङले गोल गरे। झापाका बलरक्षक किशोर गिरीले आर्मीका जितेन्द्र कार्की र दीप लामाको प्रहारलाई उत्कृष्ट तरिकाले बचाए। आर्मीका सुरेन्द्र तामाङ र जर्ज प्रिन्स कार्कीको प्रहार गोलमा परिणत भएको थियो।

झापाका कप्तान प्रवेश कटवालले खेलअवधिभर विपक्षीले निकै दबाब दिएकाले निर्धारित समयमा गोल गर्न नसकेको बताए। ‘गोल गर्ने धेरै अवसर हामीले चुकायौं,' उनले भने, ‘तैपनि, आर्मीजस्तो विभागीय टिमलाई टाइब्रेकरमै भए पनि जित्नु कम चुनौतीपूर्ण थिएन।'

कटवालले टिमले छोटो–छोटो पास खेलेर सफल हुने जुन रणनीति बनाएको थियो, त्यसैमा आफूहरू सफल भएको बताए। ‘हामीले यसअघि जति प्रदर्शन गर्न सकेका थियौं, त्योभन्दा निकै राम्रो भएको छ,' उनले भने, ‘तर, मिडफिल्ड, फिजिकल फिटनेसलगायत सुधार गर्नुपर्ने पक्ष अझ धेरै छन्।'

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले खेल अवधिभर पाएका धेरै अवसर सदुपयोग गर्न नसक्दा पराजित हुनुपरेको बताए। ‘खेल सकिन लाग्दा भएको राम्रो प्रहार गोल पोस्टमै ठोक्किएर फर्किनु हाम्रो ब्याडलक भयो,' उनले भने, ‘जुन रणनीति बनाएर आएका थियौं, कुनै प्रयोग हुन सकेनन्।'

उनले झापाको मिडफिल्डमा पकड जमाउने आफूहरूको रणनीति असफल भएको बताए। ‘धेरै वटा चान्स पाएका थियौं तर सदुपयोग गर्न सकिएन,' उनले भने, ‘टिमको मिडफिल्डलगायतमा सुधार गर्नुपर्ने भएको छ।' आर्मीका सन्तोष तामाङले फाइनल खेलको म्यान अफ दी म्याच भएर नगद ७ हजार पाए।  प्रतियोगिताको विजेता झापाले ४ लाख र आर्मीलेे २ लाख ५० हजार पाए।

प्रतियोगिताका उत्कृष्ट खेलाडी आर्मीका विवेक बस्नेतले १ सय ५० सिसीको यामाहा मोटरसाइकल पुरस्कार पाए। सर्वाधिक गोलकर्ता पुलिस क्लबका अभिषेक रिजालले २५ हजार पाए। उत्कृष्ट रक्षक झापाका किशोर गिरी, डिफेन्डर झापाकै दिलेन लोक्ताम, मिडफिल्डर आर्मीका सन्तोष तामाङ, फरवार्ड आर्मीका टंक बस्नेत र प्रशिक्षक झापाका सञ्जय राईले ७/७ हजार नगद पुरस्कार पाए। उदीयमान खेलाडीका रूपमा माइभ्याली फुटबल क्लबका अविनाश लिम्बुले १५ हजार नगद पुरस्कार जिते।

 माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघ इलामले आयोजना गरेको प्रतियोगितामा लक्ष्मी हुन्डाई मनाङ–मर्स्याङ्दी, संकटा, एपिएफ, नेपाल पुलिस, रूपन्देही–११, भारत कोलकाताको दुर्गापुर स्टिल र कञ्चनजंघा फुटबल क्लब गरी १० टिमले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २७ चैत्र २०७३ ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App