४ वैशाख २०८१ मंगलबार
कला

शरणार्थीको कथामा 'देश खोज्दै जाँदा’

काठमाडौं- नेपालमा दुई दशकदेखि शरणार्थी जीवन बिताइरहेका भुटानी शरणार्थीको शिविर बसाइको वास्तविक कथा प्रस्तुत गरिएको फिल्म 'देश खोज्दै जाँदा' को ट्रेलर र गीत सार्वजनिक भएको छ। राजधानीमा बिहीबार आयोजित कार्यक्रममा आगामी जेठ १२ गते रिलिज हुने फिल्मका ट्रेलर र गीत सार्वजनिक गरिएका हुन्।

फिल्मका निर्देशक प्रकाश आङदेम्बेले फिल्ममा भुटानी शरणार्थीहरुको मौलिक, रहस्यात्मक र पारिवारिक जीवनका आन्तरिक तथा बाह्य द्वन्द्वलाई मार्मिक ढंगले उजागर गरिएको बताए। 'मैले पाँच वर्षभन्दा बढी समय लगाएर यो फिल्म बनाएको हुँ,' निर्देशक प्रकाशले भने, 'रातदिनसँगै उठबस गरेका नजिकका प्रतिभाहरु पलायन भएर तेस्रो देश लागे, त्यही विषयमा हामीले यो फिल्म बनायौं।'

कार्यक्रममा ट्रेलरसँगै  'छातीमा लागेको माटो' बोलको गीत सार्वजनिक गरिएको थियो। फिल्मका प्रमुख नायक बाबु बोगटी अमेरिकामा रहेका कारण कार्यक्रममा अनुपस्थित रहे पनि अर्का कलाकार हेमन्त बुढाथोकी देखिए। फिल्मका पटकथाकार उपेन्द्र र हेमन्तले भुटानी शरणार्थीको जीवनसँग फिल्ममार्फत जोडिन पाउँदा खुशी लागेको धारणा राखेका थिए।

ललितकलासँग आबद्ध निर्वासित भुटानीहरुको संस्था इफकेन्स इन्टरनेशनल फाउण्डेसन, इफाका भुटान, लाइन क्रस मुभिज र गन्तव्य थिएटरको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा मिना कोइराला, अरुणा कार्की, सरिता वली, तिब्बत राई, एलपी जोशी, शिवशंकर थापा, केशव आचार्य, टंक विकल्प, सुवास थापा र प्रताप सुब्बाको अभिनय छ।

उपेन्द्र सुब्बाको पटकथा रहेको फिल्ममा आभाषको संगीत, श्रवण मुकारुङको संगीत, स्वरुपराज आचार्यको स्वर, मनोरञ्जन श्रेष्ठको सम्पादन र सञ्जय लामाको छायांकन छ।

प्रकाशित: २७ चैत्र २०७३ ०३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App