coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जागिर छाडेर जनप्रतिनिधि बन्ने चाहना

उदयपुर- साबिक हँडिया गाविस हाल चौदण्डीगढी नगरपालिकास्थित ज्यामिरेझोर माविका शिक्षक चूडामणि राईलाई १ महिनायता चुनावी चटारोले समातेेको छ। १० वर्षदेखि माध्यामिक शिक्षकको रुपमा कार्यरत उनले केही वर्ष प्रधानाध्यापकको अनुभवसमेत बटुलिसकेका छन्। नेपालीमा स्नाकोत्तर राई एमालेनिकट शिक्षक संगठनमा पनि आबद्ध छन्।

पहाडी भेगको सुनकोसी गाउँपालिका अध्यक्षमा उम्मेदवार बन्न ३९ वर्षीय राईले टिकटका लागि पार्टी नेतृत्वको मन जित्न सदरमुकाम धाउने क्रम बाक्लो बनाइरहेका छन्।

त्यस्तै सुनकोसी गाउँपालिका– १ साबिक बाँसबोटे गाविस स्वास्थ्यचौकीका सिनियर अहेब कर्णशेर राई स्थायी भएको २ वर्ष मात्र भयो। वर्षाैं लोकसेवा आयोग लडेर स्थायी भएको जागीरमा भन्दा अहिले उनको मन गाउँपालिकाको अध्यक्षको उम्मेदवार हुनेतर्फ तानिएको छ। पार्टीले टिकट दिए जागिरबाट राजीनामा दिन तयार रहेको भन्दै ३७ वर्षीय राई टिकटका लागि गाउँदेखि जिल्लातहको नेतृत्वसम्म पुगिरहेका छन्। कांग्रेसमा आबद्ध राई जिल्ला स्वास्थ्यकर्मी युनियनमा पनि आबद्ध छन्। उनले पनि स्नाकोत्तर तहको शिक्षा हासिल गरेका छन्।

सुनकोसी गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवार बन्न ६ वर्षदेखि दक्षिण कोरियामा काम गर्दै आएका बाँसबोटेकै मिजास किराती पनि यसैसाता घर  आइपुगेका छन्। माओवादी केन्द्रको प्रवास समितिमा  क्रियाशील किराती मासिक ३ लाख रुपैयाँ तलब आउने काम छाडेर घर आएका हुन्।

१३ वर्षदेखि विद्यार्थी आन्दोलनमा लागेका केशव चामलिङ पनि गाउँपालिका अध्यक्ष हुन चाहन्छन्। स्नाकोत्तर तहमा अध्ययनरत साबिक आँपटार गाविसका ३५ वर्षीय राई एमाले छाडेर केही वर्षअघि अशोक राई नेतृत्वको संघीय समाजवादी फोरममा लागेका थिए। वर्ष दिनअघि एमाले फर्केका उनी पार्टीले टिकट पत्याए रौतामाई गाउँपालिका अध्यक्षमा उम्मेदवार बन्ने बताउँछन्।

रौतामाईमै पर्ने साबिक भुट्टारका खबीन्द्र रास्कोटी ठकुरी गाउँ छाडेर सदरमुकाममा व्यवसाय गर्दै आएको दशक भयो। उनी आफ्नो सबै व्यवसाय छाडेर गाउँपालिका अध्यक्ष उमेद्वार बन्ने मनसायसहित गाउँ फर्किएका छन्।

प्रकाशित: २७ चैत्र २०७३ ०२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App