८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस-एमालेमा गुटगत संघर्ष

झापा- संसद्का दुई ठूला दल कांग्रेस र एमालेभित्र स्थानीय तहको निर्वाचनमा टिकटका लागि आन्तरिक रस्साकस्सी चलिरहँदा साना दल भने धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन्। झापामा कांग्रेस र एमालेले आउँदो स्थानीय चुनावका लागि कतै पनि उम्मेदवारी घोषणा गरेका छैनन्।

तर, संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्र, राप्रपा, मालेलगायतका दलले धेरै ठाउँमा उम्मेदवारी घोषणा गरेका छन्। जिल्लाका विभिन्न नगरपालिकामा उम्मेदवारी घोषणा गर्नेमा साना दल अगाडि छन्। कांग्रेसले वैशाख ७ भित्र र एमालेले चैत अन्तिमसम्ममा स्थानीय तहबाट सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने कार्यतालिका बनाएका छन्। तर यसलाई कार्यकर्ताले  ढिलो भएको बताइरहेका छन्। 'अहिले बनेका नगर ठूला छन्, उम्मेदवारले एकपटक मतदाताको घरदैलोमा पुग्न पाउनुपर्थ्यो', कांग्रेसबाट बिर्तामोड नगरमा मेयरकै दाबी गरिरहेका एक नेताले भने, 'अहिले त पूरै ढिलो भइसक्यो। साना पार्टीले तय गरेर चुनौती दिइसके।'

उम्मेदवारी चयनलाई लिएर झापामा कांग्रेस र एमालेभित्र गुटगत प्रतिस्पर्धा छ। कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला गुटबीच खरो प्रतिस्पर्धा छ। दुवै पक्ष आफ्ना पक्षका कार्यकर्तालाई धेरै ठाउँमा उम्मेदवार बनाउने कसरतमा छन्। एमालेभित्र पनि उस्तै अवस्था छ। अध्यक्ष केपी ओली र नेता माधव नेपाल गुटको परम्परागत लडाइँ अहिलेको चुनावमा पनि जारी छ। ती दलका जिल्लास्थित नेताका अनुसार गुटगत सन्तुलन मिलाउने क्रमले नै उम्मेदवारी छिनोफानो प्रक्रिया लम्बिरहेको छ।  उम्मेदवारी चयनमा ढिलाइ हुँदा प्रमुख पदका सबै दाबेदार  यतिबेला मतदाता भेट्ने अभियानमा छन्।

दुई प्रमुख दलमा भएको यस्तो रस्साकस्सी संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्र, चौथो ठूलो दल राप्रपा, नेकपा मालेलगायतका दलमा भने छैन। त्यसैले उनीहरू धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन्। माओवादीले दमकमा मेयर र उपमेयर तथा केही वडाध्यक्षको उम्मेदवारी महिना दिनअघि नै घोषणा गरिसकेको छ। मेयरमा गगन पुरी र उपमेयरमा शान्ति धिमालको उम्मेदवारी घोषणा भएको छ। राप्रपाले पनि मेचीनगरमा मेयर, उपमेयरसहित वडाध्यक्षको नाम सार्वजनिक गरिसकेको छ। राप्रपाले मेचीनगरमा अशोक सुब्बालाई मेयर र सबिना बजगार्इंलाई उपमेयर पदको उम्मेदवार बनाएको छ।  

मालेले मेचीनगर नगरपालिकाको प्रमुख पदमा बद्रीप्रकाश उप्रेती  र उपप्रमुखमा दुर्गा उप्रेती पाठकको उम्मेदवारी घोषणा गरेको छ। पार्टीका जिल्ला सदस्यसमेत रहेका बद्रीप्रकाश उप्रेतीका अनुसार पार्टीले नगरको वडा अध्यक्षमा वडा नम्बर १ मा विन्दु श्रेष्ठ, ४ मा देवकुमार कार्की, ६ मा गणेश पोखरेल, ७ मा किरण कन्दङ्वा र १० मा भरोसादास पौडेललाई उम्मेदवार घोषणा गरेको छ। अन्य वडामा वडाअध्यक्षका लागि चाँडै नगर कमिटीको बैठकले नाम घोषणा गर्ने उप्रेतीले बताए। तर, वडा नम्बर ६ मा पार्टीका मेचीनगर सदस्य प्रेम निरौलाले स्वतन्त्र उम्मेदवारी दिने बताएका छन्। 'पार्टीले टिकट दिन्छ दिँदैन मलाई थाहा छैन। म वडा नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गरी चुनावी प्रतिस्पर्धा गर्नेछु', निरौलाले भने।

राप्रपाले मेचीनगरमा नगर प्रमुख, उपप्रमुखसहित ११ जना वडा अध्यक्षको टुंगो लगाएको छ। नगर अध्यक्ष सुशील आचार्यका अनुसार वडा नम्बर १ मा लोकनाथ लामिछाने, २ मा पार्वता न्यौपाने, ६ मा बाबुराम तामाङ, ७ मा चन्द्र निरौला, ९ मा गंगाराम खरेल, १० मा कल्याण खड्का, ११ मा दीपेश राई,  १२ मा विरोध पौडेल, १३ मा राम प्याकुरेल १४ मा रुद्र रिजाल र १५ मा इन्द्र थापाले प्रतिस्पर्धा गर्नेछन्।

साना दलले पार्टीकै तर्फबाट आधिकारिक उम्मेदवार अघि सारिरहँदा संसद्को सबैभन्दा ठूलो दल कांग्रेसमा भने व्यक्तिगत रूपमा उम्मेदवारी घोषणाको ओइरो लागेको छ।  मेचीनगर नगरपालिकाको प्रमुख पदमा  कांग्रेसका मणि उप्रेती र विजय डालमियाले  उम्मेदवारी घोषणा गरेका छन्। उप्रेती  कांग्रेसको १ नम्बर क्षेत्रीय सभापति हुन् भने डालमिया महाधिवेशन प्रतिनिधि। पार्टी नेतृत्वले भने यसलाई उनीहरूको 'इच्छा' भन्दै पार्टीले आधिकारिक उम्मेदवारी घोषणा गर्न समय लाग्ने बताएको छ।

प्रकाशित: २७ चैत्र २०७३ ०२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App