७ वैशाख २०८१ शुक्रबार
राजनीति

निर्वाचन कुनै हालतमा सर्दैन : नेता पण्डित

उर्लाबारी – नेकपा एमालेका पोलिटब्युरो सदस्य लालबाबु पण्डितले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने बताएका छन् । 

मोरङको उर्लाबारीमा शनिबार नगर सङ्गठन कमिटीले आयोजना गरेको स्थानीय तह निर्वाचन प्रचारप्रसार समिति घोषणालाई सम्बोधन गर्दै नेता पण्डितले सत्तारुढ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन सार्न खोजिरहेकाले एमालेले त्यसलाई सफल हुन नदिने बताए । 

आगामी स्थानीय तहको निर्वाचनमा दुईतिहाइ बढी स्थानमा एमालेले जित्ने दाबी गर्दै नेता पण्डितले सत्तारुढ दलहरु आत्तिएर निर्वाचन सार्ने षड्यन्त्रमा लागेको आरोप लगाए । 

अबको स्थानीय तह धेरै अधिकारसम्पन्न हुने बताउँदै उनले उम्मेदवार छनोटमा विशेष ध्यान पुर्याउन आग्रहसमेत गरे । 

कार्यक्रममा मुक्ति न्यौपानेको संयोजकत्वमा एक हजार ८७१ जनाको निर्वाचन प्रचारप्रसार समिति घोषणा गरिएको थियो । 

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य डा शिवमाया तुम्बाहाम्फे, वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ, मोरङ जिल्ला अध्यक्ष विनोद ढकाललगायतले स्थानीय तहको निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएका थिए। रासस 

प्रकाशित: २६ चैत्र २०७३ १३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App