७ वैशाख २०८१ शुक्रबार
अन्य

उपहार के दिऊँ !

विवाह, जन्मोत्सव वा अन्य कुनै पनि शुभकार्यमा पुस्तक उपहार दिने चलन नेपालमा उतिसारो विकास भएको छैन। कतिपय विकसित मुलुकमा भने यस्तो चलन चल्न थालेको लामो समय भइसकेको छ। अन्य भौतिक सामग्री वा पैसा नै उपहार दिनुभन्दा पुस्तक दिँदा त्यसको उपयोग भावी पुस्ताले समेत गर्न सक्छ। पुस्तक भन्नु ज्ञानको भण्डार हो। उपहारमा ज्ञान दिन पाउनु कम्ता असल काम होइन। एउटा असल, उपयोगी र गम्भीर पुस्तकले मान्छेको जीवन नै परिवर्तन गरिदिन सक्छ। यस्तो क्षमता अन्य कुनै वस्तुमा हुन सक्दैन। कुनै युगका मानिसबाटै अर्को युगका मानिसले पाएको पुस्तक पनि उपहार नै हुन्। जसबाट मानिसले जीवन जिउने कला सिक्छन्। आधुनिक युगमा पुस्तक उपहारको चलन बिस्तारै अगाडि बढेको पाइन्छ। ससाना बालबालिकाको जन्म दिनमा रमाइला कथा वा नैतिक शिक्षाका पुस्तक उपहार दिनु अर्थोक भन्दा कैयौँ गुणा राम्रो हुन्छ। आफै साहित्यका पुस्तक लेख्ने नेपालका लेखकहरू पुस्तक उपहार दिने काममा कत्तिको रूचि राख्छन् त?

महिलाका काँधमा घरखर्च पुर्‍याउने भार हुन्छ। घर–व्यवहारले उनीहरू पुस्तक किन्न पाउँदैनन्। त्यसैले महिलालाई पुस्तक उपहार दिनु राम्रो हो :  अर्चना थापा

पुस्तक खुला दिलले दिन्छु :  राजेन्द्र विमल

जनकपुरका साहित्यकर्मी राजेन्द्र विमल पुस्तक उपहार दिने कार्यमा निकै उदार छन्। ‘जसलाई दिँदै छौं, उसलाई पुस्तक कति महŒवपूर्ण छ भन्ने हेर्छु,' विमल भन्छन्, ‘जसलाई म पुस्तक दिन्छु प्रशन्नता व्यक्त हुन्न भने व्यर्थ लाग्छ।’ त्यसैले उनी देश, काल र पात्र हेरेर पुस्तक उपहार दिन्छन्।

उनका तीन पुस्तक निस्कने तयारीमा छन्। संस्कृत विश्वविद्यालयको संस्कृति विभागले निकाल्न लागेको संस्कृत संस्करण, कथासंग्रह र आफ्नै जीवनीका पुस्तक ल्याउने तयारीमा उनी लागिपरेका छन्।

बन्धुबान्धवलाई दिन पुस्तकभन्दा अर्को राम्रो उपहार नरहेको उनी उल्लेख गर्छन्। उनका कोही साथी बुद्धका मूर्ति पाउँदा खुसी हुन्छन्, कोही आधुनिक मिथकका पुस्तक पाउँदा। तर, आफैँले लेखेका पुस्तक छन् भने सबैले पढिदिऊन् भन्ने रहर हरेकलाई हुने उनको मान्यता छ।

राम्रो पाठक छन् भने उनी आफ्नो मात्र होइन, अरुको पुस्तक समेत थपेर उपहार टक्र्याउँछन्। एक दिन भारतीय विद्वान् कृष्ण चैतन्य उनीकहाँ आए। भलाकुसारी, खानपिन सबै भयो। 'मित्रलाई जाने बेला खाली हात कसरी पठाउने मलाई निकै गाह्रो भयो,' उनी सम्झन्छन्, 'के दिउँ के दिउँ भयो, इंग्ल्यान्डबाट डलर तिरेर मगाएको ज्याकोब बर्कहाटको पुस्तक उपहार दिएँ।'

उपहार दिँदा निकै आनन्दित महसुस हुने उनको अनुभव छ। जसलाई दिने हो, उसको रुचि हेरी त्यसबमोजिमको पुस्तक उपहार दिने उनको भनाइ छ।

आफूले किनेका पुस्तक उनी कसैले माग्दा समेत उदार हृदयले दिन्छन्। त्यसरी लगिएका पुस्तक केही फिर्ता पनि पाउँछन्। फिर्ता आएनन् भने उनी सोच्छन्, ‘उसलाई अत्यन्त अत्यन्त प्रिय लाग्यो होला, त्यसैले राखे।’ उनी दुर्लभ खालका किताब संग्रह गर्ने गर्छन्। उनलाई त झन् बोराका बोरा पुस्तक उपहार आउँछन्। नई प्रकाशन बगर फाउन्डेसन, मदन पुरस्कार पुस्तकालय लगायतले उनको अध्ययनशीलता बुझेरै धेरैपटक धेरै थरीका किताब बोरैमा उपहार दिएर पठाएको याद छ।

अमेरिका, क्यानडाबाट आउने मित्रले पनि उनलाई किताब उपहार ल्याइदिन्छन्। किताब उपहार दिने मित्र उनलाई किताब जत्तिकै प्रिय लाग्छन्। ‘इंंग्ल्यान्डबाट सल्मान रुस्दीको किताब सेेटेनिक भर्सेस निस्किएको १५ दिनमा उपहार पाउँदा मेरो हृदय कम्ता प्रफुल्ल भएन,’ सम्झँदा अहिले पनि उनी भावविभोर हुन्छन्।

उनी जनकपुरमै साहित्य एकेडेमी र साहित्य प्रतिष्ठान सञ्चालन गर्छन्। आफू पढ्छन् र अरुलाई पढ्न प्रेरित गर्छन्। ‘मरेर लानु केही छैन, ज्ञान यही धर्तीमा आर्जन गर्ने हो, अनि यही धर्तीमा ज्ञान बाँडेर जाने हो,’ उनी मर्मस्पर्शी धारणा पुस्तक उपहारबारे राख्छन्।

 

उपहार पुस्तक पढ्छन् भन्ने ग्यारेन्टी हुन्न :  राधा पौडेल

'खलंगामा हमला'बाट मदन पुरस्कार पाएकी राधा पौडेल पुस्तक उपहार पाइएला कि भनेर बस्नुभन्दा किनेर पढ्नु राम्रो हुने बताउँछिन्।

‘पुस्तक दिएर पनि कतिले पढ्दैनन्,' उनी भन्छिन्, ‘दिएको निकै समयपछि पुस्तकबारे सोध्दा धेरैले भनेका छन्– हेर न पढ्नै भ्याएको छैन। यसैले उपहार दिइएका पुस्तक सबैले पढ्छन् भन्ने छैन।'

पुस्तकबारे जिज्ञासा राख्ने र पुस्तकका घटना परिस्थति थाहा नपाएकालाई एकाध उपहार दिनु राम्रै हुने उनी बताउँछिन्। 'नपढ्नेले कसैगरी पढ्दैनन्, पढ्नेले जसरी पनि पढ्छ,' उनले भनिन्।

महिलाले लेखेका पुस्तक पुरुष समुदायको खिसिटिउरीको साधन मात्र बन्ने गरेको उनले धेरै देखेकी छन्। ‘म अरुलाई के मन पर्छ भन्नेभन्दा आफूलाई मन परेका विषय लेख्छु, त्यसैले कसैलाई बाध्य पारेर पढ्न लगाउँदिनँ,’ उनी उपहारप्रति कठोर बन्छिन्। आफू पनि किनेर पढ्ने र अरुले पनि किनेरै पढे पुस्तक वा ज्ञानको महŒव बढ्ने उनको विश्वास छ।

 

पुस्तक किनेरै पढ्नुपर्छ :  रामलाल जोशी

रामलाल जोशी गृहनगर धनगढीमै लेखन र साहित्य प्रवर्द्धनमा सक्रिय छन्। यसपालि ऐना कथासंग्रहबाट मदन पुरस्कार पाएका जोशी विभिन्न सम्मान र साहित्यिक कार्यक्रममै व्यस्त छन्। 'ऐनाको सफलतापछि व्यस्तता बढेको छ, नयाँ लेख्न भ्याइरहेको छैन,' उनी भन्छन्, 'तर, व्यस्तता पनि साहित्यकर्मसँग सम्बन्धित नै हो।' अरु पाटो छाडेको छैन।' पछिल्लो समय उनी सुदूर पश्चिमको साहित्य देशको पूर्वी क्षेत्रतिर फैलाउने योजनामा छन्।

उनीसहितको टोली केही दिनमै पूर्वी नेपाल हुँदै भारतको दार्जिलिङ, सिक्किम, आसामसम्म कला–संस्कृतिको राष्ट्रिय यात्रा गर्दै छ। १५ दिने यो यात्रामा लेखनका नयाँ विषय जुटाउने योजनामा छन् उनी।

पुस्तक सित्तैमा उपहार दिनु जोशी त्यति राम्रो मान्दैनन्। ‘उपहारका नाममा सित्तैमा दिने परम्परा मैले तोडेको छु,’ उनी भन्छन्, ‘कृति विमोचन गरेपछि पढिदिनुहोला भनेर सहजै उपहार दिने चलन लेखकका लागि आत्महत्या गरेसरह हो।’

छाप्दा आफ्नो लगानीमा छाप्ने अनि फेरि सित्तैमा बाँड्न थालेपछि पुस्तकको महŒव नहुने उनको बुझाइ छ। 'किसान खेती बेच्छ। व्यापारीले वस्तु र सामान बेच्छन्। लेखकले पुस्तक बेच्ने हो त्यो पनि उपहार दिन थाले कसरी बाँच्ने,’ उनी प्रश्न गर्छन्।

ऐना छापिएपछि समीक्षकबाहेक उनले कसैलाई सित्तैमा दिएनन्। 'पुस्तक किनेरै पढ्नुपर्छ, मागेर र कसैले दिएर हैन,' उनी भन्छन्, ‘लेखकले नै उपहार दिन थाले मेहनत, लगानी, परिश्रम र समय खेर जान्छ। बरु अब्बल लेख्ने कोसिस गर्नुपर्छ।' अरुले आफूलाई पुस्तक उपहार दिए पनि उनले सकभर मूल्य तिरेका छन्।

बर्थडे गिफ्ट,एनिभर्सरी गिफ्टमा अरु सामानभन्दा पुस्तक नै उपहार दिनु राम्रो हो। 'तर, मागेर ल्याएको हैन, किनेर ल्याएको पुस्तक दिनुपर्छ,' उनी भन्छन्, 'पुस्तक ज्ञानको ठेली हो। किताब पढ्ने लत लाग्यो भने जसले जसरी पनि किनेर पढ्छ, सित्तैमा पाउने आशमा बस्दैन।'

 

महिला लेखक चिनाउन उपहार फाइदाजनक :  अर्चना थापा

महिला लेखकका पुस्तक बजारमा त्यसै पनि कम आउँछन्। आएका पनि सबै पुस्तक पसलमा कमै पुग्छन्। पुगेकामा पनि किनिदिएर पढ्ने माहोल अझै बनिसकेको छैन। यस्तोमा महिला लेखकका पुस्तक उपहार दिएर प्रवर्द्धन गर्नु नै ठूलो हतियार भएको प्रकाशक तथा लेखक अर्चना थापाको बुझाइ छ। सानैदेखि पुस्तक प्रेमी उनी आफ्ना उमेरकालाई मात्र हैन, साना केटाकेटीलाई पुस्तक उपहार दिन खुब मन पराउँछिन्। छोरीका साथीको बर्थडेमा पुस्तक उपहार दिँदा छोरीहरूको नमीठो वचन उनले सहनुपरेको थियो।

'अरुले खेलौना, चक्लेट दिन्छन्। मैलेे बुक दिँदा दिक्क मान्थे छोराछोरी,' उनले भनिन्। कसैको बिहे व्रतबन्धमा समेत उनी किताब बोकेर जान्छिन्। नेपाली समाजमा किताब किनेर पढ्न पुरुष सक्षम भए पनि महिलाको त्यस्तो अवस्था नआइसकेको उनको बुझाइ छ। त्यसैले उनी महिला मित्रलाई बढीभन्दा बढी पुस्तक उपहार दिन चाहन्छिन्।

'महिलाका काँधमा घरखर्च, बालबच्चाको स्कुलखर्च, आफ्नो व्यक्तिगत खर्च लगायत थुप्रै खर्च पुर्‍याउने भार हुन्छ,' उनी भन्छिन्, 'घर–व्यवहारले उनीहरू पुस्तक किन्न पाउँदैनन्। त्यसैले महिलालाई पुस्तक उपहार दिनु राम्रो हो।' महिलाको पर्व तीजमा चुराको साटो पुस्तक उपहार दिने प्रचलन बसाउनुपर्ने उनको सुझाव छ।

महिलाले महिलाकै पुस्तक नपढ्ने भएकाले पनि पुस्तक उपहारको संस्कृति बसाल्नुपर्ने उनको बुझाइ छ। ‘उपहारले महिलालाई महिलाकै कृति पढ्ने बानीको विकास हुन्छ,' उनी भन्छिन्, 'लेखिएका विषयमा सहमति वा असहमति राख्ने क्रम बढ्छ।'

पुस्तक उपहारको संस्कृतिले अब्बल पुस्तक लेख्न बढी भूमिका खेल्नेमा उनी विश्वस्त छन्। बजारमा नगएका कतिपय पुस्तक उनले महिला मित्रलाई उपहार दिएकी छन्, पुस्तक पाउनेले पढेर उनलाई प्रतिक्रिया दिएका पनि छन्।

'यसरी महिला लेखक चिनाउन, महिलाले लेख्न सक्छन् र तपाईंले पनि सक्नुहुन्छ भन्ने भर दिन पुस्तक उपहार बलियो माध्यम हो,' उनले भनिन्।

महिला लेखक वा महिलाबारेका पुस्तक साथीहरूले किनेरै उनलाई पनि दिन्छन्। 'यसरी पुस्तक उपहार दिनु राम्रो हो,' उनी भन्छिन्, ‘म पनि महिला पाठक बढाउन चाहन्छु। जसले जे भने पनि पुस्तक उपहार दिन छाड्दिनँ।’

 

विदेश जाँदा किताब उपहार लान्छु :  एलबी क्षेत्री

‘कुनै कोठालाई सजाउनु छ भने पुस्तक किनेर सजाऊ न,’ एलबी क्षेत्रीले जब यो स्टाटस आफनो फेसबुक वालमा राखे, तब धेरैतिरबाट उनलाई निकै सकारात्मक कमेन्ट आयो। उनले घरमै पुस्तकालय बनाएका छन्। आफ्नो पुस्तकालयमा पुस्तक सजाउन उनलाई एकदम मन पर्छ। लहर मिलाएर राखेका पुस्तक  पढुँ–पढुँ उनलाई। कविता र कथा विधामा कलम चलाइरहेका उनी अरुलाई उपहार दिन महँगा वस्तु हैन, पुस्तक नै किन्छन्। केही समयअघि एकजना नचिनेका व्यक्तिले पुस्तक पसलमा सात–आठवटा पुस्तक छाने। सबै किन्ने पैसा नपुगेपछि तीनवटा मात्र किनेर फर्कन खोज्दै थिए। पुस्तक किन्न गएका क्षेत्रीले भने, ‘यो पुस्तक मैले पनि किन्न लागेकै हो। ल मेरोतर्फबाट तपाईंलाई उपहार भयो।’ ती युवक खुसी भए। उनी बेलाबेला विदेश गइरहन्छन्। यसरी जाँदा १० केजी त किताबै हुन्छन् उनको झोलामा। यो वर्ष उनी अमेरका युके, अस्ट्रेलिया लगायत देश घुमे।

‘म अमेरिका जाँदा नयनराज पाण्डेको सल्लीपीर भर्खरै निस्केको थियो, दशवटा किनेँ,’ उनले सुनाए, ‘जहाँ–जहाँ गएँ ती किताब बाँडे।’

सँगै निहारिका कार्कीको चिरहरण, शारदा शर्माको कम्पलगायत पुस्तक हितैषीलाई उपहार दिन भ्याए। उनको एउटा कविता संग्रह भीडमा हराएको मान्छे, दुई कथासंग्रह इन्द्रमायाको देशमा र त्रिशंकुको देशमा प्रकाशित छ। आफ्ना पुस्तक पनि उपहार दिन्छन् उनी। सप्रेम आलोचना, स्वीकारोक्ति ल्याउँछन् उपहारका पुस्तकले। उनी सहर्ष सबै स्विकार्छन्। विदेशमा भने आफ्ना पुस्तक मात्र उपहार दिने चलन रहेको उनको अनुभव छ। पछिल्लोपटक अमेरिकामा डायना स्मिथले उनलाई आफ्नो पुस्तक उपहार दिएकी थिइन्। उनले मित्रजनबाट गुल्जार, शोभा डेका पुस्तक उपहारका रुपमा पाएका छन्। नेपाली समाजमा पुस्तक नै किन्न नसक्ने गरिब कमै रहेको आंकलन उनको छ। 'पढ्ने इच्छा हुनेलाई पहिले पढ्ने बानी बसाल्न पुस्तक उपहारले काम गर्छ,' उनले भने।

कविडाँडा साहित्य समाजको तर्फबाट खोलिएको पुस्तकालयमा उनी अलिक महँगा पुस्तक राख्छन्। जुन कमैले किन्छन्। तर ज्ञान बढी दिने खालका सुधीर शर्माको प्रयोगशाला, रमेशनाथ पाण्डेको कूटनीति र राजनीति, जगदीश घिमिरेको अन्तर्मनको यात्रा र विनोद मेहताका केही पुस्तकको माग बौद्धिक जगतमा बढी नै रहेको क्षेत्री बताउँछन्।

 

पुस्तक उपहार दिवस

पश्चिमा मुलुकबाट सुरु भएको हो, पुस्तक उपहार दिवस। पढ्नबाट वञ्चित समूह वा समुदायका बालबालिकालाई सहयोग गर्ने पहिलो उद्देश्य रहे पनि पछिल्लो कालखण्डमा पुस्तकप्रेमीले एकअर्कासँग पुस्तक साटासाट गरी यो दिवस मनाउन थालेको पाइन्छ। भ्यालेन्टाइन डेकै दिन पुस्तक उपहार दिवस मनाइने गरिन्छ। प्रेम र सद्भावसँगै ज्ञान साटासाट गर्ने माध्यमका रूपमा पुस्तक दिवसलाई मानिन्छ। पठन संस्कृतिको विकास गर्न यो दिवस सहायक बन्दै गएको पनि छ। स्पेनबाट सुरु भएको यो दिवस नेपालमा भने सन् २००५ देखि मनाउन थालिएको पाइन्छ।

क्यानडाका कार्ल ल्यान विन्टरले सन् २०१२ मा पुस्तक र समय किन उपहार दिनुपर्छ भन्ने सन्दर्भ जोडेर निकै मार्मिक पुस्तक नै लेखे। पुस्तकको नाम थियो, गिफ्ट डे। कथाकी पात्र थिइन्, युगान्डाकी किशोरी नासाली। उनी आफ्नो भाइजस्तै लेख्न, पढ्न र केही कुरा सिक्न रुचि राख्थिन्। एक दिन उनीहरूकी आमा एचआइभी एड्सको संक्रमणका कारण मृत्यु भयो।

 उनकी आमा चाहन्थिन् छोरीले पढून्। तर आमाको मृत्युपछि नासालीले घरपरिवारको रेखदेख गर्न र काम गर्न जानुपर्ने बाध्यता भयो। त्यसपछि उनको पढ्ने–लेख्ने समय खोसियो। उनका भाइ र बाबाले यो कुरा देखिरहेका थिए। एक दिन उनी बिहानै उठेर आफ्नो घरायसी काम गर्न खोजिन्, उनी आश्चर्यमा परिन्– उनको काम कसैले गरिसकेको थियो। उनले फुर्सद पाइन्। अनि उनको हात किताबतिर लम्कियो। भाइ र बाबाले यसरी नै हप्तामा केही दिन समय उपहार दिन थालेपछि उनको पढ्ने सपना पूरा हुन थाल्यो। भाइले समय मात्र हैन दिदीलाई पढ्ने पुस्तक पनि उपहार दिन थाले, पढ्नबाट वञ्चित नासाली शिक्षाको बाटोमा लम्किन थालिन्। लेखकले त्यो पुस्तकबाट कमाएको आम्दानी समेत बालबालिकालाई पुस्तक उपहार दिनकै लागि दान गरेका थिए।

प्रकाशित: २६ चैत्र २०७३ ०४:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App