coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

कुबेरदाइको भान्सा

छवि अनित्य

'ल है सर, आजचैँ दायाँबायाँ होइन नि! मैले भन्द्या छु। म तल गोठ पुगेर आउँछु।'

कुबेरदाइले अलि चेतावनी नै दिएर गए आज। यस्तो लाग्यो, आज यिनको घर नपुगे मैले ठूलै अपराध गरेको ठहरिनेछ।

कुबेरसिं थापा, उमेर ३८ वर्ष। घर माल्टा, ललितपुर। पाँचजनाको परिवार– श्रीमती, दुई छोरी र एक छोरा।

घर?

'त्यो त वैशाख १२ लाई सोध्नुपर्छ,' यो उनैको भनाइ हो।

यो गाउँमा म आइपुगेको धेरै भएको छैन। एउटा हाईस्कुल छ, सिंगै गाविसभरि, जो मेरो कर्मथलो हो। अब त यो ठाउँ वागमती गाउँपालिकाको वडा नम्बर २ मा पर्ने भयो, स्थानीय तह संरचनासँगै।

कुबेरदाइ असाध्यै नजिकिन चाहने मान्छे। म यहाँ आएदेखि नै उनी हरेक भेटमा यसै भन्छन्, 'हाम्रोमा आउन हुन्न है? एक मुठी पिठो त उमालेर ख्वाउन सक्छौँ के हामी पनि।'

निकै आत्मीयता झल्काउँछन् कुबेरदाइ। तर जाने मेसो नमिलेर हो वा नमिलाएर, आजसम्म उनको दैलोमा पाइला टेक्न भ्याएको छैन। 'आजचाहिँ पक्का जान्छु,' मैले मनमनै सोचेँ।

०००

निशा, कुबेरदाइकी जेठी छोरी। १० कक्षामा पढ्छिन्, १६ टेकिन् आजैबाट। १० कक्षामा टाँसिएको जन्मदिनको तालिकाले यसै भन्छ।

'भरे त हाम्रोमा आउनुपर्छ है सर,' उनले मनैदेखि आमन्त्रण गरेकी थिइन् स्कुलमै। त्यसैले पनि पुग्नुपर्छ भन्ने लागेको थियो। अझ कुबेरदाइले थर्काउने भाषामै बोलेपछि जानैपर्ने भयो।

हुनेखाने परिवारमा सहरतिर हो भने यो 'स्विट सिक्स्टिन' एउटा विशेष पर्व नै हुन्थ्यो। कुबेरदाइ कहाँ के छ, मलाई थाहा भएन।

साँझ पर्न लागिसकेको छ। खाना बनाउने मेलोपट्टि नलागिने भइयो आज। एक हिसाबले राम्रै पनि हो। भूकम्पपछि सबै गाउँले जस्ताको टहरो बनाएर बसेका छन्। मेरो डेरा पनि तिनैमध्येको एउटा टहरो हो। व्यवस्थापन साह्रो कठिन छ। त्यसमाथि घरमा पहिले आमा अनि अहिले श्रीमतीको हातको खाने बानी परेकालाई साँझ–बिहान पकाएर खानु सजायजस्तै हुन्छ।

१५–२० मिनेटमा कुबेरदाइ फेरि टहरोका ढोका चियाउन आइपुगे।

'हैन, निस्कने होइन भन्या? कति गुप्तवास बसिरा'को? ल हिँड्नुस्। कहिलेकाहीँ यो फकिर कुबेरको भान्सा पनि चाख्नुपर्छ।'

'म अघि नै तयार थिएँ नि। खालि तपार्इंलाई पर्खिरा'को,' यति भनेर मैले टहरोको ढोका बन्द गरेँ। पाँच–सात मिनेटमा पुगिने थियो उनको घर।

'केटाकेटी रहर गर्छन् सर। आज ठूलीको जन्मदिन। हाम्रा पालामा त यस्तो कहिले भयो र? अरु त यस्तै हो, पढाइमा राम्रो गर्छे, त्यसैमा खुसी लाग्छ।'

बाटोमा उनी भन्दै गए। म सुन्दै गएँ।

'रहर मेरो पनि छ नि। अरुका रमाइलो मैले पनि देख्या छु। के गर्ने, देखेर मात्र हुन्न रै'छ!'

'बिस्तारै हुन्छ दाइ। सबै कुरा एकैपटक कसको पो सम्भव हुन्छ र?'

'तै पनि सर... उतिबेला पढ्न छाडेर के के न होला भन्ने लागेर जंगल पसियो। नत्र अहिले यो माल्टा फाँटमा हाम्रा छोराछोरी पढाउन तपाईंहरू धाएर आउनुपर्थ्यो र? हामी नै सक्थ्यौँ होला नि।'

वर्तमानप्रतिको नैराश्यतालाई थोरै पोखे उनले। कुबेरदाइको टहरोमा आइपुगिसकेका थियौँ। 'यी हेर्नुस्, दुई वर्ष हुन थालिसक्यो टिनको छाप्रोमा। अझै दुई लाख र तीन लाख भन्दै ललिपप देखाइरा'छ सर्खार। जति दिन मन लाग्छ, खुरुक्क हातमा राख्दे त हामी जे गर्नुछ गर्थ्यौं नि, हैन?'

टहरोभित्र भाउजूले उसिनेको स्कुस थालभरि सजाएर राख्नुभएको रहेछ। मझेरीमा पलेटी कसेर कुबेरदाइ र मैले त्यहीँबाट मेलो सुरु गर्‍यौँ।

'अलि छिप्पेको भए त आलुकै स्वाद आउँछ नि,' अँगेनोछेउ बसिरहेकी कुबेरदाइकी आमाले स्वादको कुरो थप्नुभयो।

'अलिकति नुन राख्दिनुस्, यो त्यत्तिकै स्वादिलो हुन्छ,' मैले भने। म पनि अलिअलि स्वादको पारखी नै परेँ। भाउजूको हात खाली नदेखेर दाइ आफैँ नुनको भाँडोतिर लम्कनुभयो। ठ्याक्कै एक चिम्टी मात्रै बाँकी रहेछ बट्टामा।

'अनि नुन पनि त सक्केको रैछ त। अघि नै भन्नुपर्दैन?' दाइको अनुहार अलि खुम्चियो।

'ए कान्छा, जा त पल्लाघराँ पुगेर आइजो।' छोरोलाई बोलाएर नुनको बट्टा दिँदै आदेश दिए उनले।

'ए, दूध तताऊ न एक गिलास। सर चिया खानुहुन्न।' दाइलाई मेरो आदतको हेक्का रहेछ। भाउजू दूध तताउन थाल्नुभयो।

भूकम्पले भत्किएकै घरमा छ, कुबेरदाइको भान्छा। एकापट्टिको गाह्रो ह्वांगै पारेको छ भूकम्पले। राहतमा आएको त्रिपाल बेरेर खसीबाख्रा त्यतै बाँधिएका छन्। अर्कापट्टि सुरमा चुलो बलिरहेकै छ। त्यहीछेउ एउटा खाट छ। राति बेडरुम पनि यही हो कुबेरदाइ दम्पतीको। नजिकै जस्तापाताको टहरो छ। केटाकेटी त्यतै गृहकार्यमा व्यस्त छन्।

'बा, मासु पकाउने हो?' पल्लो घरबाट नुन लिएर आइपुगेको छोरोले कुबेरदाइलाई सोध्यो।

'हो हो। उता गएर पढ् खुरुखुरु। अहिले बेला भए'सि बोलाउँला,' दाइले छोरोलाई आदेश दिए।

उनले दिउँसै मेसो मिलाएका रहेछन्। जेठीको जन्मदिन एउटा बहाना पनि भएको थियो। खास उनी मलाई यो भान्छामा ल्याउन पहिल्यैदेखि मन गरिरहेका थिए। कारण, उनै जानुन्।

'यल्लाई ल्याको पनि ठ्याक्कै १८ वर्ष भयो।' सिलौटोमा जिरा पिस्दै गरेकी भाउजूलाई देखाउँदै कुबेरदाइ आफ्नो विगततिर लागे, 'घरबार सबै यसैको थाप्लामा हो। म अभागीको त के छ र सर।'

'ह्वाँका कुरा जैले यस्तै हो सर,' भाउजूले बीचैमा रोक्न खोज्नुभयो।

'तिमी खुरुखुरु आफ्नो काम गर न,' भाउजूलाई रोक्दै कुबेरदाइले कुरा अगाडि बढाए, 'सम्पत्ति भन्नु यिनैले जन्माका भान्टाङभुन्टुङ हुन्। अब यिनैले राम्ररी पढिदिए पुग्छ। यहाँसम्म त जसोतसो ल्याइयो सर। तर अब पो गाह्रो पर्लाजस्तो छ। दश पास गरे'सि कहाँ लगेर पढाउने, के पढाउने? न आफू क्यै जानिन्छ।'

'सबै उसै गरी टर्दै जान्छ दाइ। पीर लिनु हुन्न।' सान्त्वना दिनुबाहेक के गर्न सकिन्नथ्यो। मलाई थाहा छ, यिनको आर्थिक अवस्था। अस्ति अर्धवार्षिक परीक्षाको परीक्षा शुल्क पनि अझै बुझाइसकेका छैनन् केटाकेटीको। अब काठमान्डु राखेर छोरीलाई क्याम्पस पढाउनुपर्ने कुरा यिनी सोच्न मात्र सक्छन्।

'हामीले गर्नुपर्ने ठाउँमा के गर्नुपर्छ गरौँला। तपाईं छोराछोरीलाई पढ्ने वातावरण बनाइदिनुुस्। अरु धेरै चिन्ता लिनुपर्दैन।'

०००

निशा भान्छामा आइपुगी।

'सरलाई बोलाउनु भनेर यसैले अस्तिदेखि कर गरिराथी,' कुबेरदाइले भने। निशा भान्छामा आमालाई सघाउन थाली।

'अनि अरु साथीलाई बोलाइनौ?' मैले सायद नगर्नुपर्ने प्रश्न गरेँ। निशाले 'छैन'को भावमा टाउको हल्लाई।

'बोलाए पनि हामीजस्ताको झुप्रामा को नै आउँछन् र सर?' दाइले नै कुरो थपे, 'बरु पढाइ पो कस्तो छ सर यसको? खुबै रहर गर्छे पढ्न। बाउको पारा यै हो।'

निशाको पढाइलेखाइमा गुनासो गर्नुपर्ने ठाउँ छैन, छ त खाली वातावरणको।

भाउजूले भान्छा तयार गर्नुभयो। लोकल कुखुराको मासु। ढिँडो मेरै अनुरोधमा अलिकति थप्नुभएको थियो। खाना पस्कँदै गर्दा सोधेँ, 'अनि छोराछोरीलाई पनि बोलाउँ न त।'

'तिनीहरू अहिले खान्छन् क्या। पहिले तपाईं लिनुस् न,' कुबेरदाइले मेरो कुरालाई नकारे।

खानपिन सकेर स्वादिलो भान्छाका लागि भाउजूलाई धन्यवाद भनेँ। कुबेरदाइ खुसी देखिन्थे। बाहिरिँदै गर्दा भाउजू पनि दैलोसम्मै आइपुगिन्। केटाकेटी टहरोबाट निस्केर आँगनमा जम्मा भएका थिए।

'सर, ठूलीको टिप्सन फिस (ट्युसन फी) कति लाग्ने हो? यसो मिलाइदिनुस् है!' भाउजूको बोलीमा अनुनय थियो। म बुझ्न सक्थेँ उनको यो आग्रहलाई।

'आमा, दिदीलाई अब अर्को कुखुरा कैले ल्याइदिने?' छोरो भाउजूसित प्रश्न गर्दै थियो। म आँगनबाट बाटोमा निस्किसकेको थिएँ। फर्केर हेरेँ, कुबेरदाइका छोरीहरू आमासँगै पिँढीमा उक्लेर मैतिर हेर्दै थिए।

प्रकाशित: २६ चैत्र २०७३ ०३:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App