रीता अधिकारी 'ऋतु'
दुखिरहने कविता
अहँ,
कहिलेकाहीँ त निर्धक्क सास फेर्ने मेसो नि हुन्न
केको कविता लेखिबस्नु?
आफैँले भोगेको जीवन नै कथाजस्तो छ आफैँलाई
कसको कथा लेखिरहनु?
लाग्छ,
आइमाई हुनु
दुखिरहने कविता हुनु हो
कथा–व्यथा हुनु हो
आ–आफ्नै व्यथाको दह छ,
स्वास्नीमान्छेहरूसँग
एकैसाथ फुट्यो भने
दुनियाँ बगाउँछ।
हजुरआमा भन्नुहुन्थ्यो–
चर्को नबोल्नू
मुखमुखै नलाउनू
नफर्काउनू मुख
लोउनीमुन्छेको जातै पापी हुन्च
कपटी हुन्च लोउनीमुन्छे
पूरै मनपेट नदिनू
आफ्नै सौभाग्गेमा बिस्वास त अर्नै परो
पूरै भर नपर्नु बाबै
आफ्नु सोचोमोचो नि अर्नु
नत्र, भबिस्सेमा
कुक्कुरले नपाउने दुख्ख पाइन्च।
लाग्थ्यो,
किन त्यस्तो भनिन् होला आमैले
उनैको जमानाको कुरा होला सायद
अहँ, होइन रहेछ।
आइमाई हुनु
स्वास्नी मान्छे, नारी या महिला हुनु
भन्नलाई जे भने पनि
दुखिरहने कविता हुनु हो
महिला मुक्ति र नारी अधिकारको आवाज सुसेल्दै
गमलामा मुस्कुराउनु हो
घर गरेर खानु हो अथवा होइन
घरले खानु त जरुर हो।
गुँड लाउनु र गुँड कुर्नु पनि हो
घर हुनु, भर हुनु या छानो हुनु
मझेरी, बिसौनी या चौपारी हुनु
यी तमाम हुनु हो नारी हुनु
सृष्टिको सर्वोच्च सौन्दर्य हो नारी
विश्वका तमाम नारी हो
गर्व गरौँ आफू हुनुमा
दुखिरहने कविता नै सही।
ओ, पुरुषसत्ता!
तिम्लाई थाह छ, तिम्रो अम्माको नाम?
आमा, हजुरआमाहरूको नाम थाहा छ?
तिनीहरूको नाम हुन्छ कि हुन्न हँ?
ऐनाअघिल्तिर उभिएर
कमजोर धागोमा उनिएको
दुई–चार लुम पोते
सस्तै किन्न सकिने दुई चिम्टी सिन्दुर
कमसल काँचका चुरा
गाजल, टीका, मेहन्दी
कति बलवान् हुन्छ?
नारीका निम्ति!
कति मूल्यवान् हुन्छ?
सृष्टिका निम्ति!
एउटी नवयौवनाको ओठको तृष्णा
अधरको हाँसो
आँखाको प्यास
हृदयको बेचैनी
आखिर के हुन् यी सब
आँचल कि घुम्टो?
त्यो उदासी चेहरा
देखिन बाँकी सपना
जून पर्खेको अँधेरो
पानी पर्खेको पँधेरो
तगारो, आँगन र पिँढी
बिछ्यौना, चुलो र मझेरी
जग्गे हो कि मण्डप?
न निस्पि्कक्री हाँस्न पाउनु छ
न निर्धक्क रुन पाउनु छ
सधैँको हतारो, सधैँ चटारो
न काम छ देखिने, न फुर्सद
गए गै'हाल्छ सिंगो आँप
आए मात्रै झटारो
यो किस्ताकिस्तामा
पसारो परेको जिन्दगी
आखिर केका लागि?
म सोधिरहेछु प्रश्न
उभिएर ऐना अघिल्तिर
मेरो आफ्नै पुरुषलाई
मेरो आफ्नै ऐनालाई
ओ, मेरो प्रिय खसम
के नारीको अर्को नाम पीडा पनि हो?
किन मौन छौ प्रियतम?
केही त बोल!
एउटी नारीको सेल्फ पोट्रेट
भन्नेले सागर भनिदिए
फूल, जून, धर्ती भनिदिए
आकाश, जननी, सृष्टि भनिदिए
यी सब भन्नका लागि भनेका हुन् भन्थेँ
हो रै' छ!
नदी पर्खनु
प्यासी बन्नु र बनिरहनु
आँधी, हुरी, ज्वारभाटा चल्नु र चलाइरहनु
कहिले जम्नु, कहिले उम्लनु र वाफ बनेर उडिरहनु
सागर नभएर अरु के हुन सक्छे त नारी?
कहिले गमलामा
कहिले हत्केलामा
कहीँ तनमा, कहीँ मनमा
अरूले चाहेझैँ
अरूकै बगैंचामा
अरूकै लागि फुल्नु, मुस्कुराउनु र वासना छर्नु
बैंसमै टिपिनु अथवा ओइलिएर झर्न पर्खनु
फूल नभएर अरु के हुन सक्छे त नारी?
कहिले देखिनु
कहिले छोपिनु
फरक रूप र समयमा
निश्चित गति, यति र लय समातेर
सापटमा ऊर्जा लिएर ऊर्जा बाँड्नु
जून नभएर अरु के हुन सक्छे त नारी?
निरन्तर निरन्तर
प्रहार सहनु
दुख्नु र दुखिरहनु
जहाँ, जे, जस्तो परे पनि चुपचाप सहनु र सहिरहनु
धर्ती नभएर अरु के हुन सक्छे त नारी?
केही नहुनु
मात्र शून्य हुनु र पनि फैलनु अनन्त
हुनुको भ्रम पालेर
भएकाहरूको सबथोक हुनु
आकाश नभएर अरु के हुन सक्छे त नारी?
अलिकति फकाए मख्ख हुनु
थोरै घुर्क्याए उदास हुनु
आफ्ना सपनाहरू सबै भुलेर
आफ्नाको सपनाहरूमा सम्मोहित हुनु
जननी नभएर अरु के हुन सक्छे त नारी?
सृष्टि नभएर अरु के हुन सक्छे त नारी?
प्रकाशित: २६ चैत्र २०७३ ०३:४१ शनिबार