७ वैशाख २०८१ शुक्रबार
खेल

स्मिथको कप्तानी 'डेब्यु' सुखद

पुने- कप्तान स्टिभ स्मिथ र अजिन्क्या राहनेको अर्धशतकप्रेरित राइजिङ पुने सुपरजायन्टले बिहीबार इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियनसलाई ७ विकेटले हराएको छ। महाराष्ट्र क्रिकेट संघको रंगशालामा पाएको जितपछि कप्तान स्मिथले ब्याट्सम्यान लयमा भएको बेला खेल स्थान वा पिचको अवस्थाले खासै फरक नपार्ने बताए।

मुम्बईले दिएको १ सय ८५  रनको लक्ष्य पूरा गर्न पुनेलाई अन्तिम ओभरमा १३ रन आवश्यक थियो। अन्तिम ओभर बलिङ गरेका किरण पोलार्डको चौथो र पाँचौ बलमा स्मिथले छक्का प्रहार गरेपछि पुने ७ विकेटले विजयी भएको थियो।

‘जहाँसुकै होस खेलाडी लयमा छ भने केही फरक पर्दैन। पुने ब्याटिङका लागि राम्रो ठाउँ हो। अन्तिममा बल सही ठाँउमा लाग्नु भाग्य हो,’ ५४ बलमा अविजित ८४ रन बनाएका अस्टेलियाका टेस्ट कप्तान स्मिथले भने, ‘दुई छक्का प्रहार गर्दै खेल जिताउन पाउँदा खुशी लागेको छ। यो पिचमा सटका लागि समय मिलाउन कठिन हुन्छ।’

६ रन बनाएका मायंक अग्रवाललाई चौथो ओभरको पहिलो बलमै मिचेल म्याक्लेनघनले आउट गरेपछि पुने एक समय संघर्षरत स्थितमा पुगेको थियो। त्यसपछि ब्याटिङमा आएका स्मिथले राहनेसँग ५८ रनको साझेदारी गर्दै जितको आधार बनाएका थिए।

राहने ३४ बलमा ६ चौका र ३ छक्कासहित ६० रन बनाएपछि टिम साउथीको बलमा डिप स्क्वायरलमा नितिश रानाबाट क्याच भएका थिए।

तर स्मिथले पुनेको लयलाई निरन्तरता दिँदै बेन स्टोक्ससँग तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरे। कप्तानको रुपमा सफल डेब्यु गरेका उनले पहिलो पटक कप्तानको जिम्मेवारीमा नरहेका महेन्द्रसिंह धोनीसँग चौथो विकेटका लागि अविजित ४४ रनको विजयी साझेदारी गरे। स्मिथले ५४ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। स्टोक्सले २१ रन बनाए भने धोनी १२ रनमा अविजित रहे।

मुम्बईका हार्दिक पान्डेय, साउथी र म्याक्लेनघनले १/१ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङका लागि निम्त्याएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो। अशोक डिन्डाको अन्तिम ओभरमा ३ छक्का र १ चौका प्रहार गरेका मनिष पान्डे ३५ रनमा अविजित रहँदा मुम्बईका जोस बट्लरले ३८, नितिशले ३४, पोलार्डले २७ तथा पार्थिव पटेलले १९ रन जोडे।

पुनेका लागि दक्षिण अफ्रिकाका स्पिनर इमरान ताहिरले ३ विकेट लिए। रजत भाटियाले २ विकेट लिँदा स्टोक्स र एडम जम्पाको नाममा१/१ विकेट रहयो। आइपिएल अक्सन (बोलकबोल)मा इमरान ताहिरलाई कुनै टोलीले लिएका थिएनन्।

‘मलाई कुनै टोलीले नलिए पनि मनमा आशा भने थियो। पुनेले गरेको विश्वासमा आज न्याय गर्न पाउँदा गर्व लागेको छ,’ ताहिरले भने, ‘मेरा लागि सबै विकेट महŒवपूर्ण छन्। यहाँ धेरै टर्न नभए पनि बलले राम्रो दिशा लियो।’

प्रकाशित: २६ चैत्र २०७३ ०३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App