८ वैशाख २०८१ शनिबार
समाज

बोतलमा मेलम्ची पानी !

अम्बाथान (सिन्धुपाल्चोक)- मेलम्चीको पानी असोज महिनामा काठमाडौंमा आउँला त? मेलम्ची खानेपानी आयोजनाको समाचार संकलन गर्न अम्बाथान पुगेका पत्रकारको प्रश्न खस्न नपाउँदै मेलम्चीको सुरुङ खन्दै आएका श्याम दाहालले भने, 'बोतल ल्याउनुभएको छ? लिएर जानुस्, आजै पुग्छ।'

दाहालको ठट्यौले शैलीको यो जबाफमा मेलम्ची आयोजनाको यथार्थ लुकेको छ। असोजमै राजधानीवासीलाई दसैंको उपहारस्वरुप पानी दिने खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीको भनाइभन्दा मजदुर  दाहालको भनाइमा बढी यथार्थ झल्कन्छ ।

दिन–रात पसिना बगाएर एकएक इन्च सुरुङ लम्ब्याउँदै गरेका मजदुर  राजधानीमा पानी पुर्‍याउन  अझै केही समय पर्खिनुको विकल्प नरहेको सुनाउँछन्। उनीहरू मन्त्रीले भनेजस्तो आगामी असोजसम्ममा राजधानीमा मेलम्चीको पानी पुग्नेमा ढुक्क छैनन्।

किन असम्भव?

सुरुङ मार्गको काम अझै सकिएको छैन। २७.६ किलोमिटर सुरुङमध्ये करिब चार किलोमिटर खन्न बाँकी छ। ठेकेदार इटालियन कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सिएमसी) ले दैनिक १५ देखि २० मिटर सुरुङ खन्दै आएको मेलम्ची खानेपानी उपआयोजनाले जनाएको छ।

सीएमसीले सरदर दैनिक २० मिटरका दरले खन्न सकेमा अझै साढे ६ महिना सुरुङ खन्नमात्रै लाग्नेछ। सुरुङ सकेरमात्रै पानी आइहाल्ने पनि होइन। सुरुङभित्रको प्राविधिक काम पूरै बाँकी छ।

सुरुङ खनिसकेपछि भुइँ ढलान, फिनिसिङ, गेट भेन्टिलेटर निर्माण, अप्टिकल फाइबर बिछ्याउने, सिसी क्यामेरा र टि्रटमेन्ट प्लान्ट बनाउनेलगायतका काम सकेपछि मात्रै सुरुङमा पानी हाल्न सकिन्छ ।

मेलम्ची खानेपानी उपआयोजनाका अनुसार मेलम्चीको हेडवर्क्स (मुहान) क्षेत्रमा तत्कालै स्थायी खालका हेडवर्क्स डाइभर्सन टनेल, स्टेलिङ बेसिन इन्टेक (पानी थिग्राउने ट्यांकी ), बेडलोड एक्सकुडर बेसिन (ढुंगा/बालुवा छान्ने), पुललगायतका संरचना निर्माणको सुरसारै छैन।

'मेलम्चीको हेडवर्क्स क्षेत्रमा असोजभित्रै स्थायी खालको संरचना बनाएर पानी ल्याउन सकिँदैन,' उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले भनेे, 'तत्कालका लागि अस्थायी संयन्त्रबाट पानी ल्याउन पनि ठेकेदारले कामको गति धेरै नै सुधार्नुपर्ने देखिन्छ।' उनका अनुसार दैनिक ३० मिटर सुरुङ खनेर मात्रै पनि पुग्दैन, हेडवर्क्स क्षेत्रमा अस्थायी संरचनाको कोफर ड्यामसमेत निर्माण गरेर पानी सुरुङभित्र छिराउनुपर्छ। वर्षाअगाबै ड्यामलगायतका कार्य सम्पन्न गरिसक्नुपर्छ। 'अस्थायी संयन्त्रबाट सोझै पानी छिराउँदा सुरुङमा ढुंगा–बालुवा छिर्ने जोखिम हुन्छ,' एक इन्जिनियरले भने, 'सुरुङमा छानेर मात्रै पानी पठाउनुपर्छ।'

गत फ्रेबुअरी १७ मा मेलम्ची खानेपानी उपआयोजना र ठेकेदार कम्पनीले २०१७ अक्टोबर (असोज) भित्रै मेलम्चीको पानी काठमाडौंमा खसाल्ने सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार आयोजनाले सुरुङ खन्न आवश्यक उपकरण खरिदका लागि बैंक ग्यारेन्टीमार्फत ३० करोड रुपैयाँ उपलब्ध गराउने र ठेकेदारले कामको गति बढाएर समयमै सक्ने लक्ष्य राखिएको थियो।

ठेकेदार कम्पनीले सम्झौताअनुसार अझै काम गर्न नसकेको उपआयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराई बताउँछन्। 'ठेकेदारले सम्झौताअनुसार सुरुङ खन्ने गति बढाएको छैन,' उनले भने, 'सुरुङ खन्ने गति तीव्र नबनाएसम्म असोजमा लक्ष्य भेट्न असहज हुन्छ। तर, हामीले ठेकेदारलाई  तोकिएको समयमा नै सक्न निर्देशन दिएका छौं।'

सिएमसीले सुरुङको मुख टाढा भएको, जगेडा पार्टपुर्जा नभएको बहाना गर्दै काममा आलटाल गरिरहेको छ।

भट्टराईले सिएमसीका इन्जिनियर सूर्य साहलाई सम्झौताअनुसार तत्कालै कामको गति बढाउन निर्देशन दिएका छन्। 'इक्युपमेन्ट आउँदैछ, आउँदैछ भनेर कति झुट बोल्नुहुन्छ? यहाँ आएर हेर्दा इक्युपमेन्ट नै आएको हुँदैन। योभन्दा दुर्भाग्य अरु के हुन्छ,' निर्देशक भट्टराईले साहसँग भने, 'अब आइन्दा यस्तो नगर्नुस्।'

उनले साहलाई ठेकेदारको मान्छे भएर होइन, एक नेपाली नागरिकको हैसियतले काम अघि बढाउन सुझाव दिए। 'मुखले मात्रै आउँछ भनेर भएन, काम गरेर देखाउनुपर्‍यो', उनले चेतावनीसहित भने, 'अन्यथा ठीक हुनेछैन।' इन्जिनियर साहले एक साताभित्रै अत्यावश्यक स्पेयर्स पार्ट ल्याएर कामको गति बढाउने दाबी गरे।

उपकार्यकारी निर्देशक दुवाडी भनेृ अस्थायी तबरबाट भए पनि असोजमा राजधानीमा पानी खसाल्ने दाबी गर्छन्। हालकै गतिले उनको दाबी पूरा हुने संकेत छैन। सुरुङ खन्न आवश्यक पर्ने बुमर मेसिन, ड्रिल मेसिनका लागि आवश्यक थप पार्टपुर्जाको अभाव देखिएको छ। एउटा उपकरण बिग्रिएको खण्डमा लामो समय काममा बाधा पर्ने गरेको छ।

मेलम्चीको हेडवर्क्स क्षेत्रमा ६० मिटर लम्बाइ र १४ मिटर उचाइ भएको चट्टान फोर्न बाँकी नै छ। चट्टान फोरेपछि मात्र अस्थायी ड्याम निर्माण गर्ने बाटो खुल्छ। खोलाको बाटो परिवर्तन गरेर सुरुङ जोड्ने मार्ग बनाउन आवश्यक छ। अस्थायी ड्याम बनाएरमात्रै पानी ल्याउन सकिँदैन। सुरुङको मुख्यद्वार र अस्थायी ड्यामबीचको ६० मिटर क्षेत्रमा १.६ मिटर ब्यासको पाइप राख्नुपर्छ।

आयोजनाका अनुसार सिन्धुदेखि ग्याल्थुमसम्मको दुई किलोमिटर सुरुङ खन्न बाँकी छ। त्यस्तै ग्याल्थुमदेखि अम्बाथानसम्मको दुई किलोमिटर पनि बाँकी छ। ठेकेदारले चार ठाउँबाट सुरुङ खनिरहेको छ।

आयोजना पूरा भएपछि मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याउने आयोजनाले जनाएको छ। 

जसरी पनि असोजमै पानी चाहियो  : मन्त्री शाही

खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीले जुनसुकै संयन्त्र प्रयोग गरेर पनि मेलम्चीको पानी असोजभित्रै काठमाडौं उपत्यकामा ल्याउन आयोजना प्रमुख तथा ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन्। बुधबार मेलम्ची आयोजनाको हेडवर्क्स क्षेत्र अनुगमनमा पुगेका मन्त्री शाहीले मेलम्ची सरकारकै इज्जतसँग जोडिएको भन्दै द्रुत गतिमा काम बढाउन निर्देशन दिए। 'ठेकेदार कम्पनीलाई मेलम्ची आयोजना समयमा नै सक्न केके सहयोग आवश्यक पर्छ, गर्न सरकार तयार छ,' उनले भने, 'सरकारकै कारणले मेलम्चीको काम केही रोकिन्न, त्यसैले असोजभित्रै मेलम्चीको पानी खुवाउने सीमा नाघ्नु हुँदैन।'

मन्त्री शाहीले सुरुङको भित्री भागमा तत्कालै फिनिसिङको काम गर्न आग्रह गरे। 'सुरुङ खनिसकेको स्थानको भुइँ ढलान गरेर तत्कालै पानी बग्ने बनाउनुपर्‍यो', उनले भने।

मन्त्रीलाई मजदुरको जबाफ

यही गतिले त कसरी असोजमा पानी आउला र? संवाददाताको यो प्रश्न सुनेपछि मन्त्री शाहीले कामको गति बढाउने बताए। कसरी नि भन्ने प्रश्नमा मन्त्रीले थपे, 'मजदुरको  सिफ्ट समय लम्ब्याएर।' मन्त्रीको जबाफ सुनेर नजिकै काग गर्दै गरेका मजदुर श्याम दाहालले भने, 'हामीले कसरी गति बढाउने?' प्रश्न सुनेर मन्त्री शाही एक छिन चुप रहे।

दाहालले नै थपे, 'हामी पसिना बगाउँदै काम गर्दैछौं। अझै मेहनत गर्ने भनेको के हो?' कसैको बोलीका लागी मजदुरले आफ्नो ज्यान हत्केलामा राख्न नसक्ने उनको भनाइ थियो।

सचिवले ल्याए बोतलमा पानी

मन्त्रीसँगै अवलोकन भ्रमणमा आएका खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम उपाध्यायले पनि असोजमै राजधानीमा पानी खसाल्ने दाबी गरे। तर, उनले मेलम्ची पानीको रहर पुर्‍याउन बोतलमै भए पनि बोकेर ल्याए।

राजधानी फर्कंदै गर्दा उनले आफ्ना चालकलाई बोतलमा पानी भरेर ल्याउन आग्रह गरे। 'राजधानीमा त बोतलको पानी आजै पुग्छ,' उनले हास्ँदै सुनाए।

प्रकाशित: २६ चैत्र २०७३ ०२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App