७ वैशाख २०८१ शुक्रबार
समाज

भूबनोट अनुसार व्यवस्थित सहर बन्नुपर्छ : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको भूबनोटअनुसार व्यवस्थित सहरीकरण विकास हुनुपर्ने बताएकी छन्। भौगलिक विविधताअनुसार प्राकृतिक सुन्दरतालाई ध्यान दिँदै आधुनिक प्रविधिमैत्री मात्रै नभएर वातावरणमैत्री हाउजिङ तथा अपार्टमेन्टको विकास हुनुपर्ने उनले बताइन्।

नेपाल घरजग्गा तथा आवास विकास संघले आयोजना गरेको छैटौं घरजग्गा मेला शुक्रबार भृकुटीमण्डपमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, 'अबको हाउजिङ अपार्टमेन्ट उद्योगपति र व्यवसायीलाई मात्रै नभएर सर्वसाधारणको पहुँच हुनेगरी पनि बन्नुपर्छ। यसका लागि सरकारले आवश्यक सहयोग गर्नुपर्छ।'  नेपालमा बन्ने ठूला भवन भूकम्पप्रतिरोधी हुनुका साथै मौलिकतालाई ख्याल गरी वास्तुशास्त्रअनुसार निर्माण भएमा थप प्रभावकारी हुने राष्ट्रपतिको भनाइ थियो। स्याटलाइट सिटी, स्मार्ट सिटी, ग्रिन सिटीको अवधारणा आइसकेकाले नेपालमा पनि त्यसअनुसार निर्माण हुनुपर्नेमा उनले जोड दिइन्। 

उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुक नयाँ ढंगले अघि बढेको सन्दर्भमा व्यवस्थित नमुना सहरको विकासमा जोड दिनुपर्ने धारणा राखे।  उनले भने, 'संयुक्त राष्ट्रसंघले सन् २०३० भित्र नागरिकले स्वस्थ आवास पाउनुपर्ने भनिसकेकाले नेपालमा विस्तारै गति लिएको अपार्टमेन्ट परियोजनाले थप सहज हुने छ।'

उनले नेपालमा अपार्टमेन्टको विकास हुनुपर्नेमा जोड दिए। व्यवस्थित सहरको विकासले देशको रुप मात्रै परिवर्तन नभएर अर्थतन्त्रसमेत बलियो बनाउने भएकाले व्यवसायी र सरकारले यस विषयमा ठोस योजना र नीति बनाउनुपर्ने उनले बताए।

नेपाल जग्गा तथा आवास विकास संघले विभिन्न कम्पनी तथा सरकारी कार्यालयसँगको समन्वयमा आयोजना गरेको मेलाले वातावरणमैत्री, वैज्ञानिक, सुरक्षित जग्गा विकास तथा सहरीकरणमा महŒवपूर्ण योग्दान पुर्‍याउने उद्देश्य राखेको छ। मेलामा सुरक्षित एवं भूकम्प प्रतिरोधी आवास र निर्माण सामग्री प्रदर्शनीमा राखिएको छ।

 संघका अध्यक्ष तथा सांसद इच्छाराज तामाङले नेपालको इतिहासमा नै पहिलोपटक विभिन्न संघसंस्थाको सहकार्यमा  घरजग्गा मेलासँगै हाउजिङ समिट हुन लागेको जानकारी दिए। घरजग्गा कारोबार गर्नेभन्दा पनि सर्वसाधारणलाई प्रत्यक्ष लाभ हुनेगरी यसपटकको मेला आयोजना गरिएको उनले बताए। ठूला घराना र व्यवसायीका लागि मात्रै नभएर सर्वसाधारणले समेत हाउजिङ र अपार्टमेन्ट खरिद गर्नसक्ने गरी स्किम ल्याएको  तामाङको भनाइ छ।

प्रत्येक वर्ष आयोजना हुने घरजग्गा मेलाभन्दा यसपटकको मेला ऐतिहासिक तथा पृथक रहेको उनको दाबी छ। 'भूकम्पका कारण फस्टाउन नसकेको घरजग्गा कारोबार यो मेलापछि फड्को मार्ने छ,' तामाङले भने, 'मेलामा हाउजिङविज्ञ तथा इन्जिनियरबाट परामर्श लिने कक्ष समेत राखेका छौं। '

व्यवस्थित सहर र वातावरणमैत्री आवास निर्माणसँगै उपभोक्तामाझ नवीनतम उत्पादन पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको आयोजकको भनाइ छ। उपभोक्ताले नेपाली रियल स्टेट व्यवसायको वास्तविक स्थिति, सही छनोट र समुचित मूल्यबारे जानकारी लिएर उपयुक्त अपार्टमेन्ट खरिद गर्न सक्नेछन्। मेलामा स्वदेशी तथा विदेशी गरी एक सय २० स्टल छन्। मेलामा विभिन्न किसिमको परामर्श पनि लिन सकिने छ।

मेलामा विद्युतीय सामान, फर्निचर, पाइप, सेनिटरी वयर्स फिटिङ, पेन्ट्स, सवारी साधन, सजावटका सामान र बिमा, बैंकिङ तथा वास्तुकला जस्ता व्यवसायमा संलग्न व्यवसायीका उत्पादनसमेत प्रदर्शनीमा राखिएको छ। 

मेला अवधिभर योजनाबद्ध ढंगले विकास गरिएका घरजग्गा तथा अपार्टमेन्ट, सुरक्षित एवं व्यवस्थित बसोवास र उचित मूल्यका घरजग्गा तथा अपार्टमेन्टबारे जानकारी लिन पाइनेछ। उपभोक्तालाई विशेषज्ञद्वारा आवश्यक कानुनी, प्राविधिक र वित्तीय परामर्श समेत उपलब्ध गराइने छ। मेलाबाट देशको आर्थिक विकासमा थप योग्दान पुग्ने आयोजकको अपेक्षा छ। एक लाखभन्दा धेरै मानिसले मेला अवलोकन गर्ने संघको अनुमान छ।

सहरी विकास तथा भवन निर्माण विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणको समेत सहभागिता रहेको मेलामा एफएनसिसिआई, एइए, स्कार्फ, सोना, रुपसान, अनह्याविटाटको सहकार्य छ।

प्रकाशित: २६ चैत्र २०७३ ०२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App