coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सरकारी काम गर्दा खोसिएको खुसी !

काठमाडौं- त्यस दिन विद्युत् प्राधिकरणको काममा नगएका भए तनहुँ माझकोटमा शिवबहादुर थापा खाडीमा रोजगार भएर राम्रैसँग घरगृहस्थी चलाइरहेका हुन्थे। दुई दिनपछि साउदी उड्ने तयारी थियो उनको। पत्नी र एक छोरीको मुहारमा खुसी ल्याउने आशा बोकेका उनको मन फुरुंग थियो।

इलेक्ट्रिसियनको तालिम लिएपछि गाउँमा उनको व्यस्तता बढेको थियो। आफूले जानेको सीपअनुसार काम गर्न गाउँलेको आग्रह पनि उनी अस्वीकार गर्न सक्दैनथे। विद्युत् प्राधिकरणमा काम गर्ने एक जना गाउँलेको आग्रहमा २०७१ असार ६ गतेका दिन उनी पोलमा जम्पर हाल्न चढे। पोलमा करेन्ट बन्द नगरिएकाले उनलाई हाइभोल्टको तारले झड्का दियो। करेन्ट लागेर भुइँमा बजारिएपछि उनको मात्र हैन, परिवारकै खुसी लुटियो। उनको अनुहारमा गम्भीर चोट लागेको छ। एउटा आँखा तथा नाकसमेत गुमाएका उनी अर्काे आँखाले पनि राम्रोसँग हेर्न सक्दैनन्।

दुर्घटनामा परेलगत्तै २० दिन पोखराको मणिपाल अस्पतालमा बसेका उनले एक वर्षभन्दा बढी काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गराए। सामान्य आर्थिक अवस्थाका थापाको उपचार सुष्मा कोइराला अस्पतालले त निःशुल्क गर्‍यो तर मणिपाल अस्पतालको उपचार खर्च र काठमाडौं आउनेजाने तथा खानेबस्ने गर्दा सात लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। सरकारले भने उनलाई उपचार खर्चबापत एक लाख २५ हजार तथा अंगभंग भएको भन्दै दुई लाख ५० हजार गरी तीन लाख ७५ हजार रुपैयाँ दिएर टार्‍यो। उनको एउटा आँखाको अपरेसन र अन्य उपचार बाँकी छ। थापा भन्छन्, 'सरकारले दिएको रकम उपचार गर्दा सकियो। मेरो जीवन सदाका लागि अँध्यारो बनिसकेको छ। बाँकी उपचार, श्रीमती र छोरीको भविष्य अनिश्चित छ।'

उनले श्रीमतीलाई प्राधिकरणमै जागिर मिलेमा परिवारको दैनिकी सहज हुने आशा  व्यक्त गरे। 'प्राधिकरणकै काम गर्दा मेरो जीवनको खुसी लुटियो, श्रीमती र छोरीका लागि केही राहत मिल्छ कि भनेर काठमाडांै आएको छु',  थापाले नागरिकसँग गुनासो गरे।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग अनुनय गरेपछि श्रीमतीलाई  जागिर दिने वचन पाएको थापाले बताए।  थापासँगै रहेकी उनकी श्रीमती संगीताले श्रीमान् दुर्घटनामा परेपछि आम्दानीको स्रोत बन्द भएको बताइन्। कलिलै उमेरकी संगीता श्रीमान्को स्याहारसुसार र छोरीको रेखदेखमा दिनरात खटिएकी छन्। विदेश जान ठिक्क परेका श्रीमान् दुर्घटनामा परेपछि आफन्त पनि टाढा भएको उनको भनाइ छ।

'एकातर्फ अंगभंग भएका श्रीमान्को स्याहारसुुसार तथा छोरीको भविष्यको चिन्ता छँदैछ,  अर्काेतर्फ आम्दानीका सबै बाटा पनि बन्द भएका छन्', संगीताले भनिन्। रोजगारीको व्यवस्था भएमा छोरी र श्रीमान्को हेरचाहमा केही राहत मिल्ने आशा उनको छ। 

प्रकाशित: २६ चैत्र २०७३ ०२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App