१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मधेसी दलसहित चुनाव : कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले तराई/मधेस केन्द्रित दललाई साथ लिएर स्थानीय तह निर्वाचनमा जानुपर्ने ठहर गरेको छ। संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको केन्दीय समिति र संसदीय दलको संयुक्त बैठकले दलीय सहमतिमा तराई/मधेसका मागलाई समाधान गर्नुपर्ने ठहर गरेको हो।

तराई/मधेस कांग्रेसको आधारभूमि भएकाले त्यसलाई बेवास्ता गरेर निर्वाचनमा जान नहुने निष्कर्ष बैठकले निकालेको छ। निर्वाचनमा सबै पक्षको सहभागिता सुनिश्चित गर्न पार्टीले थप प्रभावकारी भूमिका निर्वाह गर्ने भएको छ।

दलीय सहमति जुटाउँदै मधेसी जनताको हकअधिकार सुरक्षित गर्न संशोधन विधेयकलाई अघि बढाउने निर्णय पनि बैठकले गरेको छ। 'मधेस समस्या सम्बोधन गर्न अधिकतम सहमतिका अधारमा संविधान संशोधन विधेयक अघि बढाउने निर्णय गरियो,' बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

तराई र पहाडमा अलग/अलग निर्वाचन गर्न नहुने भन्दै बैठकमा अधिकांश सदस्यले एकै चरणमा निर्वाचन गर्नुपर्ने तर्क गरेका थिए। तर, उनीहरूले संविधान संशोधनलाई निष्कर्षमा पुर्‍याएर मात्र चुनावमा जुट्नुपर्ने बताए। मधेसलाई छाडेर निर्वाचनमा जानु गम्भीर भुल हुने पनि सदस्यहरूको मत छ।

बैठकमा नेता रामचन्द्र पौडेलले पार्टीको आधारभूमि तराईमधेसको समस्या समधान गरेर निर्वाचनमा जानुपर्ने भन्दै सबैको सहभागिता सुनिश्चित गरेर एकैचरणमा निर्वाचन गर्नुपर्ने धारणा राखे। सरकारले संसद्मा दर्ता गराएको संशोधन विधेयक फिर्ता लिएर पाँचबुँदे संशोधनको नयाँ प्रस्ताव तयार गरिरहेको भन्नेबारे अनभिज्ञता प्रकट गर्दै पौडेलले पार्टीमा त्यस विषयमा कुनै छलफल नै नभएको बताए। 'यो नयाँ पाँचबुँदे कुरा के हो', पौडेलले प्रश्न गर्दै भने, 'यो कहाँबाट आइरहेको छ। पार्टीभित्र छलफल भएको छ कि छैन?'

नेता फरमुल्ला मन्सुरले संविधान संशोधन नगरी निर्वाचन हुनै नसक्ने दाबी गर्दै संसद्मा विचाराधीन विधेयक अघि बढाउन नेतृत्वलाई आग्रह गरे। पारित गर्न संख्या पुग्छ कि पुग्दैन भनेर प्रक्रिया नै अघि नबढाउनु गतल भएको जिकिर गर्दै मन्सुरले तराईमधेसलाई छाडेर निर्वाचनमा गए गम्भीर भुल हुने धारणा राखेका थिए।

सांसद रामहरि खतिवडाले मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउन संसद्मा विचाराधीन संशोधन विधेयकलाई अघि बढाउन नेतृत्वको ध्यान तानेका थिए। दुई चरणमा निर्वाचन गर्नु नहुने जिकिर गर्दै खतिवडाले एकै चरणमा गर्नुपर्ने बताएका थिए।

त्यस्तै, बैठकमा नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधन प्रस्ताव पारित हुने अवस्था नरहेको धारणा राखेका थिए। संशोधन पारित गर्न दुईतिहाइ बहुमत पुग्ने अवस्था नरहेको जिकिर गर्दै उनले कांग्रेससामु चुनावको सुनिश्चिता, संशोधनको टुंगो, वर्तमान गठबन्धको निरन्तरता र त्यसपछि पार्टी नेतृत्वमा सरकार गठन गर्ने कार्यभारलाई पूरा गर्नुपर्ने चुनौती रहेको धारणा राखे।

कांग्रेस अहिले पनि एकै चरणमा निर्वाचन गर्नुपर्छ भन्ने पक्षमा रहेको सुनाउँदै सिटौलाले भने, 'प्रधानमन्त्रीले प्रदेश नम्बर दुई र प्रदेश नम्बर पाँचका केही जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्ने प्रस्ताव गर्नु भएको हो। हाम्रो सहमति भएको होइन।'

तर केन्द्रीय सदस्य महेन्द्र यादवले मधेस समस्या समाधान हुन्छ र मुलुकले निकास पाउँछ भने दुई चरणमा चुनाव गराउन पनि पार्टी तयार हुनुपर्ने धारणा राखेका थिए।

सभापति शेरबहादुर देउवाले तोकिएको मितिमा निर्वाचन हुनेमा शंका नगर्न आग्रह गर्दै सबैलाई एक भएर तयारीमा जुट्न निर्देशन दिए।

सरकारमा दोस्रो मर्यादा कांग्रेसकै हुनुपर्छ

कांग्रेस नेताले सरकारमा दोस्रो मर्यादा पार्टीकै मन्त्रीले नै पाउनुपर्ने जिकिर गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापालाई सरकारमा दोस्रो मर्यादा दिएर प्रधानमन्त्री पुष्पकमल दाहालले बद्मासी गरेको ठहर उनीहरूको छ।

बैठकमा सदस्यहरूले प्रधानमन्त्रीले मर्यादा विवाद झिकेर जग हँसाउने काम गरेको आरोप लगाउँदै कांग्रेसले नै दोस्रो मर्यादा पाउनुपर्ने तर्क गरेका छन्।

संसदीय पद्धति अनुसार भए उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा दोस्रो रोलक्रममा रहनुपर्ने भन्दै सदस्यले त्यसमा स्पष्ट अडान लिन नेतृत्वलाई सुझाएका थिए। 'यो व्यक्तिको कुरा होइन पार्टीको इज्जतको कुरा हो,' नेता पौडेलले बैठकमा भने, 'सरकारमा कांग्रेसले नै दोस्रो रोलक्रम पाउनुपर्छ।'

सांसद् रामहरि खतिवडाले प्रधानमन्त्री निर्वाचनमा विपक्षमा मतदान गरेका थापालाई प्रधानमन्त्रीले दोस्रो स्थान दिएर कांग्रेसको अपमान गरेको आरोप लगाए। 'संसदीय पद्धति अनुसार पनि कमल थापाले दोस्रो रोलक्रम पाउँदैनन्,' उनले भने, 'हाम्रो समर्थनमा प्रधानमन्त्री बन्ने अनि कांग्रेसलाई नै पाखा लगाउने ठीक भएन।'

बैठकमा मन्त्रीहरूको कार्यशैलीप्रति पनि सदस्यहरूले असन्तुष्टि जनाएका थिए। कानुनी शासनमा विश्वास गर्ने कांग्रेस अदालतसँग द्वन्द्वमा जान नहुने तर्क पनि नेताहरूले राखेका थिए।

आर्थिक समृद्धि हासिल गर्ने र जनताको मन छुने गरी कृषि, गुणस्तरीय शिक्षा जस्ता विषयलाई घोषणा पत्रमा समेट्न पनि नेताहरूले सुझाएका थिए।

एक दर्जन कार्यदल

कांग्रेसले स्थानीय निर्वाचन प्रचार प्रसारका लागि एक दर्जन कार्यदल बनाएको छ। रमेश लेखक नेतृत्वको प्रचार प्रसार समन्वय उपसमितिको शुक्रबारको बैठकले त्यसलाई विस्तार गर्दै २५ सदस्यीय पुर्‍याएको हो।

बैठकले टेलिभिजन, एफएम/रेडियो, प्रिन्ट मिडिया, अनलाइन मिडिया, सोसल मिडिया, सम्पर्क/सूचना, अनुगमन, समसामयिक राजनीतिक विषयवस्तु निर्माण, सिर्जनशील प्रचार सामग्री उत्पादन र वितरण समन्वय कार्यदल बनाएको छ। त्यसलाई छिट्टै पूर्णता दिने तयारीमा रहेको उपसमितिले ७५ वटै जिल्लामा अविलम्ब प्रचारप्रसार समिति गठन गर्न पनि पत्राचार गरेको छ।

प्रकाशित: २६ चैत्र २०७३ ०२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App